टेम्केमैयुङ गाउँपालिकाको ‘एक वडा एक उत्पादन’ कार्यक्रम

  सिलिचुङ सम्बाददाता

 

टेम्केमैयुङ गाउँपालिकाको बाह्रौं गाउँसभा । तश्विर, सिलिचुङ

 

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले गाउँपालिकाका ९ वटै वडामा ‘एक वडा एक उत्पादन’ कृषि पकेट क्षेत्र कार्यक्रमका साथ आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न १२ औँ गाउँसभाबाट गाउँपालिकाका लागि उन्नत कृषि कार्यक्रम ल्याएको हो ।

 

कृषि पकेट क्षेत्र कार्यक्रम अन्तर्गत एक वडा एक उत्पादन कार्यक्रमसंगै शिक्षा, भौतिक पूर्वाधार, पर्यटन, खानेपानी र सुरक्षित आवासका कार्यक्रमलाई पनि बजेटले सम्बोधन गरेको छ ।

गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सामाजिक सुरक्षा भत्ता बाहेक आर्थिक वर्ष २०७९/८० का लागि कुल ५१ करोड २७ लाख एकहजार सातसय ६० रूपैयाँ बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । जसमा ३० करोड १९ लाख ५३ हजार ससर्त अनुदानतर्फको बजेट विनियोजित छ । जसमा २१ करोड ७ लाख ४८ हजार सातसय ६० रूपैयाँ पुँजीगत बजेट छ । भूगोलको आधारमा गाउँपालिकाले कृषि बालीलाई वर्गीकरण गरि पकेट खेतीमा जोड दिएको बताएको छ । भूगोल अनुरुप नै गाउँपालिका क्षेत्रका कृषि र कृषकका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेर लैजाने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

अध्यक्ष बस्नेतले भने, ‘हाम्रो बजेटको पहिलो प्राथमिकता यहाँको कृषि प्रबद्र्धन हो, यसैलाई आत्मसाथ गर्दै कृषिमा नमूना गाउँपालिका बनाउने हाम्रो लक्ष्य हो ।’ गाउँपालिकाले स्थानीय बालीको संरक्षण तथा कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ तेल उत्पादनका कार्यक्रममा जोड दिने भएको हो । तोरी, रायो, सस्र्यूँ, सूर्यमुखीको बालीमा जोड दिने उनले बताए ।

कृषिसंगै, शिक्षा, भौतिक पूर्वाधार, पर्यटन, खानेपानी र सुरक्षित आवासका कार्यक्रमलाई पनि बजेटले सम्बोधन गरेको छ । गाउँसभा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष रमा राईले कृषि क्षेत्रसंगै नेपालको एकसय पर्यटकीय गन्तव्यमा सुचिकृत मुन्दुम पदमार्ग (टेम्केडाँडा) लगायतका पर्यटन प्रबद्र्धनलाई पनि विगतका वर्षमा झैँ निरन्तरता दिँदै लैजाने बताईन् । ‘हाम्रो पहिलो प्राथमिकता कृषि हो र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौँ । त्यसपश्चात भने पर्यटनलाई आर्थिकोपार्जनको मुख्य श्रोत बनाउने अर्को लक्ष्य हो’ उपाध्यक्ष राईले भनिन् । यसका साथै गाउँसभामा टेम्केमैयुङ गाउँपालिकाको विषयगत समिति कार्य सञ्चालन कार्यविधि २०७९, खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९, वन व्यवस्थापन सम्बन्धमा बनेको विद्येयक २०७९, कृषि तथा पशुपंक्षी ऐन २०७९, अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा सञ्चालन ऐन कार्यविधि २०७९ र विधायन समिति गठन तथा सञ्चालन कार्यविधि दोस्रो संशोधन २०७९ गरि ६ वटा विद्येयक पनि प्रस्तुत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार