गोरेटोमा टेक्त्तै हिडेका अदृश्य डोबहरु

जिन्दगीको ५ वटा हिउँदहरुलाई बिरमाइलो तरिकाले बिदाई गरिसकेको थिएँ । तर अर्को हिउँदको आगमन हुन नपाउँदै सान्दाजुले घरमा एकजना नयाँ दुलही भित्र्याउनु भयो । दाजुले घरमा दुलही ल्याउनु भएको दिनदेखि परिवारमा सानातिना खटपट सुरु हुन थालिसकेको थियो । म त्यसबेला अलिक सानै थिएँ र त्यति धेरैकुरो बुझ्दिनथे । तर, कुनैबेला उँहाहरुले गल्याङमल्याङ गर्दै निकाल्नु भएका ठूल्ठूला आवाजहरु अहिलेसम्म पनि मेरो कानमा मज्जाले गुन्जिरहेकै छ । खै किन हो किन बाबु र दाजुको झगडा कुनैपनि हालतमा साम्य हुन सकिरहेको थिएन त्यसको सट्टामा दिनानुदिन मलपाएर हलक्कै हुर्कदै गरेको बिरुवाझैं झनझन बढदै गइरहेको थियो ।

 

अन्ततः उहाँहरुको झगडाले बिश्राम नगरेपछि हामी घरबाट छुट्टीएर मतानमा सरेका थियौं । हुनत घर र मतानको आगँन एउटै थियो । त्यसैले हामी छुट्टिए पनि एकआपसको सामाजिक दुरि त्यति टाढा नभएपछि वास्तवमा खानाखान र सुत्नकोलागि मात्र छुट्टिएको जस्तो मलाई आभाष भइरहेको थियो । झन एकतले मतान ज्यादै सानो थियो र घरको सिधै अगाडि पर्दथ्यो । हामी मतानमा सरेपछि तलामाथी बस्न थालेका थियौं किनभने मुनितलामा बाख्राको खोर थियो । त्यहाँपनि त्यति धेरै लामो समयसम्म टिक्न सकेनौ किनभने दाजु र भाउजूले हामी त्यहाँ बसेको पनि मन पराउनु भएन । तसर्थ मतानलाई सधैको लागि छाडेर हिड्न बाध्य भएका थियौं ।

 

दाजु र भाउजूलाई घरमा छाडेर आ-आफ्नो कुम्लो कुटुरो बोकेर हिडेपछि हामी कहाँ जादैछौ भन्नेकुरो मलाई त्यसबेला पटक्कै ज्ञान थिएन । झन म भन्दा २ बर्ष कान्छी बैनीलाई त थाहा हुने कुरै भएन । घर छाडने बेलामा आमाले ‘तैले बाख्रा तान है’ भनेको कर्णपृय शब्द अहिलेपनि झलझली सम्झिरहेको छु । मैले त्यो बाख्राको नाम ‘जुनकिरी’ राखिदिएको थिएँ । किनभने त्यो बाख्रा दशैको समयमा मावली जाँदा दिकुले ( आमाको दाजु ) उपहार स्वरुप दिनुभएको थियो । मेरो मावली घर हलेसीको, रातमाटे भन्ने गाउँमा पर्दछ । र, त्यँहीदेखि जुनकिरीलाई मैले पुरै एकदिन हिडाएर आफ्नो घर बुईपामा ल्याएको थिएँ ।

 

वास्तवमा दिकुको हातबाट आशिर्बाद सहित दशैको उपहार बाख्रा पाएपनि म कति स्वार्थी रहेछु भन्नेकुरो अहिले पनि यदाकदा सम्झने गर्दछु । किनभने मलाई त्यति धेरै माया गर्नुहुने दिकुको नाम मैले जिन्दगीभरी जान्ने प्रयत्न गर्दै गरिन । तर मावली जाँदा उहाँलाई सबै मानिसहरुले ‘उनन्चास’ भनेर बोलाउने गर्दथे । त्यसैले यदाकदा मैले सुन्ने गरेको उहाँको त्यो नाम उनन्चास नै होकि भन्ने जस्तो भान पर्दथ्यो । तर उहाँको नाम त्यो नभएर इष्ट इण्डिया कम्पनीमा कार्यरत हुँदा पाउनु भएको सैनिक नम्बर पो रहेछ भनेर कालान्तरमा चाल पाएँ । यदि कसैकसैले सोधिहालेको खण्डमा त्यति दयालु दिकु उनन्चासको भान्जा हुँ भनेर आफ्नो परिचय दिनसक्ने भइसकेको थिएँ ।

 

अ….. हामीले घर छाडेर हिडेपछि बाबियोले बाटेको सानो दाम्लोको सहयोगले जुनकिरीलाई तान्न थालेको थिएँ । तर बाख्रालाई म जतिजति अगाडि तान्न खोज्दथे, त्यसले मलाई उल्टो पछाडितिर तानिरहेको हुन्थ्यो । किनभने जुनकिरीले केहिदिन अगाडि एकजोडी पाठाहरुलाई जन्म दिएकी थिइ । त्यसैले आफ्नो पाठाहरु आफु सगँसङ्गै आएका छन वा छैनन् भनेर तिनले निस्चित गरिरहेकी हुन्थी । त्यसरी बाटो काटने क्रममा सूर्य र पृथ्वीझैं जुनकिरी र मेरो बराबर आकर्षण शक्त्ति प्रदर्शन भइरहेको थियो । कसोकसो मैले बिजय प्राप्त गरेपछि मेरो इच्छा बमोजिम हाम्रो यात्रा अगाडि बढाउँन सकिरहेको थिएँ । हाम्रो यात्रा क्रमशः अगाडि बढदै जाँदा दालङ्गे शिकारीथान र ठूलो आँपको रुखलाई अन्तिम चोटी चटक्कै काटेर गएका थियौं ।

 

शिकारीथानको ६० मिटर जति अगाडि झिगँटीको छानो लगाएको एउटा ठूलो घर थियो । मालेम्पा ( मालुको बाबुलाई चाम्लिङ भाषामा ) दाजुले बनाउनु भएको उक्त्त घरको छानो झिगँटीबाट जस्तापातामा परिवर्तन भएपनि घर अध्याबधि जिवितै रहेको छ । गाउँमा आँधा शताब्दी अगाडिको समय अहिले जस्तो अनिकाले जमाना थिएन । त्यसैले त्यति ठूलो घरमा तिनताका घरभरी टन्न मानिसहरुको भिडँ लाग्ने गर्दथ्यो । त्यतिमात्र नभएर हरेक बेलुकी त्यँहा बज्ने रेडियोको आवाज घरमाथिको नागबेली गोरोटोबाट नै मज्जाले सुन्न सकिन्थ्यो ।

 

अहिले घर भाग्यमानी भएकोबेला त्यहाँ बस्ने मानिसहरुको उपस्थित हुन सक्छ नत्रभने अकल्याण भएकोबेला काली गण्डकी नदी किनारमा रहेको रानीमहल झै पूर्णतय खाली रहने गर्दछ । केहीबेरमा हामी तिनै घरलाई पारगरेर हाम्रा पाइतालाहरुले त्यति चिप्ले गोरेटोमा अदृश्य डोब बनाउँदै क्रमशः अगाडि बढीरहेका थिए । ठीक त्यँहीबेला दाजुको एउटी सानी छोरीले आगँनदेखि उकालो फर्केर मधुरो स्वरमा, “कोक्पा ! अव कहाँ गएर बाँकी जिन्दगी बिताउनु हुन्छ ?” त्यति गम्भिर प्रश्न तर एक्कासी गरिन ।

 

उनको प्रश्नले अचानक मेरो ध्यान भङ्ग भयो । कताकता मेरो हृदयमा तिखो फलामे भालाले रोपिएकोझैं अनुभूति गरें । मेरो मुन्टो सर्लक्कै उनीतिर फर्काएँ । पूर्व दिशामा रहेको मझुवागढिदेखि झुल्केको घामले एकटाङ्गो पार गरिसकेको थियो । तैपनि घरिघरि देखापर्ने कालो बादलसँग घाम लुकामारी खेलिरहेको जस्तो मलाई झझल्को भइरह्यो ।

 

त्यसरी अकस्मात् नातिनीको मुखदेखि आएको प्रश्नले एकसुरमा चलिरहेको बाबुको पाइतालाहरु नजिकै रहेको ठूलो दर्छिन ढुङ्गामा बज्रपात् हुन पुग्यो । उनको त्यती जटिल प्रश्नले बाबुको पाइतालाहरु ढुङ्गामा मात्र केवल ठोकिएका थिएनन् हृदयमा पनि आघात् चोट परिरहेको थियो । म बाबुको ठीक पिछाडिपिछाडि हिडिरहेको थिएँ । र, उहाँको तिनै अभागी कदमहरुलाई राम्ररी नजर लगाइरहेको थिएँ । एउटा डोकोमा केहि सरसमान र डोकोको सबैभन्दा माथिको भागमा बैनीलाई राखेर मेरी आमा पछिपछि आइरहनु भएकी थिइ । हामी त्यसबेला न कुनै बिहेको जन्ती वा कुनै लासको मलामी गइरहेको थियौं । हामी त केवल यस धर्तीमा कतै बासबस्ने स्थान नपाएर पङ्त्तिबध्द हुँदै अनिश्चित स्थानतिर बसाई सरिरहेका थियौं ।

 

गाउँको समय त्यसबेला बर्खायामको समय थियो । बर्खाको समयमा मानिसहरु हिडने गोरेटोमा घाँसपात पलाएर त्यसै त बाटो साँगुरिएर सानो भएको हुन्थ्यो । त्यँहीमाथि फिसफिसे पानीले बाटोमाथि हरियो लेउँ पलाइरहेको थियो । लेउँले बुईपाका मानवहरुलाई खास्सै असर पुरयाएका थिएनन् तर बाटो एकदम चिप्लो बनाइरहेको थियो । हामी तिनै चिप्लो बाटोमा जोगिदैँजोगिदैँ र आफ्नै रफ्तारमा निरन्तर पाइलाहरु गनिरहेका थियौं । जब हाम्रो पाइलाहरुले गोरोटोको नाप मापन गर्न बन्द गरयो, तब बाबुले उहाँको थकित हातहरु कम्बरमा एकछिन आराम गराउनु भयो । अनि ‘खुइत्त’ गरेर एकपटक लामो सास फेर्नुभयो ।

 

अनिश्चित गन्तब्य मात्र नभएर अनिश्चित भविष्य लिएर म पनि बाबुको पछिपछि नानाथरी सोच्दै हिडिरहेको थिएँ । तर त्यति सुक्ष्म गोरेटोमा हिडदैगर्दा अचानक आएको अबोध नातिनीको प्रश्नले बाबुको आँखाहरु एकपटक सरर रसायो त्यसपछि झिमझिम बन्द हुँदै खोलिदै गरयो । एकदम अग्लो कदको शरिरमा आँधा च्यातिएर झुर्ण भएको खाँडीको दौरा, बाहिरी भाग फाटेर भित्रीभाग देखिन सुरु गरेको मैलो भोटो, दुईपट्टी घुँडा फाटेर आमाले घरीघरी टालिदिनु भएको सुरुवाल, पुरै घेरो च्याँतिएर अनुहार परिवर्तन भइसकेको कटनको सेतो टोपीमा बसेको कालोमैलो कत्ला मात्र नभएर लगभग सात दशकसम्म जुत्ता चप्पल नपरेको खाली खुट्टा देख्दा जो कोहि मानवको हृदय सहजै जल्न सक्दथ्यो ।

 

अत्यन्तै मृदुभाषि बाबुको त्यस्तो स्थिती देख्दा मेरो आत्मा धुरुधुरु रोइरहेको थियो तैपनि बाहिर आँशु बहाउन सकिरहेको थिइन । त्यसबेला मलाई यस धर्तीमा भएका हरेक प्राणीहरु मध्येका हराम जिन्दगी हाम्रै रहेछ भन्ने लागिरहेको थियो । अझै त्यस्तो बिषम परिस्थितिलाई सरम नमानी उर्जागर गरिदिने हो भने बाबुको शरिर ढाकिरहेको पहिरन नै दरिद्रताको यथेष्ठ प्रमाण हुन सक्छन भनेर मेरो नयनहरुले अभिलेख जम्मा गरिरहेको थियो । हुनत त्यसबेला म चिचिला नै थिएँ । त्यसैले बाबुको दुःखद पहिरनलाई हजारचोटी गहिरिएर अध्यान गरेतापनि आखिर म सँग समश्य सामधान गर्ने क्षमता केही थिएन, किनभने म आफैपनि त लगभग नाङ्गोभुङ्गो जस्तै थिएँ । तर हामी सवैजनाको कदमहरु एक्कैचोटी रोकिएपछि लौरोको सहायताले बाबु दाजुको घरतिर सुस्तरी फर्कनु भएको थियो । त्यसपछि मात्र नातिनीले गरेकी सवालको जबाफ फर्काउनु थाल्नुभयो ।

 

“खै नानी ! हिडदै जाउँ, कहाँसम्म पुगिने हो, कुन्नी ? बिगत पैँसट्ठि बर्षदेखि यता जिन्दगीरुपि रथलाई एक रफ्तारमा क्रमशः अगाडि धकेली रहेकै छु । तैपनि मलाई आजसम्म भाग्यले साथ दिएको छैन । त्यसैले सबै गाउँलेहरुको आँखा अगाडि खलनायक साबित भएको छु । तैपनि जीवनको उत्तर्राध कालमा लाहुर जाने एउटा छोरोको जन्म दिएको छु र त्यसैमा खुशि छु ।”

 

बाबुको त्यस्तो कुरो सुनेर नातिनी एकछिन निशब्द बनिन । त्यसपछि सानो स्वरमा, “बिचरा ! हाम्रो कोक्पा” भन्दै उनी सुस्तरी घरभित्र छिरिन । उनको सुकोमल मुहार हाम्रो चर्मचक्षुदेखि बिलय भएपछि, आमाले भित्तामा अडेस लगाइ रहनु भएको डोकोलाई थपक्कै बोक्नु भयो । त्यसपछि हाम्रो गन्तब्यहिन यात्राले पुनः बाटो लिन सुरु गरयो । केहिबेर अगाडि बँढेपछि, ‘आमा ! हामी चाहिँ कहिले झिगँटी घरमा बस्न सक्छौ होला ?’ छोटोछोटो कदम चाल्दै मैले बिनम्रतापुर्वक प्रश्न गरें । मेरो प्रश्न सुनेर आमाले, ‘छोरा ! अब यो जुनीमा त यतिक्कै होला ? अर्को जुनीमा खै के हुने हो ?’ दुवै हात नाम्लोको दायाँबायाँ राखेर प्रतिउत्तर फर्काउनु भयो । मलाई त्यसबेलासम्म मानिसहरुको पाउँने जुनीको बिषयमा केही अत्तोपत्तो थिएन । आ… नजानेको खोलो के धाउनु है भनेर नतमस्तक हुँदै क्रमशः अगाडि बढिरहें ।

 

हामी हिडदै गरेको गोरेटोको माथितिर एकदम ठूलो तर भिरालो खरबारीको पाखो थियो । तिनै पाखोलाई बिदाइ गर्दै जादाँ लहलह मौलाएका हात्तिबारका बिरुवाहरुलाई देख्यौं । हात्तिबारहरुले सायद हात्ति लम्केको कदमहरुलाई जसरीपनि छेक्न सक्दथे होला तर पाईतालाहरु धाँजा धाँजा बनाएर ‘बसाई’ सर्दै गरेका अति बिपन्नबर्गको मानिसहरुको दुःखद यात्रा, भावना र बिचारहरुलाई के छेक्न सक्थे होला र ? आँखा चिम्लेर मैले त्यति सोचेको मात्रै के थिएँ, मेरो नजरदेखि हात्तिबारहरु भ्रान्त भइसकेको थियो ।

 

आँसु बिहिन सुख्खा नयनहरु एक झिमिक बन्द गरेर पुनः खोल्दा सुर्केबारीको डिलमा पुगिसकेका थियौं । तिनै सुर्केबारीको डिलमा पुगेर बाबुको कदमहरु दोश्रोचोटी टक्क रोकिएको थियो । उहाँको कदमहरु अकस्मात् रोकिएपछि सूर्यको प्रकाशले जमिनमा बनेको उहाँको शरिरको अल्पकालिन छाँयामा मेरो जिउँ लगेर सर्लक्कै मिसाइ दिएँ । त्यसपछि म पनि सानो स्वरमा खुइत्त गरें, किनभने केहिसमय अगाडिदेखि नै मलाई जुनकिरीले असिनपसिन बनाईसकेकी थिइ ।

 

बाख्रा तान्दैतान्दै बडो मुश्किलले त्यहाँ पुगेपछि बाबुको मुहारलाई मैले एकोहोरो क्वारक्वार्ती हेरिरहें । पुरै सेताम्मे भएको तर समानान्तर नभएको उहाँको आँखिभौंहरुलाई गन्दै जाँदा जिन्दगीको रथले यता भन्दा उता बढि यात्रा गर्न खोजिरहेको महसुस गरिरहेको थिएँ । एकाध गहिरो तलाउमा म डुबिरहेको भएतापनि मेरो चुकचुकाउँदो अनुहारमा बाबुले लामो समयसम्म हेरिरहनु भयो र सुस्तरी बोल्न थाल्नु भयो ।

 

“छोरा ! अब जे जसरी हुन्छ, बाँकी रहेको जिन्दगी हामी यँही नै बिताउने छौ ।”

 

पूर्णतय रिक्त्त तर तितेपाँती पनि नपलाउने रुखो पाखाबारीको डिलमा बसेर उहाँले छाडनु भएको त्यो शब्द सुनेर म केहिबेर निशब्द बनिरहें । त्यसै त बाबुको उमेरले ७ दशक टेक्नै लागेको थियो । सम्भवत तिनै उमेरको कारणले उहाँको अनुहार तीन चाउरी परिसकेको थियो । उहाँको अनुहारलाई मज्जाले अध्यान गर्ने हो भनेपनि महिनौ दिनसम्म नखुर्केको दार्हीजुङ्गाले डुब्नै लागेको जुनको राम्ररी आभाष दिइरहेको हुन्थ्यो । हेर्दै बाबु त्यस्तो भयङ्कर दुखिद मुद्रामा हुनुहुन्थ्यो तसर्थ गालालाई तीनचाउरी बनाउँदै उहाँको मुखबाट निस्केको तिनै शब्द पहिलो शब्द बनेर आउँदा म निक्कै लामो समयसम्म भावुक बनिरहेको थिएँ ।

 

यहाँ सेताम्मे पाकेका दार्ही जुङ्गाको मात्र कुरो होइन । उहाँको मुखबाट ब्यतित भएको तिनै शब्दहरु सँगसँगै ओष्ठ थरर काँपिरहेको थियो । अनि आफ्नो अबोध छोराको उज्वल भविष्य सम्झदै स्नेहको साथ म प्रति एकोहोरो नजर लगाइ रहनु भएको थियो । आखिर म भर्खरै पाँचौं काटेर छैटौँ बर्षमा मात्र त प्रवेश गर्दै थिएँ । त्यति कलिलो उमेरमा सायद धेरैकुरो के नै पो बुझ्न सक्थे हुँला र ? बुझेपनि के नै पो गर्न सक्थे हुँला र ? तैपनि उहाँको क्लान्त एबम शिथिल शरिरमा मासु बिलिएर बँचेको पातलो छालाले छोपेको नसामा बहिरहेको तातात्तो रगतको गति राम्रैसँग नजर मारिरहेको थिएँ ।

 

“छोरा ! तँ एक कोरी पुगिन्जेलसम्म बाँच्न पाएभने म शान्तिको साथ स्वर्ग जानसक्छु,” बाबुले दोश्रोचोटी मुख खोल्नुभयो ।

 

भर्खरभर्खरै फस्टाउँदै गरेको नवहृदय घायल बनाउने बाबुको उक्त्त भनाइलाई मैले नियास्रो मान्दै सुनिरहें । उहाँको कुरो सुनेर मलाई त्यसबेला जिन्दगीसँग कताकता खल्लो अनुभूति भइरहेको थियो । जाबो जिन्दगीमा जस्तोसुकै खराब परिस्थिती आएपनि सामना गरेर आफ्नो छोरालाई बिस बर्ष कटाउँछु भन्ने बाबुको अठोट सम्झेर निक्कैबेरसम्म प्रभावित बनिरहेको थिएँ । तर आफ्नो सन्तानहरु प्रति दिलोज्यान दिने बाबुलाई किन दाजुहरुले त्यस्तो ब्याबहार गर्नुभएको होला भनेर मनमनै चिन्तित पनि बनिरहें ।

 

हामी सुर्केबारी पुगेको केहिबेरमा आमाले तीनवटा लाम्चालाम्चा ढुङ्गाहरु खोजेर ल्याउनु भयो । ढुङ्गा ल्याउने बितिक्कै नजिकै लडिरहेको कुट्टो कोदालीलाई टिप्नुभयो र जमिन खोस्रन थाल्नुभयो । म आमाको त्यो हर्कतलाई अति नजिकदेखि नियाली रहेको थिएँ । उहाँले एक्कैमिलिकमा ‍तीनवटा ढुङ्गाहरु गाडनु भयो र एउटा चुल्हाको निर्माण गरिहाल्नु भयो । चुल्होको निर्माण भइसकेपछि मलाई बारीतिर सुकेको झिक्राहरु खोज्नु पठाउनु भयो । म त्यसबेलासम्म भुईमा टुक्रुक्क बसेर रमिता हेरिरहेको थिएँ । तर, आमाले अर्हाउँनु भएपछि अध्याँरो मुख लगाएर हात टकटकाउँदै त्यहाँबाट उँठेर हिडें । त्यँहादेखी हिडेपछि उँकालै उँकालो चँढेर महाबारे बारीसम्म पुगेर अलिकति झिसिक्रा र केही सुकिसकेको मकैको ढोडहरु बटुलेर मिलिक्कै ल्याइपुर्याएँ ।

 

आमाको पटुकीभित्र सँधै गुज्जुमुज्जु परेको एउटा पुरानो थैली हुन्थ्यो । पटुकीदेखि थैली निकालेपछि सरर थैली उघार्नु भयो र अलिकति बुकीफूलको झुलो र चकमक निकाल्नु भयो । जमिनमा टल्किरहेको एउटा दर्छिन ढुङ्गा टिपेर चकमक ठोस्न थाल्नुभयो । आगोको झिल्कोले झिसिक्राहरु सल्काएर हुरुरु बाल्नु भयो । अनि नयाँ चुल्होमा बिट फुटेर चोइटिएको कराहीलाई थपक्कै बसाउनु भयो । लोहोटादेखि घलघल तीन लोहोटा पानी कराहीमा खन्याउनु भयो । पानी उम्लनु अगावै चिण्डोमा बोकेर ल्याउँनु भएको चामललाई दुई अँजुली जति जोखेर कराहीमा फ्यास्सै लगाउनु भयो । आमाले कराहीमा लगाउनु भएको चामललाई मैले राम्ररी नियालेर हेरिरहें किनभने कति चामलले भात र कतिले खोले बन्छ भन्ने सुत्र अगेना छेउँमा बसेर मैले त्यसबेलासम्म चाल पाउने भइसकेको थिएँ ।

 

भुलभुल उम्लनु लागेको त्यति धेरै पानीमा तीन अन्जुली मात्रै चामल पसेको देखेपछि त्यो भात हुदैन भन्ने मलाई करिवकरिव यकिन भइसकेको थियो । अझै कालोमुसो लागेको ढाकीबाट दुईढिक्का नुन ट्वाङ्ग गर्दै कराहीमा आमाले हाल्नु भएपछि त्यो खोले नै हो भन्नेकुरो प्रायः निश्चित भइसकेको थियो । मलाई किनकिन खोले खानुभन्दा भात नै खान बढि रुचि लाग्ने गर्दथ्यो । तर बिडम्बना के थियो भने हामी दरिद्रताको सय मिटर भन्दा मुनी गहिरो खाडलमा जाँकिएका थियौं । त्यसैले भातको सट्टामा घरमा खोलेनै बढि पाक्ने गर्दथ्यो । त्यसबेला पनि कराहीमा उम्लदै गरेको खोलेदेखि निस्केको वाफले मेरो हृदयमा भिषण आगलागी भइरहेको थियो । तैपनि म सँग केही अन्य उँपाय थिएनन् र अगेना छेउँमा बसेर खोलेलाई बितृष्णाको साथ नजर लगाइरहेको थिएँ ।

 

पटकपटक भान्सामा बस्दा खोले खाएर छाक टार्नुपर्ने भएकोले त्यसबेला मेरो बकमौनता अचानक भङ्ग भयो । ‘आमा ! अनि भातचाहिँ कहिले पकाउनु हुन्छ ?’ आमाको अनुहार तिरिरी हेर्दै सिधा प्रश्न गरें । त्यसरी अनायसै मेरो मुखबाट निस्केको प्रश्नले आमाको मुहारमा कालो बादल मडारिन सुरु गरयो । ममतामयी आमाको अन्धकारमय अनुहारलाई मैले निक्कै लामो समयसम्म हेरिरहें । खै किन हो किन ? बिरमाइलो मान्दैमान्दै उहाँले पनि मलाई एकझलक हेर्नुभयो, तर उहाँको मुखदेखि एक्कैशब्द फुत्किन सकेनन् । त्यसको सट्टामा उहाँ बसिरहेको स्थानदेखि केहि नबोली जुरुक्कै उठेर हिडन थाल्नुभयो । अनि सुस्तरी मेरो अनुहारदेखि उहाँको सुकोमोल मुहार बिस्तारै बिलिन हुँदै गयो । मैले छाडेको त्यति बिषालु धनुषबाँणले उहाँको हृदय कति क्षतबिक्षत गरि दिएछु भनेर म केहिबेर पश्चातापमा जलिरहें ।

 

आखिर म किन खोलेदेखि बेचैन थिएँ ? मैले बिहान घरछाडेर हिडने बेलामा खाजाको रुपमा एकपात कोदोको रोटी पाएको थिएँ । अलिकति रोटी पहिले नै खाइसकेको थिएँ र बाँकी रोटी भरै भोक लाग्छ कि भनेर भोटोको गोजीमा बोकिरहेको थिएँ । आमाको मुखबाट एक्कैशब्द ननिस्केपछि अब तिनै रोटीलाई चपाउँदै भएपनि खोलेको प्रतिक्षा गर्नथालें । मेरो जिउँमा जहिलेपनि एउटा भोटो उँनिएको हुन्थ्यो र त्यसबेलासम्म मैले कट्टु लगाएको फिटिक्कै याद आउँदैन । त्यो भोटोपनि गतसाल दम्कुको डिल्लु दमाई दाजुले ‘कान्छो किरुवाको भोटो’ भन्दै सिलाई दिनुभएको याद गरिरहेको थिएँ ।

 

मलाई डिल्लु दाजुले किन किरुवा भन्योहोला भनेर केहि चाल पाउन सकेको थिइन र जान्ने कोशिस पनि पटक्कै गरिन । बरु त्यसको सट्टामा उनले सिलाइ दिनुभएको भोटोलाई भित्री हृदयदेखि नै ग्रहण गरेको थिएँ । मेरो भोटो पनि अजिर्णको थियो किनभने धुलोमा खेलेर जतिजति मैलाधैला हुन्थ्यो उतिउति दर्हो र बाक्लो हुँदै जान्थ्यो । भोटो जतिसुकै नराम्रो भएतापनि त्यसको दायाँ र बायाँ दुईवटा गहिरो खल्तिहरु थिए । र, तिनै खल्तीहरु मेरो लागि ज्यादै उपयोगी सिध्द भएको थियो । किनभने दुवै खल्तिहरुमा कुनैबेला मकै, भटमास, रोटी अथवा कोदोको बाँसिढिंडोको टुक्रा बोकेर हिडने गर्दथे ।

 

त्यसदिनको मध्यान्हको घाम ठीक हाम्रो टाउँकोमाथि परेको थियो । त्यसबेलासम्म म बैनीलाई निरन्तर खेलाइरहेको थिएँ । बाबु बारीको कुनादेखि स-साना ढुङ्गाहरु ओसारेर घडेरी सम्याउँदै हुनुहुन्थ्यो । ‘खाना खाने बेला भयो,’ आमाले छाडनु भएको आवाज हावामा मिसिएर हाम्रो कानकानमा बज्रिन आइपुग्यो । आमा बेस्सरी कराउनु भएको सुनेर बाबु हाम्रो नजिकै आउनु भयो । मेरो नजिकै जमिनमा हावाले घरि यता र घरि उता पल्टाइ रहेको सिलाबरे लोहोटा थपक्कै टिपेर माटोको घैटोदेखि घलघल पानी सारेर बाबुले हातमुख धुनुभयो । बाबुले हातमुख धोइसक्नु भएपछि हामी आमाको वरिपरि गोलाकार भएर बस्यौ । आमाले सिलबरको ठूलो थालमा बाबुलाई र बाँकी तीनजनालाई बटुका बटुकामा खोले पस्केर लहरै राखिदिनु भयो ।

 

बैनी अलिक सानै थिइ । त्यसैले खोले सार्है तातो हुन्छ भनेर फु-फु गर्दै बैनीलाई खुलाउँन भनेर आमाले मलाई अर्हाउनु भयो । हरेकदिन भात खाने रहर लाग्ने मेरो रहरलाई तिलान्जली दिदै खोलेलाई फु-फु गर्नथाले । खोले खाएर केहिबेर बसेको मात्र के थियौं । जुम्मेम्पा दाजु अहम भन्दै खोक्दै आइपुग्नु भयो । दाजुको आगमन हुने बितिक्कै, ‘बाबै ! यति जग्घा चलाउ है,’ भन्दै एकरोपनी जति बारी दायाँ हातले देखाइदिनु भयो । उहाँको साथमा एउटा खुकुरी पनि थियो र तिनै खुकुरी दापबाट बाहिर निकाल्दै मामकाईली ( काईला काकी ) थोरै घ्यु ल्याउँल्याउँ भन्नुभयो । आमाले कालो हर्पेदेखि सिन्काले कोट्याएर एक पिचिक्क घ्यु निकालेर ‘लु जेठा’ भन्दै दिनुभयो । दाजुले घ्यु पाउने बितिक्कै अगेनामा भर्खरै बलेर निभेको कोइलालाई  खुकुरीमा टकटक ठोसेर घ्युसगँ दल्न थाल्नु भयो । अनि भोटोको गोजिबाट लेखेर अग्रिम तयार पार्नु भएको एकपन्ना नेपाली कागज निकाल्नु भयो ।

 

खै ! नेपाली कागजमा के लेखिएको थियो कुन्नि ? हामी कसैलाई थाहै हुन सकेन । किनभने बाबुआमा दुवैजना निरक्षर हुनुहुन्थ्यो झन बैनी र म अति स-साना थियौं । दाजुले औंठाछापको लागि मसि तयार बनाउनु भएपछि आमा र बाबुले पालैपालो तमसुकको दायाँबायाँ किनारमा औंलाको छाप लगाउनु भयो । दाजुले किन त्यसो गर्नु भएको होला भनेर मैले मनमनै सोचिरहेको थिएँ । पछि आमाबाट मैले चाल पाएकि हामी जुन स्थानमा बस्न गइरहेको थियौं । त्यो जग्घा जुमेम्पा दाजुको रहेछ र ६ सय रुपैयामा हामीले किनेका रहेछौं ।

 

हामी यसै दुखि थियौ, त्यँही भएर हाम्रो साथमा केहि रकम थिएन । जग्घा किन्ने रकम नभए पश्चात् अर्कोबर्ष सावाँ र ब्याज भुक्त्तानी गर्ने सर्तमा दाजुले तमसुक बनाउनु भएको रहेछ । कपाली तमसुकमा औंठाछाप लगाएपछि दाजुले हामीदेखि बिदा लिनुभयो । आमा, बाबु, बैनी र म ४ जना छिप्तीको गोरेटै गोरेटो बाटो भएर भोक र तिर्खाले छट्पट्टिएको बेसहारा भिकारी जस्तै बनेर त्यस बिहानभरी गन्तब्यहिन दिशामा हिडिरहेका थियौं । यस धर्तीमा हामीले टेक्न पाउँने अधिकार सहितको जमिन सबै सकिएको थियो । तैपनि सुकुम्बासी काईला बाबुको अनुहारमा परेको सात चाउँरी देखेर जुमेम्पा दाजुले बासै बस्नको लागि भएपनि एकटुक्रा जमिन ऋणमा उपलब्ध गरिदिनु भएकोमा बाबु र आमा अति कृतज्ञ हुनुभएको थियो ।

 

जुमेम्पा दाजुले हामीलाई छाडेर जानु भएपछि बाबुले एउटा सानो चित्रे गोठको निर्माण गर्न थाल्नु भयो । मलाई अहिलेपनि झलझली सम्झना छ, हामीलाई गोठ बनाउँनको लागि पुर्खा दाइले राम्रो सहयोग गर्नुभएको थियो । आमा, बाबु र पुर्खादाईले गोठ बनाउँदा म र बैनी हामीसँगसँगै ल्याएको बाख्राको नजिकै बसेर पाठाहरुसँग खेल्ने गर्दथ्यौ । बरु बाख्रा पाठाहरु चाहिँ हामी भन्दा बेस्कन फुर्तिमान् थियो । हामी तुर्लुङ्ग पातलो खोले मात्र खान पाएकोले तागतबिहिन जस्तै थियौं । बरु आमाको दुध खान पाएको होला तिनै पाठोहरुले उँफ्रिउँफ्रि हामीलाई खुब रमिता देखाउदथ्यो । दिनभरी उफ्रेर बेलैमा पाठोहरुले आराम गरेपछि हामीले पनि बेलुकीको खाना खायौ । र, जिन्दगीको पहिलो रात खुला आकास मुनि सुतेका थियौ । किनभने हामी बस्ने गोठको निर्माण गर्न पुरै २ दिन लागेको थियो । सम्भवत मैले जिन्दगीमा सबैभन्दा बढि ताराहरु पहिलोपटक त्यसरात नै देखेको थिएँ ।

 

रातभरी आकास गँगामा भएका ताराहरुको शितल छहारीमा सुतेको भोलिपल्ट चित्राबाट निर्मित गोठले पूर्णता पायो । गोठ सानो थियो तैपनि टाउकोसम्म लुकाउने छानो मिलेकोमा हामी हर्षित मुद्रामा थियौं । अझ बुर्कुसी मार्दैमार्दै म नै पहिले गोठभित्र छिरेको थिएँ । गोठभित्रको एकाछेउमा तीनवटा ढुङ्गा गाडेर एउटा चुल्हाको निर्माण गरिएको थियो । चुल्हाको कुनामा एउटा सानो माटोको घैंटो पनि राखिएको थियो । पुरानो घरमा पनि आमाले बेलाबेलामा तिनै घैटोमा चोखो जाडँ पकाएर राख्ने गर्दथिन् । त्यो घैंटोलाई यिनी बुँढीबजु ( माछाक्मा ) हुन् र त्यहाँ जो कोही जानु वा छुनु हुदैन है भनेर आमाले बेलाबेलामा हामीलाई सम्झाइ रहनु हुन्थिन् । अझै तीनै बजुको सम्झनामा बेलाबेलामा पुजा गर्नुपर्छ भनेर उनको बिषयमा आमाले छोटो कथा पनि सुनाउनु भएको थियो । किरातीहरुको परम्परा अनुसार हरेक ६-६ महिनामा तिनै माछाक्मा, मछामा र छुइको अध्यावधि पुजागर्ने चलन रहिआएको छ ।

 

चुल्हाको ठीक बिपरित दिशामा अलिकति माटोको ढिस्को उँठाएर सुत्ने खाट जस्तै बनाइएको थियो । तिनै माटे खाटमा जाडोले कुङलुङ्गै पर्दै म कुना पट्टी फर्केर सुत्ने गर्दथे । त्यसपछि बैनी, आमा र बाबुपनि त्यँही सुत्नुहुन्थ्यो । गोठको वरिपरि बाँसलाई फुटाएर टाटँनी बनाएर बारिएको थियो । तर टाटँनीदेखि चिहाएर बाहिर हेरयोभने बारीको भित्ताहरु छ्याङछुङ्ग देखिन सकिन्थ्यो । अझै त्यसबेला बर्षायामको समय थियो । त्यँही भएर कुनैकुनै रात डाङडाङ र डुङडुङ गर्दै ठूल्ठूलो मेघ गर्जनुको साथसाथै बर्षात् हुने गर्दथ्यो । त्यसरी आकास गड्याङगुडुङ गर्दा मलाई असाध्यै डरलाग्ने गर्दथ्यो ।

 

गोठको ठीक मास्तिर बटुवाहरु हिडने सानो गल्लि थियो । धेरै बर्षात् भएको बेला गल्लिमा पानी जम्मा भएर त्यहाँ भेल आउने गर्दथ्यो । गल्लिमा पानी जम्मा भएर बग्ने भेल बारीको पर्खाल हुँदै म सुतेको कुनासम्म झर्ने गर्दथ्यो । कुनैकुनै रात सुतेर ब्युझँदा पानीले मेरो अनुहार छपक्कै भिजाइ रहेको हुन्थ्यो । हामी मस्तसगँ त्यसरी सुतिरहेकोबेला अचानक आएको बर्षे भेलले बहाएर दम्कुखोला पुरयाउँने हो कि भनेर समय समयमा झँस्किरहन्थे ।

 

अर्को हप्ता गाउँमा बेस्सरी बर्षात भयो । बिहानदेखि परेको पानि बेलुकी सुत्ने बेलासम्म रोकिएको थिएन । म मनभरी पिर लिएर सदाझै गोठको कुनामा सुतिरहेको थिएँ । डर मान्दैमान्दै सुतेको भएतापनि मध्यरात ढल्केपछि म चिर निन्द्रामा परिसकेको थिएँ । त्यसरात हामीलाई खोलाले बहाउँदै गरेको मैले भयङ्कर डरलाग्दो सपना देखें । म बेस्कन झस्केर ब्युँझदा मेरो नजिकै पानीको ठूल्ठूलो आवाज आइरहेको थिएँ । आँखाभरी आँसु सहित अतालिदै आमा, बाबु र बैनीलाई बोलाउन थालें । तर, मैले निकालेको आवाजहरु कसैले सुनेका थिएनन् केवल पापी खोलाको पानीले मात्र सुनिरहेको थियो । मध्यरातपछिको समयमा मेरा सबै परिवार दम्कु खोलाले बहाइ सकेको रहेछ । त्यस्तो अनकन्टर रातमा म एक्लै बाँचीरहेको थिएँ र खोलाको वीचमा एक्लै कहालि रहेको थिएँ ।

 

 

अक्सफोर्डसायर ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार