काठमाडौं। २०७४ सालको निर्वाचनको पूर्वसन्ध्यामा चुनावी कार्यक्रम गर्न एमालेलाई मधेसमा सजिलो थिएन। एमालेलाई मधेस विरोधी पार्टीका रुपमा मधेस केन्द्रित दलले चित्रण गरेका थिए भने मधेसमा एमालेका नेतालाई ‘प्रवेश निधेष’ थियो।
तर चुनावमा बाम गठबन्धन बनेर एमाले सबैभन्दा ठूलो दल बनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेसँगै मधेसलाई प्राथमिकतमा राखे। विकासका काममा मधेसलाई ओली सरकारले प्राथमिकतामा राखेका थियो भने मधेसका कतिपय माग ओली सरकारले पूरा गरेको थियो। ओली सरकारमा तत्कालीन जसपा र राजपा दुवै सहभागी भएका थिए।
अहिले मधेसमा ओलीलाई हेर्ने दृष्टिकोेण फरक छ। फेरि चुनावको मुखमा ओलीले अहिले मधेस मिशन चलाएका छन्। पछिल्लो दिनहरूमा एमाल अध्यक्ष ओली मधेश मिसन लिएर मधेस प्रदेशको दौडाहमा रहेका छन। अहिले मधेसका प्रभावशाली नेतादेखि स्थानीय जनप्रतिनिधि एमाले प्रवेश गर्ने लहर चलेको छ।
एमाले प्रवेश गर्ने प्रभावशाली नेता तथा जनप्रतिनिधिलाई अध्यक्ष ओली स्वयंले एमालेमा स्वागत गरिरहेका छन। एमाले विभाजित नहुँदासमेत मधेसमा एमाले कमजोर थियो। संविधान जारी भएपछि एमालेले देशव्यापी रूपमा सुरु गरेको मेची महाकाली अभियानको अवरोध मधेश प्रदेशमै भएको थियो।
सप्तरीको मलेठमा एमालेको कार्यक्रम विरोध गर्नेहरू र सुरक्षाकर्मीबीच भएको झडपमा पाँच जनाको मृत्यु भएको थियो। परिणामस्वरूप देशभरि एमालेको पक्षमा निकै बलियो जनमत आए पनि मधेश प्रदेशमा भने पाँचाैं दल बन्न पुगेको थियो।
मधेश प्रदेशमा कांग्रेसले ४०, संघीय समाजवादी फोरमले २६, राजपाले २५ र माओवादी केन्द्रले २१ स्थानीय तह जित्दा एमालेले १८ स्थानीय तह मात्र जित्न सक्यो। मधेश प्रदेशमा पार्टीको खराब अवस्थालाई आगामी निर्वाचनमा पुनरावृत्ति हुन नदिन एमालेले मधेश मिसन सुरु गरेको हो।
शनिबार वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीसहित तीन वडाध्यक्ष एमाले प्रवेश गरेका छन्। पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनमा सरावगीका निकटतम प्रतिद्वन्द्वी राजेशमान सिंहलाई गत पुसमा नै एमालेले एमालेले पार्टी प्रवेश गराइसकको छ। उक्त चुनावमा सिंह राष्ट्रिय जनता पार्टीबाट मेयरको उम्मेदवार बनेका थिए। त्यसअघि जगनाथपुरका मेयर जालिम मियाँलाई एमालेले पार्टी प्रवेश गराइसकेको छ।
शनिबार नै अध्यक्ष ओली बारा पुगेर जिल्लाको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीसहित पाँचजना जनप्रतिनिधिहरू नेकपा एमालेमा प्रवेश गराए। अन्सारी जसपाबाट अध्यक्ष निर्वाचित भएका थिए।
यसअघि मोरङको रंगेली नगरपालिका मेयर दिलिप बगडिया तथा उपमेयर केशवकुमारी खराललाई एमालेले प्रवेश गरेका छन्। माओवादी केन्द्रका केन्द्रीय नेताहरूलाई समेत एमालेले पार्टीमा प्रवेश गर्ने क्रम चलिरहेको छ।
पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अब मधेश प्रदेशमा एमालेले तुफान सिर्जना गरेको भन्दै अहिलेका प्रवेशहरू ट्रेलर मात्र भएको दाबी गरिरहेका छन्। मधेशका जिल्ला सदरमुकामको सडक विस्तारदेखि ठूला पूर्वाधारको सुरुवात आफूले गरेको ओलीले बताउँदै आएका छन्।
मधेश प्रदेशमा मात्रै नभएर पश्चिम तराईमा पनि एमालेले अन्य दलका प्रभावशाली नेता तथा जनप्रतिनिधि पार्टी प्रवेश गराएर आफ्नो प्रभाव बढाउने रणनीति बनाएको छ। केही समयअघि कपिलवस्तुबाट मंगल गुप्ता, बाँकेबाट पशुपति दयाल मिश्रसहित नेताहरू एमालेमा प्रवेश गरेका थिए।