बेलायतमा आउंदो साता कोभिड खोप

लन्डन । अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप ७ डिसेम्बरभित्र ब्रिटेनमा आइपुग्ने विवरण सार्वजनिक भएको छ ।

 

एनएचएस इंग्ल्याण्डले बेलायतका अस्पतालहरुमा ७ देखि ९ डिसेम्बरभित्र खोप आइपुग्ने जनाउंदै तयारी अवस्थामा रहन आव्हान गरेको समाचार शनिबार प्रकाशित भएको थियो ।

 

मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी ठानिएको उक्त खोप शुरुमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई दिइने उल्लेख छ ।

 

१५ वर्षदेखि एनएचएसमा कार्यरत हाल क्रोयडन युनिभर्सिटी हस्पिटलका क्लिनिकल अडिट विभाग प्रमुख डा. सुरजमणि पौडेलले आफ्नो अस्पतालका प्रमुख कार्यकारीले खोप तयारीबारे इमेल गरेको जनाए । ‘यो हामी सबैका लागि खुशीको खबर हो । अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरु क्रिसमस गिफ्टका रुपमा खोप पाइने भयो भनेर अत्यन्त उत्साहित छन्’, पौडेललले भने, ‘साथीहरुमा कति सुरक्षित र प्रभावकारी छ भन्ने कौतुहतला पनि देखिएको छ ।’

 

७२ वर्षको एनएचएस इतिहासमै ‘इमुनाइजेशन’ कार्यक्रम सबैभन्दा वृहत हुन लागेको पौडेलले जनाए । साउथ वेष्ट लन्डनका चार अस्पतालमध्ये आफ्नो पनि खोप भण्डारण र वितरणका लागि चुनिएको जनाउंदै उनले सरकारको निर्देशिका अनुसार जोखिममा रहेका र वृद्धवृद्धालाई वितरण गर्ने तयारी भएको बताए ।

 

लन्डनस्थित क्विन एलिजावेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. बच्चुकैलाश कैनीले पनि भ्याक्सिन सम्बन्धि काम गर्न निर्देशक र कर्मचारीको नियुक्ति भइसकेको बताए । त्यसरी नै भ्याक्सिन लगाउने ठाउं, भ्याक्सिन लगाइदिने व्यक्ति, भ्याक्सिन गर्ने भण्डारण ब्यवस्था आदिको समेत तयारी भइरहेको कैनीले बताए । त्यस्तै अस्पतालमा पहिलो, दोश्रो र तेश्रो चरणमा कुन कुन कर्मचारीलाई खोप दिने भन्ने सूची समेत तयार भइसकेको डा. कैनीले उल्लेख गरे ।

 

‘यो समाचारले अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी मात्रै होइन सबै बेलायतवासी हर्षित भएका छन्’, उनले भने, ‘कोभिडविरुद्धको यो एकदम ठूलो सफलता र कदम हो ।’

 

बेलायतको बर्नमाउथ विश्वविद्यालयमा आवद्ध जनस्वास्थ्यविद् डा. निर्मल अर्याल कोरोना विश्व महामारी भएकाले खोप बनिसकेपछि नेपालमा समेत उपलब्ध हुन खासै ढिलाई देख्दैनन् । अहिले खोप उत्पादनमा होडबाजी देखिएपनि बेलायत, अमेरिका जस्ता विकसित देशले आफ्नो वैज्ञानिक सल्लाहकारहरुको सल्लाहमा मात्र खरिद गर्ने उनी बताउंछन् । ‘शुरुमा जोखिममा रहेका वृद्धवृद्धा, त्यसपछि स्वास्थकर्मी र युवालाई खोप दिनेगरी प्राथमिकता छुट्टयाउनु पर्छ’ उनले सुझाए ।

 

बेलायत सरकारले फाइजर र बायोएनटेकको ४ करोड डोज, अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप १० करोड र मोडेर्नाको ७० लाख डोज यसअघि नै अर्डर गरिसकेको छ ।

 

उता, सरकारले बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले जहावीलाई कम्तीमा आउंदो गृष्मयामसम्म खोप वितरणको रेखदेख गर्न नियुक्त गरेका जनाइएको छ ।

 

स्ट्राटफोर्ड अन एभनका सांसद जहावीको नियुक्तिमा स्वास्थ्यमन्त्री हयानककले भनेका छन्, ‘मन्त्री जहावीलाई यो अभिभारा दिइएकोमा उनी खुशी छन् तर उनको अगाडि निकै ठूलो जिम्मेवारी छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार