
भोजपुर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाडी जिल्ला भोजपुर र काठमाडौँको दुरीलाई नजिक बनाएको बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग लगायत समग्र जिल्लाको विकास निर्माणको अध्ययन तथा अवलोकन गर्न भोजपुर आएका कडेँलले मध्यपहाडी लोकमार्गले काठामाडौँसंग पूर्व पहाडी जिल्लाको सिधा दुरीलाई छोट्याएको बताएका हुन् ।
बिहीबार जिल्लाका सरकारी कार्यालय प्रमखुहरुसंगको अन्तरक्रियामा उपाध्यक्ष प्रा डा कँडेलले भोजपुरको ६५ किलोमिटर भोजपुर लेगुवा सडकखण्ड, ४२ किलोमिटर पुष्पलाल मध्यपहाडी लोकमार्ग, सञ्चालित ५ मेगावाटको ईष्टर्न हाईड्रोपावर लगायतका विकासे आयोजनालाई संघिय र प्रदेश सरकारले प्राथमिकताका साथ हेरेको बताए । कार्यालय प्रमुखहरुको प्रगति विवरण र समस्याको प्रतिक्रिया दिँदै कडेँलेले चालु विकासे आयोजना र ग्रामीणस्तरका समस्याको अध्ययन र निराकरणका विकल्प खोज्न आग्रह गरे ।
अन्तरक्रियामा कडेँलले जिल्लामा सञ्चालित धेरैजसो विकास निर्माणका काममा ठेकेदार कम्पनीको लापरबाहीले ढिलासुस्ती हुनुका साथै गुणस्तरहीन कामको जिकीर गर्दै यसप्रति प्रशासन लगायत अनुगमन टोलीले स्थलगत रुपमै कडाइ गर्नुपर्ने बताए ।







