अक्सफोर्ड र फाइजरको कोरोना भ्याक्सिन भारतमा उपलब्ध हुँदै, नेपाल आउने

काठमाडौं। जर्मन कम्पनी बायोएनटेकले विकास गरेको र अमेरिकी फार्मास्युटिकल कम्पनी फाइजरले उत्पादन गरेको कोरोनाभाइरस भ्याक्सिन तथा अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको र भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोरोनाभाइरस भ्याक्सिन भारतमा उपलब्ध हुने भएका छन् । दुवै उत्पादक कम्पनीले भारत सरकारको आधिकारिक औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डियासँग भ्याक्सिनको आपतकालीन प्रयोगका लागि स्वीकृति मागेका छन् ।

 

यससँगै यो भ्याक्सिन नेपाल आउने बाटो पनि सहज हुँदै गएको छ । जर्मन फर्मास्युटिकल कम्पनी बायोएनटेकले विकास गरेको भ्याक्सिनको क्लिनिकल ट्रायल तथा उत्पादन र वितरणको काम अमेरिकी कम्पनी फाइजरले गर्दै आएको छ । यो भ्याक्सिनले बेलायत र बहराइनमा आपतकालीन प्रयोगको स्वीकृति पाइसकेको छ । यस्तै अक्सफोर्डले विकास गरेको भ्याक्सिनको भारतमा उत्पादन र ट्रायलको लागि भारतीय कम्पनी सिरम साझेदार हो र यसले इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर फेज ३ ट्रायल गरिरहेको छ ।

 

फाइजरले सुरुमा अमेरिका र युरोपका नियामक निकायमा आपतकालीन स्वीकृतिको लागि आवेदन दिएको थियो । यो कम्पनीको भारतस्थित भगिनी कम्पनीले भारतको नियामक निकायमा पनि आपतकालीन प्रयोगको लागि अनुमति मागेको हो ।  फाइजर इण्डियाले भारतको नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डियासँग यो भ्याक्सिन आयात तथा बिक्रीवितरणको लागि स्वीकृति मागेको छ ।

 

फाइजर इण्डियाले आपतकालीन अनुमति मागेको भोलिपल्टै सिरम इन्स्टिच्युट अफ इण्डियाले पनि अर्को कोरोनाभाइरस भ्याक्सिन ‘कोभिशिल्ड’को आपतकालीन प्रयोगको लागि ड्रग कन्ट्रोलर जनरल अफ इण्डियासँग अनुमति मागेको समाचार एजेन्सी पिटिआइले जनाएको छ । कोभिशिल्ड अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन हो जसको भारतमा क्लिनिकल ट्रायल सिरम इन्स्टिच्युटले गरिरहेको छ । उत्पादन परिमाणका आधारमा सिरम विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक हो ।

 

पुणेको सिरम कम्पनीले भारतमा गरिरहेको क्लिनिकल ट्रायलमा इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले पनि सहयोग गरिरहेको छ । यही भ्याक्सिनको ब्राजिल र बेलायतमा अक्सफोर्ड र एस्ट्राजेनेका कम्पनीले मिलेर गरिरहेका छन् । आइसीएमआरका अनुसार सिरम इन्स्टिच्युटले यसअघि नै यो भ्याक्सिनको ४ करोड डोज उत्पादन गरेको छ । कम्पनीले ट्रायलको नतिजा आउनासाथ भ्याक्सिन उपलब्ध गराउन सकियोस भनेर आर्थिक जोखिम उठाएर यति ठूलो परिमाणमा भ्याक्सिन उत्पादन गरिसकेको थियो ।

 

यदि ट्रायलमा अपेक्षा गरिएजस्तो नतिजा नआएको अवस्थामा पहिल्यै उत्पादन गरिएको भ्याक्सिन नष्ट गर्नुपर्ने अवस्था आउने थियो तर नतिजा अपेक्षा गरेअनुरुपको आएपछि अब त्यो उत्पादित भ्याक्सिन प्रयोगमा आउनेछ । सिरमले दिएको आवेदनका आधारमा आधिकारिक सूत्रले दिएको जानकारीअनुसार सिरमले आवेदनमा ४ वटा क्लिनिकल ट्रायलको नतिजा समावेश गरेको छ । २ ट्रायल बेलायतमा गरिएका र अन्य २ ट्रायल ब्राजिल र भारतमा गरिएको थियो । यो नतिजाले कोभिशिल्ड कोरोनाभाइरसविरुद्ध अत्यन्तै प्रभावकारी रहेको देखाएको छ ।

 

अहिले नेपालमा खोपका लागि नेपालको हकमा भने तत्कालको लागि खोप सरकारी संयन्त्रबाट नै ल्याउने तयारी भइरहेको छ । सामान्यतया खोप वा औषधि स्वीकृति दिने जिम्मेवारी औषधि व्यवस्था विभागको हुन्छ । तर, अहिले महामारीकै स्थिति भएकोले सुरुमै निजी क्षेत्रलाई स्वीकृति दिने भन्दा सरकारी संयन्त्रबाटै ल्याउने तयारी भइरहेको छ । तर, यसका लागि स्पष्ट कार्ययोजना तयार भइनसकेको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । ‘सरकारले भ्याक्सिन कुन विधि र प्रक्रियाबाट ल्याउने भन्ने विषयमा तयारी गरिरहेको छ, कार्ययोजना तयार भएपछि भ्याक्सिन ल्याउने प्रक्रिया सुरु हुन्छ’ उनले भने ।

 

फाइजरको भ्याक्सिन माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भएकोले धरै चुनौती रहेको बताए । मोडर्ना, एस्ट्राजेनेका, गेमालिया र भारत बायोटेक लगायतका कम्पनीका खोप २ देखी ८ डिग्री सेल्सियससम्म भण्डारण गर्न मिल्ने भएकाले यी कम्पनीको खोप ल्याउने सम्भावना धेरै भएको उनले बताए । एस्ट्राजेनेकाले अक्सफोर्डको भ्याक्सिन उत्पादन गर्छ जुन भ्याक्सिन भारतमा सिरमले उत्पादनको जिम्मा लिएको छ । अर्थात यो भ्याक्सिन नेपाल आएमा एस्ट्राजेनेकाले उत्पादन गरेको नभइ सिरमले उत्पादन गरेको भ्याक्सिन आउने सम्भावना उच्च छ । यद्यपि उत्पादक फरक भए पनि भ्याक्सिनको फर्मुला भने एउटै हुनेछ ।

 

अहिले बिभिन्न देशमा थुपै्र भ्याक्सिन उत्पादन भइरहेको र १३ वटा जति भ्याक्सिन क्लिनिकल ट्रायलको अन्तिम चरण अर्थात फेज ३ मा रहेकोले नेपालीसँग धेरै विकल्प उपलब्ध हुने उनले बताए। जुन भ्याक्सिन बढी प्रभावकारी र सहज हुन्छ त्यही ल्याउने उनको भनाइ छ । नेपालसहितका गरिब देशहरुका लागि विश्व स्वास्थ्य संगठन, केही धनी देशहरु र केही संस्थाहरु मिलेर कोभ्याक्स नामक कार्यक्रम पनि संचालन गरेका छन् । यो कार्यक्रमअन्तर्गत गरिब देशहरुले निकै सस्तो दरमा भ्याक्सिन पाउने व्यवस्था मिलाइएकोले यही संयन्त्रमार्फत भ्याक्सिन नेपाल आउने सम्भावना पनि उच्च रहेको उनले बताए । यो अभियानका लागि अर्बपति बिल गेट्सको संस्थाले ठूलो रकम उपलब्ध गराएको छ ।

 

यदि नेपालमा कुनै निजी फार्मास्युटिकल कम्पनीले यो भ्याक्सिन आयात गर्न चाहेमा आधिकारिक आयातकर्ता हुनुपर्ने र सम्बन्धित देशले उसलाई मान्यता दिएको हुनुपर्ने छ । त्यस्तै सम्बन्धित देशले त्यो भ्याक्सिन सर्वसाधारणका लागि प्रयोगको अनुमति दिएको हुनुपर्ने छ । उसले आयात र बिक्रीवितरणको लागि सबै प्रक्रिया पूरा गरेर औषधि व्यवस्था विभागमा निवेदन दिएका विभागले स्वीकृति दिन सक्छ । औषधि व्यवस्था विभागले स्वीकृति दिएपछि यो भ्याक्सिन नेपालमा पनि उपलब्ध हुन सक्नेछ र आम सर्वसाधारणले कुनै क्लिनिकबाटै यो भ्याक्सिन पाउन सक्नेछन् ।

 

तर, त्यो चरणसम्म पुग्नको लागि भने केही समय लाग्ने अनुमान गरिएको छ । सुरुमा यो भ्याक्सिनले नेपालमा पनि आपतकालीन प्रयोगको लागि स्वीकृति पाउनेछ । पूर्ण स्वीकृतिको लागि पछि आवश्यक प्रक्रिया पूरा गरेर पुनः निवेदन दिनुपर्ने केसीले बताए । यदि कुनैपनि देशले सहयोगमार्फत नेपाललाई दिएमा उक्त खोप प्रयोग गर्न सहजै मिल्ने उनको भनाई छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार