हरेक हिउँदपछि बर्षा आउथ्यो र जान्थ्यो । त्यसरी नै अनगिन्ती हिउँदहरु आफ्नै गतिमा बहदै गईरह्यो । जिन्दगीका धेरै हिउँदहरु बितेर गएपनि मलाई फ्रेडरिक एङ्गेल्सले म्यानचेस्टरमा बिताएका ठाउँहरु पुग्न रहर बोकेको थिए । तिनै रहरहरुलाई साकार पार्न एक दिन हामी लाईम स्ट्रीट लिभरपुल रेल स्टेसन पुगेका थियौ । बिहानको दश बजे स्टेसनभित्र छिरेपछि भित्तामा देखाईएका बिद्यतीय सुचना पार्टीलाई मैले एक झलक नियालेर हेरे । दश बजेर सत्र मिनेटमा एउटा रेल म्यानचेस्टरतर्फ जादै गरेको देखेपछि तिनै रेललाई सामातेर त्यसतर्फ जाने हामीले निधो गर्यौ ।
“तिमी यतै उभि रहनु है ?”
तारालाई सानो स्वरमा भने र हिडदै टिकट किन्ने काउन्टर नजिकै पुगे । म त्यहाँ पुग्दा केही मानिसहरु काउन्टर अगाडि पंक्तिबद्ध भएर टिकट किन्ने पालो पर्खेर उभिरहेका थिए । त्यसैले म पनि केहीबेर उनीहरुको पछाडी उभिरहे । मेरो पालो आएपछि म्यानचेस्टर जाने रेलका दुई वटा टिकटहरु किने । त्यसपछि हामी सरासर हिडदै तीन नम्बर प्लेटफर्ममा पुग्यौ । तर हामी प्लेटफर्ममा पुग्न अगावै रेल आएर हाम्रो इन्तजार गरी रहेको थियो । त्यसैले हतार हतार रेलको अन्तिम डिब्बामा चढी हाल्यौ र बायाँ पट्टिको खाली सिटमा थपक्कै बस्यौ ।
सुचना पार्टी देखाईएको समयमा रेलले लाईम स्ट्रीट स्टेसन, लिभरपुललाई छाड्यो । स्टेसन छाडने बितिकै ताराले, “अब म थपक्कै सुत्छु, मलाई नबोलाउनु होस है ?” भन्दै सुस्तरी म तिर ढल्किन् र मेरो दायाँ कुमलाई उनकी प्रिय सिरानी बनाईन । अनि आफ्नो श्रीमानको कुमलाई नै स्वर्ग सम्झदै स्वर्गीय आनन्द लिन सुरु गरिन ।
“आ…..कुम्भकर्णको छोरीलाई के कचकच गरि रहने है ?” भनेर म झ्यालबाट बाहिर नजर लगाउन थाले ।
बेलायत अगष्ट महिनाको एउटा शनिश्चर बारको दिन थियो । शून्य आकाशबाट आएको सुनौलो घामको ज्योतिले लिभरपुलको धर्ति बेस्सरी चम्की रहेको थियो । अझै राम्ररी आकाशलाई नियालेर हेर्ने हो भने बादलका टुक्राहरु यत्रतत्र कतै देखिएका थिएनन् । बेलायतको अगष्ट सेप्टेम्बर महिनामा त्यति पारिलो घाम ताप्न पाउनु भनेको तालुमा आलु फल्न झै मलाई लाग्दथ्यो । त्यसैले त्यति राम्रो मौसमको फाईदा लिदै मैले आनन्दको अनुभुति लिईरहेको थिए ।
लाईम स्ट्रीट छाडेको रेलले एज हिल पार गर्दै ‘रेईन हिल’ पुगेर पहिलो पटक रोकियो । रेल रोकिएपछि औलामा गन्न सकिने यात्रुहरु रेलबाट झरे र त्यति जति नै संख्यामा चढे । केही मिनेट पश्चात फेरी रेल हिडन सुरु गर्यो । रेईन हिल पार गरेपछि वारिङ्गटन नपुगिन्जेलसम्म पातलो अंग्रेजी बस्तीसँगै मैले हरेक मानिसको घरको शोभनिय बगैचाहरु बिभिन्न प्रकारका रुखहरु लटरम्म फलेका स्याउका बोटहरु हरिया घासे मैदानका चौरहरु र स–साना तलाउहरुसँग रुमलिएर मेरो समयलाई कटाउन थाले । तर मलाई त्यति बेला किन किन शिक्षाबाट पाईने ज्ञान भन्दा प्रकृतीबाट सिक्ने ज्ञान पो झन धेरै तागतिलो छ कि जस्तो लागिरह्यो ।
टुप्लुक्कै वारिङ्गटनमा रेल झुल्कियो र केहीबेर रोकिएर हिडन थालेपछि कति बाहिरको मात्रै रमिता हेर्ने होला भनेर हाते झोलाबाट एउटा पुरानो पुस्तक निकाले । र, एक पटक पुस्तकको पानाहरु फरर पल्टाएर हेरे । अब कुन पेजबाट पढन सुरु गरौ होला भनेर एकछिन झोक्रिएर त्यतिक्कै बसि रहे, किनभने त्यो पुस्तकलाई मैले केही बर्ष अगाडि पहिलो पटक पढि सकेको थिए । अनि मेरो एउटा नराम्रो बानी के थियो भने कुनै पनि पुस्तकहरु प्रायः दोहोर्याएर पढन जाँगर चलाउदिन थिए ।
मैले झोलामा बोकी हिडेको तिनै थोत्रो पुस्तकलाई सन् १८४५ मा फ्रेडरिक एङ्गेल्सले लेखेका थिए । र, पुस्तकको नाम “द कण्डिसन अफ ओर्किङ क्लास ईन ईङल्याण्ड” भन्ने थियो । अथवा तत्कालिन समयमा अंग्रेजी श्रमिकहरुको दुराबस्थाको बिषयमा त्यो पुस्तक लेखिएका थियो ।
माक्र्स र एङ्गेल्स दुवै जना मिलेर लेखेका राजनीतिक दस्तावेज “कम्युनिष्ट घोषणापत्र” १८४८ मा प्रकाशित हुन अगावै एङ्गेल्सले क्रान्तिकारी भाषामा लेखेको त्यो पुस्तक नै सारा वर्गीय बिभेदका आमुल परिवर्तनका श्रोत हुन कि भन्ने मलाई यदाकदा अनुभुति हुने गर्दथ्यो ।
“नर्दन रेल” आफ्नो गन्तब्य तर्फ क्रमशः बढि रह्यो । समय समयमा रेलले निकालेको छकछक आवाज मेरो कानसम्म आई पुग्ने गर्दथ्यो । मैले त्यसबेला निकोला टेस्लाको एउटा मर्मस्पर्सी भनाई लाई एक पटक सम्झे –
“सबै कुराहरु मध्ये पुस्तक सबैभन्दा उत्तम कुरो हुन् ।”
त्यसपछि म पुस्तकका हरेक हरपहरुमा मज्जाले घोत्लिन थाले । बेलायतमा भर्खर भर्खरै आबिष्कार गरिएको स्टीम ईन्जिन र तिनै मेशिनहरुसँगै काम गर्दा सर्बहारा बर्गले पाएको दुर्दशा लेखिएको तिनै पुस्तक पढदा कुनै कुनै बेला म अति भावुक हुने गर्दथे ।
लगभग चालिस मिनेटको यात्रापछि हाम्रो रेल म्यानचेस्टर पिकाडेलिमा पुगेर अन्तिम चोटी रोकियो । रेल रोकिएपछि तारा र म एक–एक वटा हाते झोला काँधमा भिरेर रेल स्टेसनबाट बाहिर निस्कियौ ।
रेल स्टेसनदेखि बाहिर निस्केर लम्रङ लम्रङ हिडदै ट्याक्सी स्टेसन नजिकै पुगेका थियौ । तर स्टेसनमा पुग्ने बितिक्कै थुप्रै मानिसहरुको भिड देखेर एक छिन आश्चर्यमा पर्यौं । त्यस दिन म्यानचेस्टर युनाईटेड र चेल्सीको बृहत ठुलो फुटबल खेल ओल्ड ट्रार्फोर्डमा हुन गईरहेको थियो । त्यसैले म्यानचेस्टर युनाईटेड फुटबल क्लबको रातो गन्जी लगाएका थुप्रै फुटबल अन्धोभक्त्त समर्थक ठिटा ठिटीहरु ट्याक्सी पर्खेर त्यही बसिरहेका थिए । अझै कुनै कुनै फुटबल समर्थकहरु त एक अर्कामा अँगालो मार्दै गीत गाउदै र नाच्दै गरेका पनि देखिन्थे ।
हामी दुई जना चुपचाप तिनै हुलको अन्तिममा पुगेर उभिरहयौं । एकछिनपछि तीन–चार जना अंग्रेजहरु खुट्टा लरबराउदै हामीतर्फ बढदै आए । उनीहरु त्यति बिहानै देखी माति सकेका रहेछन् भन्ने कुरो मैले उनीहरुले चालेको कदमबाट नै पत्ता लगाई सकेको थिए ।
बिहानको सूर्यले एक टाङ्गो पार नगर्दै अंग्रेजहरु मातेको देख्दा अंग्रेज फुटबल सँस्कृतिले अति चरमोत्कर्ष स्थानमा पुगेको जस्तो मलाई कता कता अनुभुति भयो । अझै तिनीहरु मध्ये झ्याम्म बोकेदाह्री पालेका एकजना मत्थुले, “जिन्दगीमा शारीरिक सम्पर्क र पेय पदार्थपछिको मनोरञ्जन फुटबल खेललाई नै लिन सकिन्छ,” भन्दै हामीतर्फ अघि बढेको देख्दा मलाई हल्का हिनताबोध भयो । तर मैले मत्थुहरुप्रति केही वास्ता नगरे झै गरे, झन ताराले त उसले के भनेको होला भनेर बुझ्ने कोशिस पनि गर्न चाहिनन् ।
केही बेरपछि ट्याक्सी चढने हाम्रो पालो आयो । हाम्रो ठिक अगाडि ट्याक्सी आएर रोकिने बितिक्कै हतार हतार ट्याक्सी भित्र पसि हाल्यौ । ट्याक्सीभित्र आरामले बसेपछि मैले चालकलाई वेस्टी, सालफोर्ड जानको लागि अनुरोध गरे । त्यसपछि पाकिस्तानी मुलका चालकसंग उर्दु भाषामा हाम्रो हल्का परिचय भयो ।
मेरो लट्याङ पट्याङ उर्दु भाषा सुनेर उसका दाह्रीजुङ्गासम्म प्रभावित बने । यात्राको क्रममा उसले लाहोरदेखि म्यानचेस्टरसम्मको राम कहानी हामीलाई सुनाई रह्यो । उसको जिवनमा घटेका दुखद घटनाहरु सुनेर मेरो हृदय केही बेर बिचलित बने । त्यसैले घुमाउरो पारामा तै पनि तपाईलाई अहिले म्यानचेस्टरको जीवन आमोद प्रमोद छ नि भनेर उसलाई सानोतिर हानी पठाए । तर मेरो भनाई सुनेर उसले एक्कै शब्द निकालेन बरु फिसिक्कै मुस्कान छाड्यो ।
हामी केही बेरमा वेस्टी पुग्यौ र भिक्टोरिया मिलको ठिक अगाडि मैले ट्याक्सीलाई रोक्न लगाए ।
भिक्टोरिया मिल त्यस्तो ठाउँ हो जुन ठाँउबाट एउटा बिशाल दर्शन “साम्यबाद” को जन्म भएको थियो । तिनै घरमा सन् १८३७ मा पिटर एर्मेन र फ्रेडरिक एङ्गेल्स (सिनियर) मिलेर “एर्मेन एण्ड एङ्गेल्स” कटन मिल खोलेका थिए । सालफोर्डमा कटन मिल खोलेर एङ्गेल्स प्रर्शिया पुगेपछि आफ्नो छोरालाई त्यहाँ हुने ब्यापारिक भविष्यको बिषयमा हरेक दिन सुनाउने गर्दथे ।
तर छोरो त्यसबेलासम्म अलिक कलिलो भएको हुनाले त्यति धेरै कुरो बुझ्दैनथे । जब छोराले अलिक धेरै कुरो बुझ्ने भयो त्यतिबेला उनी समुल सुधारबादको बिचार पछ्याएर आमुल परिवर्तनको पक्षधरमा उभिन थाल्यो । अझै उनले आफ्नो बिचारलाई निरन्तरता दिन युनिभर्सिटीको अध्ययान बीचैमा छाडीदियो । त्यसरी अध्यायनलाई छाडदा बाबुले उसलाई जब्बरजस्ती म्यानचेस्टर पठाई दिए । सन् १८४२ मा फ्रेडरिक एङ्गेल्स म्यानचेस्टर आउदाँ उनको उमेर केबल २२ बर्षका मात्र थिए ।
एङ्गेल्स म्यानचेस्टरमा पुगेर मिलको मालिक भएर काम गर्न थाले । उसको मिलमा काम गर्ने जम्मै श्रमिकहरु निम्न बर्गका सदस्यहरु थिए । अनि तिनीहरुको भयानक तितो भविष्य देखेर उनि ज्यादै दुखित हुन थालेका थिए । उनलाई समय समयमा उच्च बर्गले ब्यावस्थापन गरेको ‘सेम्पेन पार्टी’ मा उपस्थित हुन निम्ता गरिन्थ्यो तर पार्टीमा नगएर बरु उल्टै श्रमिकहरुसँग नजिक भएर समय बिताउन थालेका थिए । श्रमिकहरुले त्यति न्युनतम तलबमा ज्यादै कठिनाई काम गर्नु परेको अबस्था देख्दा उसको हृदय जलेर खरानी हुने गर्दथे । अझै बेलायती ठण्डी महिनाहरु नोभेम्बर डिसेम्बर र जनवरीको कठङ्ग्रिने जाडोमा पनि कलिला कलिला बालबच्चाहरु र महिलाहरुको परिश्रम देख्दा उनि भाव बिह्वल हुने गर्दथे ।
त्यति मात्रै नभएर मिलमा काम गर्ने वातावरण नै राम्रो थिएन । जसले गर्दा हरेक हप्ता एक–दुई जना श्रमिकहरुको व्यार्थमा ज्यान जाँदा उनी भयाकुल हुने गर्दथे । त्यसबेला बेलायत भर्खरै नयाँ औद्योगिक युगमा प्रबेश गर्दै थियो । त्यसैले श्रमिकहरुको पक्षमा कुनै पनि शक्क्तिशाली नियम एबम कानुनहरु बनि सकेका थिएनन् । त्यहाँ राजनीतिक र सामाजिक अन्याय मात्रै नभएर सबै प्रकारको मानबिय अन्यायहरु हुने गर्दथ्यो । जुन अन्यायको मुल जरा बर्ग बिभाजन र पूँजीबाद नै हो भन्ने उसले पुर्ण रुपले ठम्याएका थिए ।
“आ….थोत्रे घर पनि कति हेरी रहने होला ?”
ताराको मुख बाट बिजुली चम्केको झै निस्केको आवाज अचानक मेरो कानमा बज्र्यो । म तिनै युबक एङ्गेल्सको जिवनचार्यलाई सम्झेर त्यतिबेला सम्म भावनामा डुबि रहेको थिए ।
चालकलाई, ‘अब जाउ है,’ भन्ने बितिक्कै उसले ट्याक्सीको हाते ब्रेक खोल्यो र पुनः सालफोर्डको बाटोमा ट्याक्सीले गति लिन थाल्यो । हामी बिस्तारै ग्रेट डुसि स्ट्रीटतर्फ लाग्यौ । अनि क्रमशः थोर्नक्लिफ ग्रोभ र डोभर स्ट्रीटतिर ट्याक्सीबाट एक चक्कर मार्यौं, किनभने एङ्गेल्सले सालफोर्डको तिनै घरहरुमा पटक पटक कमिला झै डेरा सारी रहेका थिए । बेलायती गुप्तचर प्रहरीहरुबाट बच्न उसले डेरा मात्र सारेका थिएनन् आफ्नो अश्लील नाम कसैले चाल पाउन नसकोस भनेर छद्मभेषी नाम “जनरल” भनेर उनले आफ्नो परिचय दिने गर्दथे ।
सालफोर्डको भ्रमण सकिएपछि जुल्फिकरले हामीलाई रेल स्टेसनमा झारी दियो । त्यसपछि बेलुकीको एउटा रेल समातेर हामी बर्मिङ्घामतर्फ लाग्यौ । रेलभित्र पसेपछि ताराले अघि झै मलाई अडेस लगाएर मज्जाले आराम गर्न थालिन । तर मेरो क्षुद्र दिमागभरी तिनै एङ्गेल्सको जीवन कहानी पुनारबृत भै रह्यो ।
“पेटको भरले दिमागले काम गर्छ,” भन्ने बिचारका धनि एङगेल्सले दुई बर्ष सालफोर्डमा बस्दा “द कण्डिसन अफ ओर्किङ क्लास ईन ईङल्याण्ड” को जन्म मात्र दिएका थिएनन् । तिनै मिलमा काम गर्ने एकजना श्रमिक युबतीसँग प्रेम लिलामा फस्न पनि पुगेका थिए । तर उसलाई राम्रै हेक्का थियो कि बर्ग बिभेदको कारणले गर्दा उनीहरु बिच एक अर्कामा बिबाह हुन एकदमै कठिन छ । त्यसैले त्यो अबैधानिक प्रेमलाई उनीहरुले एकदम गुपचुपमा राखेका थिए ।
उच्च बर्गको प्रर्शियन युबक फ्रेडरिक एङ्गेल्स र निम्न बर्गको आईरिस युबती मेरी बर्न्सको अदृश्य प्रेम रोमान्चकारी बन्दै गएको मेरीकी बहिनी लिज्जीलाई राम्रैसँग थाह थियो । तर मेरीको बाबु माईकल बर्न्स लगायत अरु श्रमिकहरु कसैले सुईकोसम्म पाएका थिएनन् ।
निक्कै लामो समयसम्म दुई जनाको प्रेमलिला चलिरह्यो । दुर्भाग्यबस सन् १८६३ मा ४१ बर्षको अल्प आयुमा मेरी बर्न्सको अचानक मृत्यु भयो । “उनको मृत्युले बनाएको खाली ठाउँ मेरो जिन्दगीमा कहिले भरिदैन,” भनेर उदास बन्दै भौतारी हिडेका एङ्गेल्सलाई मेरीकी तिनै बहिनी लिज्जीले पुनः दिदीको ठाउँमा साथ दिईन । त्यसपछि सन् १८७० मा एङ्गेल्स लिज्जीसँग सुटुक्कैसँधैको लागि म्यानचेस्टर छाडेर लण्डनतिर लागेका थिए ।
“रेडिसन ब्लु” होटल बर्मिङघाममा एक रात बिताएर बिहानीको खाजा हसुरेपछि तारा र म ‘मुर स्ट्रीट’ रेल स्टेसन तर्फ लाग्यौ । त्यहाँबाट चिल्टर्न रेलवेजको एउटा रेल समातेर लण्डनतिर बाटो ततायौ । बर्मिङ्घाम छाडेको केहीबेरपछि रेलले सोलिहलमा पुगेर एकछिन थकाई मार्यो ।
‘सोलिहल क्षेत्र’ लण्डनपछिको दोश्रो ठुलो सहर बर्मिङघामको अति धनाढ्यहरुको प्रख्यात बस्ती रहेको थियो । उपनिबेष कालमा भारत जम्मै रित्याएर ल्याईएका सम्पतिले बनेका जस्ता त्यहाँका भिमकाया महलहरु, सुन्दर बगैचाहरु र फराकिला आँगनहरु देखेर तारा केहि बेर भावुक बनि रहिन । सायद माक्र्स र एङ्गेल्सको सपना पुरा भएर कसैले पनि ब्यक्तिगत सम्पति राख्न नपाईने हुदो हो त यीनै बिशाल महलहरुमा हामी पनि बस्न पाईन्थ्यो होला कि भनेर उनले मधुरो स्वरमा बोलिन ।
उनको भनाई सुनेर म एकछिन नाजबाफ बनिरहे किनभने म अर्काले कमाएको सम्पतिमा भन्दा पनि आफ्नो कर्म र परिश्रममा बिश्वास गर्दथे । रेलले क्रमशः आफ्नो गति लिई रह्यो र केहीबेरमा वारविक, लिमिङ्टन स्पा, बानबुरी र बिस्टर उत्तरमा रोकिदै हेड्डेनहाम पुग्यो । रेल हेड्डेनहामदेखि हाईवेकम नपुगिन्जेलसम्म मैले ‘देम र रिसबोरो’ को दमसाइलो जमिनमा बनेका फाटिला घाँसे मैदानहरुलाई लामो समय सम्म हेरीरहे ।
रिसबोरोदेखि सुरु भएको त्यति आकर्षक जमिन उँधो उँधो बढदै जाँदा दक्षिणी भागमा अबस्थित चिल्टर्न डाँडोको क्षितिजसम्म पुगेर बिलय भएका थिए । अनि तिनै घाँसे जमिन माथि निष्फिक्रीसँग चरि रहेका हेरिफोर्ड सायर गाईहरु र स्रोपसायर भेडाका बथानहरुले ति चरणहरु झन कम्ति रमाईलो देखिएका थिएनन् ।
त्यति रहर लाग्दा भेडाका जोडाजोडी पाठाहरु खुशीले तरङ्गित हुदै आफ्नो आमा बाबाको अगाडि पिछाडी उफ्रिरहेको देख्दा मलाई किन नराम्रो महसुस हुने गर्दथ्यो, किनभने धेरै जसो निरही पाठोहरुको आयु मात्र छ महिनाका हुन्थे । त्यसपछि “ल्याम्प चोप” मा परिणत भएर मांसभक्षी बुभुक्षित मानिसको थाल थालमा उत्तम डिनर बनेर सजिन पुग्दथ्यो । म त प्रकृति र प्राणी प्रति प्रेम गर्दथे त्यसैले शाहकारी नै थिए तर तिनीहरुको दयनीय जीवनलाई सोच्दा वास्तवमा मानिसहरु कति निर्दयी र दुष्ट हुने रहेछ भन्ने मलाई तिनै पाठोहरुलाई देखेर तिथ लाग्दथ्यो ।
बिस्टर उत्तरमा रेल रोकिदा किनेको ‘अंग्रेजी चिया’ सकिन नपाउदै हामी लण्डनको मार्लिबन स्टेसन पुगि सकेका थियौ । हामी त्यँहा पुग्दा स्टेसनको भित्तामा रहेको ठुलो घडिले बिहानीको समय दश बजाई सकेको रेलको झ्यालबाट मैले देखे । रेल पुर्ण रुपले रोकिएपछि म एक्कै शब्द नबोली स्टेसनबाट हिडदै बाहिर निस्कन थाले । ब्यस्त सहर लण्डनमा कतै हराई हाल्छु कि भन्ठानेर मलाई ताराले पछ्याउन थालिन । स्टेसनबाट बाहिर निस्केपछि मोबाइललाई मानब निर्मित उपग्रह ‘सेटलाईट’ सँग जुधाएर जमिनको नक्सा पढदै पढदै हामी आफ्नै गतिमा रेजेन्ट पार्क तर्फ लाग्यौ ।
केहीबेर हिडेपछि बाटोमा नै मध्यान्हको भोजन खायौ र “१२२ रेजेन्ट पार्क रोड” पुग्यौ । एङ्गेल्स र बर्न्सले म्यानचेस्टर छाडेदेखि रेजेन्ट पार्क रोडको तिनै घरमा धेरै लामो समय सम्म सँगसँगै जीवन बिताएका थिए । त्यो घरको बाहिरी पर्खालमा निलो रङ्गले पोतिएको गोलो फलामे पातामा “फ्रेडरिक एङ्गेल्स १८७०(१८९४” सम्म बसेका थिए भनेर लेखेर राखिएका ‘ब्लु प्लेग’ अहिले सम्म चम्की रहेको देख्न सकिन्छ ।
त्यस घरमा सरेको आठ बर्षपछि लिज्जी बर्न्स साह्रै बिमारी भईन र ११ सेप्टेम्बर १८७८ को दिन उनको मृत्यु भयो । उनको मृत्यु हुनु भन्दा दुई घण्टा अगाडि मात्रै एङ्गेल्सले लिज्जीसँग सानो बिहे गरेर उनीहरु बिचको बर्ग बिभेदको अन्त्य गरेका थिए । उनको मृत्यु भए पश्चात एङ्गेल्स सन् १८९४ मा त्यस घर नजिकै रहेको ‘४१ रेजेन्ट पार्क रोड’ मा डेरा सारे । तर उनी त्यहाँ सरेको अर्को बर्ष ५ अगष्ट १८९५ मा उनको पनि देहान्त भयो ।
२८ नोभेम्बर १८२० वारमेन, प्रर्शिया (हालको जर्मनी) मा जन्मेका एङ्गेल्सको मृत्यु भएपछि वकिङ शव गृहमा लगेर उनको अन्तिम संस्कार गरियो । उनको खरानीलाई आफ्नै इच्छा बमोजिम माक्र्सको छोरी जेनि इलिनरले इस्टबोर्न सामुन्द्रिक किनार नजिकै रहेको बिचीहेडमा लगेर “एङ्गेल्स अल बिदा” भन्दै सँधै सँधैको बहाई दिएका थिईन ।