‘गाउँपालिका क्षेत्रका महिला वर्गलाई आत्मनिर्भर बनाएर महिला सशक्तिकरण गर्नु मेरो लक्ष्य हो’ : उपाध्यक्ष रमादेवी राई

 

 

भोजपुर जिल्लाको पश्चिमी भेगमा अवस्थित टेम्केमैयुङ गाउँपालिका विकासको दृष्टिकोणले जिल्लाको अब्बल स्थानीय तह हो । प्राकृतिक, साँस्कृतिक, आर्थिक, पर्यटकीय हिसाबले पनि यो गाउँपालिका अन्य ९ स्थानीय तहमा अगाडी छ । दुई बर्ष अघिमात्रै गाउँपालिकाले ‘उज्यालो गाउँपालिका’ घोषणा गरेर अँध्यारोमुक्त बस्ती बनायो । जुन एक उदाहरणीय कामको थालनी गरेको छ । महिला सशक्तिकरणका विषयबस्तुमा आधारित रहेर गाउँपालिका उपप्रमुख रमादेवी राई संग सिलिचुङ अनलाइन डटकमका प्रधान सम्पादक प्रदिप चन्द्र राईले गरेको कुराकानीः

गाउँपालिकाको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएर काम गरिरहँदा कस्तो अनुभव गरिरहुन भएको छ ?

निर्वाचित भएर आईसकेपछि हाम्रो काँधमा टेम्केमैयुङबासी जनताको अपेक्षा र जिम्मेवारी थपिएको छ । विषयगत योजना लगायत विभिन्न कानूनी प्रक्रियागत बुझेर गाउँपालिकाका कामहरु गर्नुपर्ने अवस्था छ । निर्वाचन बर्ष भएकाले सम्पूर्ण कुराहरुलाई मध्यनजर गरेर सम्पन्न भईसकेका योजनाहरुको भुक्तानी गर्ने कामहरु चलिरहेको छ ।

महिला सशक्तिकरणका लागि के गर्न सकिएला ? आगामी के योजना छन् ?

पहुँचका हिसाबले सबै क्षेत्रमा महिलाको उपस्थिती पुरुषसरह पुग्न सकेको छैन । त्यसका लागि सबैभन्दा पहिला महिलाहरुलाई शिक्षाको पहुँच दिनुपर्छ । सचेत गराउनुपर्छ । मेरो पहिलो लक्ष्य महिलाहरुलाई आत्मनिर्भर बनाउने हो । महिलाको श्रमको मूल्य हुनुपर्छ । जबसम्म महिलाहरु आफ्नो आर्थिकस्तर सुधार्न सक्दैन तबसम्म बोल्न सक्दैन ।
एकदिन बोलाएर, तालिम दिएर, भत्ता दिएर मात्र महिला सशक्तिकरण हुँदैन । उनीहरुलाई काम गर्न सक्छु भन्ने भित्री आत्मबल बाहिर ल्याउन सक्ने बनाउनु नै महिला शसक्तिकरण हो । मैले सर्वेक्षणका लागि एउटा वडामा १० जना महिलाले उत्पादन गरेको कृषि तथा सिप उपजलाई बजारीकरण गरिदिने व्यवस्था गरेर त्यस क्षेत्रमा अन्य महिलाहरुलाई प्रोत्साहन गर्ने सोच बनाएको छु । उनीहरुलाई आर्थिक रुपमा सबल बनाउने, विद्यालय विद्यालयमा पुगेर सचेतनाका कार्यक्रम गर्ने जसले महिला आँफैलाई स्वालम्बी र आत्मनिर्भर बनाउने मेरो लक्ष्य छ ।

महिला लक्षित गाउँपालिकाका कार्यक्रमहरु कस्ता के छन् ?

विशेषगरि लक्षित वर्गका लागि कार्यक्रमहरु ल्याएका छौँ । महिला सिप विकास तालिम, एकल महिला व्यावसायीकरण तालिम लगायतका महिला लक्षित कार्यक्रमहरु ल्याएका छौँ । जुन उद्देश्यले सरकारले ल्याएका कार्यक्रमलाई आत्मसाथ गर्र्दै हाम्रो गाउँपालिकाले पनि महिला लक्षित कार्यक्रमहरु सम्पन्न गर्ने तयारी छ ।

आगामी चालू आर्थिकवर्षमा बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरु कस्तो छ ?

सरकारको सबै क्षेत्रमा आर्थिक, सामाजिक, राजनीतिक हिसाबले जुन तहमा पहुँच पुग्न नसकेको स्थितीमा स्थानीय तहले ती लक्षित कार्यक्रम पु¥याउने हाम्रो काम हो । बाल लक्षित कार्यक्रम अन्र्तगत उपलब्धिमूलक भएको छ वा छैन त्यसको अनुगमन गर्ने हाम्रो काम हो ।
एउटा बालक्लब, एउटा बाल संस्था, ज्येष्ठ नागरिक उत्थान कार्यक्रमका नाममा बजेट लगानीअनुसार सचेत नबन्नु, उपलब्धिविहिन बन्नु अहिलेको समस्या हो । यसलाई सफल तरिकाले कार्यान्वयन गर्नका लागि गाउँपालिकाले कार्यविधि बनाएरै अगाडि लैजाने तयारीमा छाँै ।

महिला पदमा रहेर पुरुषसरह काम गरिरहँदा कस्तो लाग्छ? लैगिंक समानताका विषयमा तपाईको धारणा के छ ?

बौद्धिक हिसाबले पुरुषसरह काम गर्न सक्षम छु । प्रतिस्पर्धा गर्न सक्छु । यसको हेक्का म लगायत सम्पूर्ण महिला वर्गले लिनुपर्ने स्थिती छ । शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक हिसाबले योग्य महिलाहरु छ । तर समाजमा नेतृत्वमा महिलालाई चयन गर्न चाहन्छ कि चाँहदैन त? यो समस्या छ ।
कुनैपनि राजनीतिक पार्टीले कुनैपनि स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी दिएर देखाउन सक्छ त ? यो मेरो चुनौती हो । हामी प्रतिस्पर्धा गर्न सक्छौँ, हामीलाई नेतृत्व दिएर हेर्नुस् भन्न चाहान्छु । महिलाहरु पनि पुरुषसरह का मगर्न सक्षम छन्, त्यसका साथै उनीहरुलाई सामाजिक रुपले पुरुषसरह नेतृत्व र अवसर प्रदान गरिनु चै लैगिंक समानता हुन सक्छ ।

भिडियो अन्र्तवाताः

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार