भोजपुर । पूर्वी अरुण गाउँपालिका ४, चरम्बीका ६४ वर्षिया रानीमाया राईले कोकटीको कपडा बुनेकै ४५ वषै धेरै भयो । बृद्ध उमेरमा पनि सिप, जाँगर र उत्साहले उनी अझै तन्नेरीभन्दा कम देखिँदैनन् । आदीबासी जनजातीको मौलिक पहिचान जोडिएको कोकटीबाट बनेका कपडा बुन्नु उनको साँझविहानको दैनिकी हो । विहान सबेरै उठेर साँझ अबेरसम्म कोकटी बुन्ने तानमै व्यस्त रहने रानीमायालाई व्यापारभन्दा संस्कृति जगेर्ना गर्ने मोह बढि छ ।
विशेषगरि आदिवासी जनजातीहरुको पहिचान बोकेको कोकटी, अल्लो व्यवसाय संकटमा परेपछि पहिचानलाई उजागर गर्नै लागि पौवादुङमा गाउँपालिकाले गाउँपालिका क्षेत्रका युवती र महिलाहरुलाई तालिम दिदै आएको छ
वर्षौदेखीको रानीमायाको सिप देखेर छरछिमेकलाई आश्चर्य लाग्छ । रानीमायाले भनिन्, ‘उहिले घरघरमै कोकटीको कपडा बुनिन्थ्यो, पेशाप्रति धेरै गर्ब पनि लाग्छ, तर अहिले अनेक फेसन आएपछि गाउँमा कोकटी बुन्न छाडे, तर मलाई व्यापारभन्दा संस्कार जोगाईराख्नुपर्छ भन्ने लाग्यो, छाडिन’ केहि दशक पहिलेसम्म नेपालीको पहिरन भन्नु नै कोकटी, अल्लो वा भेडाको ऊनबाट बनेका नेपाली पोसाक र जातीय पहिरन हुन्थ्यो ।
तर आधुनिकतासंगै बाह्य संस्कृतिका पहिरनमा रुचि र प्रयोग बढेपछि दिनानुदिन नेपाली कपडा बन्ने घरेलु उद्योग संकटमा परे । बजार पनि एकाएक खस्कियो । उद्योगहरु धमाधम बन्द हुन थाले । बजारीकरण र कच्चापर्दाथ अभावमा जातीय पहिचानसंग जोडिएको ढाका, राडीपाखी लगायत नेपाली कपडा उद्योगहरु संकटमा परेका छन् । तिनै नेपाली भेषभुषा र संस्कृतिको संरक्षण गर्दै भोजपुरका ग्रामीण महिलाहरु भने ढाका बुनाईमा आकर्षित हुन थालेका छन् ।
पछिल्लो समय लोपन्मुख अल्लोबाट बुनिने ढाका बुनाईमा महिलाको आकर्षण बढ्दै गएको छ । चासो घटिरहेकाबेला संस्कृति जोगाउनै भएपनि ढाका बुनाईमा रुचि बढेको पौवादुङमा गाउँपालिका ६, ठुलोदुम्माकी सुजता राई सुनाउँछिन् । बजार अभाव र कच्चापदार्थ अभावमा हराउँदै गएपनि सँस्कृति जेगेर्ना गर्ने अभिरुचिले अल्लोको ढाका बुनाईमा लागेको उनले बताईन् ।
लोपन्मुख कोकटी, अल्लोको कपडा बुन्ने व्यवसायको संरक्षण र प्रवद्र्धनमा महिलाहरु लागि परेका छन् । विशेषगरि आदिवासी जनजातीहरुको पहिचान बोकेको कोकटी, अल्लो व्यवसाय संकटमा परेपछि पहिचानलाई उजागर गर्नै लागि पौवादुङमा गाउँपालिकाले गाउँपालिका क्षेत्रका युवती र महिलाहरुलाई तालिम दिदै आएको छ । महिलालाई व्यावसायिकन्मुख ढाका बुन्ने काममा उत्प्रेरित गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
एकातिर संस्कृति संरक्षणमा जुटेका महिलालाई सामान तयार पार्न पनि उत्तिनै झमेला हुने गरेको सुनाउँछन् । अल्लोको रेसा निकाल्ने, सुकाउने, पकाउने, कुट्ने, धुने लामो प्रकृयाबाट सामान तयार गरिन्छ । तर धेरै श्रम लगाएर तयारी गरिएका ती सामान बजार नजिकमा नहुँदा पनि समस्या भएको साल्पासिलिछो गाउँपालिका ५, दोभानेकी जलवती राईले बताईन् । भन्छिन्, ‘एकातिर भाउ छैन, अर्कोतिर नजिकै बजार पनि छैन, तयारी सामान भोजपुर सदरमुकाम र दिङला खाँदबारीसम्म पु¥याउनै ३ दिन पैदल हिँड्नुपर्छ, महंगो गाडीभाडा लाग्छ, व्यावसाय चलाउनै गाह्रो छ’
यस्ता ढाका र कपडाका घरेलु उद्योगहरु बन्द हुने क्रमले भेडापालक र अल्लो काड्ने किसानहरुको पेशा पनि धराशयीमा पर्दै गएको छ । भेडापालक सन्तोष कठेतले, ‘पहिले एकैजनाले सय किलोसम्म ऊन लैजान्थे, आजभोली छिटफुट मात्रै आउँछन्, १०, १२ केजी पनि विकाउन पनि गाह्रो छ, किन्ने कोहि नभएपछि भेडाको ऊन झिक्नै छोडिसक्यौँ’
ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै संकलन गरेको अल्लोबाट ढाका, झोला, बर्की, लत्ताकपडा लगायतका सामाग्रीहरु बन्ने गर्छन् । तर बजार नभएपछि त्यसै थन्काएर राख्नुपर्ने बाध्यता रहेको व्यावसायी सन्तोष सुन्चौरीले सुनाए । बलियो र बर्षौ टिकाउ हुने अल्लो र भेडाको ऊनबाट बनेका ढाका, कपडाभन्दा विदेशी संस्कृतिका भेषभुषमा सर्वसाधरणको रुचि बढेकाले पनि उद्योगहरु ओझेलमा परेको उनी सुनाउँछन् ।
यता घरेलु तथा साना उद्योग विकास समिति भोजपुर निमित्त प्रमुख खेम बुढाथोकीका अनुसार चालु आर्थिकवर्षबाट अल्लो तथा राडीपाखी उद्योगलाई सामुहिक उद्योगको रुपमा विकास गर्ने योजना बनाएको छ । राडीपाखी बुन्ने र अल्लोका ढाकाकपडा तयार पार्ने आधुनिक औजार वितरण गर्ने, तालिम दिने योजना बनाईएको उनले बताए ।