संगीत शिक्षाका लागि बेलायत आएको हो : विसी राई

विसी राई बेलायतमा बसेर नेपाली गीत संगीतको विकासमा लागिरहने गायक तथा संगीकार हुन । दुईदशक भन्दा बढि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय गायक राईको बसाई बेलायतमा नै छ । बेलायत बसाई र बेलायतमा नेपाली गीत संगीत विकासमा उनले चालेको कदम सबैका लागि सह्रानीय छ । बेलायतमै संगीत बिषयबाट स्नाकोत्तर गरेका राई निरन्तर संगीत साधनामा छन । ८ वटा भन्दा बढि एल्बम निकाली सकेका राईले अन्य दर्जनौं गीत गाईसकेका छन भने धेरै संख्यामा संगीत भरिसकेका छन । मुलत :पप, रक र आधुनिक गीत गाउने विसी राईलाई संगीतको राम्रो ज्ञान छ । बेलायतमा नेपाली गीत संगीतलाई जीवन्त बनाउन उनले गरेको प्रयासहरुलाई सबैले प्रशंसा गर्दै आएका छन । संगीत साधनालाई निरन्तर दिने सोच बनाएका गायक तथा संगीतकार विसी राईको संगीतिक जीवन र आगमी यात्राबारे किरण राईले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

 

१. दुई दशकभन्दा लामो समयदेखि निरन्तर संगीत साधनामा हुनुहुन्छ । यति लामो समयसम्म संगीत क्षेत्रमा समय विताउदै गर्दाको अनुभव बताईदिनुहोस न ?

समय दुई दशक लामो भएता पनि परदेशमा मेरो संगीत साधना बिरलै छ, बिरलै भएपछि कठिन महशुस हुने कुरा पनि भएन, अनुभबको कुरा गर्नु पर्दा बेलायतमा सांगीतिक तिता मिठा पलहरु त छन् । तर म संगीत मै रमाउने मान्छे, तितो पनि स्वाद नै त हो हा हा हा त्यसैले आफ्नो रहरको प्रतिफल सम्झन्छु । गुनासो पनि छैन ।

 

२. नेपालपछि बेलायतमा पनि निरन्तर आफुलाई संगीतप्रति समर्पित गरिरहनु भएको छ । विदेशमा बसेर पनि नेपाली गीत संगीतलाई कसरी निरन्तरता दिन सक्नुभयो ?

संगीत बिना रहन सकिँन । त्यसैले संगीतमा नै समर्पित भए, कुनै समय यस्तो थियो, जो कोही बिना बाँच्न सक्थे तर संगीत बिना बाँच्न सक्दिन थिए । त्यसैले बेलायतमा बरु काम थोरै गरेर पनि कलाकारिता र सृजनशील कामलाई प्राथमिकता दिए, जागिर थोरै गर्थे थोरै कमाउथे र त्यो कमाई सांगीतिक सामग्री र रचनात्मक काममा खर्च गर्थे । यद्यपी त्यसको प्रतिफल शुन्य नै हुन्थ्यो, तर काम सिक्नलाई पनि निरन्तरता दिन जरुरी थियो ।

 

३. यति लामो सयमसम्म आफुलाई संगीत क्षेत्रमा समर्पित गरि रहनुमा तपाईलाई कुन कुराले उत्साहित बनायो या तपाईको इच्चा शक्तिले भर गर्‍यो ?

सत प्रतिशत सहि, इच्छा शक्ति नै हो । इच्छा नै सबथोक हो । अनि अर्को पक्ष संगीत शिक्षा कै लागि बेलायत पनि आएको थिए । पैसा कमाउनका भने पटक्कै होइन । बेलायतमा संगीतमा स्नाकोत्तर गरिसकेपछि त झन् धेरै उत्साहित भए, सांगीतिक जोस थियो र अझै झन् धेरै छ ।

 

४. नेपालमा रहदाँ तपाईका गीतहरु रेडियो र टेलिभिजनहरुमा आम दर्शकहरुले सुन्न र हेर्न पाए । नेपाल छाडेर बेलायत बस्नु थाल्नु भए पनि तपाईले धेरै संख्यामा गीतहरु गाउनुभयो । तर कतिपय ती गीतहरु भने आम दर्शकहरु सामु पुग्न सकेन । आम नेपाली दर्शक स्रोताहरु समक्ष पुर्‍याउन तपाईले ध्यान दिनुभएन या अन्य कारणले भएन । यसबारे बताई दिनुहोस न ?

हो, एक ताका मेरो गीत नेपालमा सुनिन्थ्यो, टेलिभिजनहरुमा आउथ्यो, त्यो गीत समय सापेक्ष थियो । त्यस्तो गीतको लहर पनि थियो । पछि बेलायतमा आएर पनि गीतहरु धेरै गाए तर यो दुई दशकमा सांगीतिक प्रचार प्रसारका मध्यमहरु धेरै परिवर्तन पनि भए र अर्को महत्वपुर्ण पक्ष भनेको बेलायतमा नेपाली संचारकर्मीहरु थोरै छन् र जति छन् उहाँहरुसंग या त म पुग्न सकिन या त उहाँहरु म संग पुग्न सक्नु भएन । बेलायतमा नेपाली श्रोतासम्म पुग्नलाई मैले सक्ने सम्म त गरेकै हो । तर, मैले ढाँटनु हुदैन, प्रमोशनको लागि नेपालतिर नेपाली मिडियातिर ध्यान दिने काम भने पटक्कै गरिन । तर बेलायतमा त गरेकै हो । प्रमोशनतिर ध्यान नदिएकै कारण आफ्नो सिर्जनाहरु श्रोता सामु पुग्न सकेन त्यसैले अनेक सिर्जनाहरु आफ्नै कम्प्युटरभित्रै सीमित रहे । तर अब छिट्टै मेरो केही कामहरु बाहिर ल्याउने छु । सायद यसपाली नेपाल पनि जान्छु, तपाईहरुको सहयोगको आशा राखेको छु ।

५.अहिलेसम्मको अनुभवलाई हेर्दा आफुले सिर्जना गरेको गीतहरु आम दर्शक सामु सोचे जसरी पुग्न र चर्चामा आउन नसक्नुको कारणहरु के जस्तो लाग्छ ? या चर्चामा ल्याउनका लागि खासै चासो दिनुभएन ?

चर्चा-चासोको कुरा गर्नुभयो । कलाकारिता त सकारात्मक चर्चा हुन् । यसको चर्चा सम्मानजनक हुन्छ, चर्चा भए राम्रो हो, तर म चर्चा भए पनि नभए पनि गीत नगाएसम्म बस्न सक्दिन । म चर्चा पाउनलाई गीत गाउँदिन । चर्चाका लागि गाउने व्यक्तिलाई म अवसरवादी भन्छु, जो सिर्जनाका लागि दिर्घकालिन हुन्न । त्यसैले चर्चा नभनौं, बरु अर्को शब्दमा भन्नु पर्दा मलाई आफ्नो गीतहरु सम्पूर्ण श्रोताहरुलाई सुनाउन मन लाग्छ ।
त्यसो त कलाकार त्यै व्यक्ति हो, जसलाई आफ्नो कलाको प्रदर्शन गर्न, सुन्न, सुनाउन मनपर्छ, आफ्नो कलाको मुल्याङकन गरियोस बरु तर चर्चा नै पाउनुपर्छ भन्ने लाग्दैन, साचिनै ।
अनि श्रोता सामु पुग्न मैले नचाहेको पनि हैन तर तरिका नपुगेको हुन सक्छ, हा हा हा……संगीत सिर्जना गर्नु या कलाकारिता एउटा कुरा ,त्यसको प्रबद्र्धनको कला अर्को कुरा जो म मा शुन्य छ, अब यो कला सिक्न बाँकी छ, हा हा हा…. र अर्को कुरा अघि भनि हाले बेलायतमा नेपाली मिडिया पनि कम छन्, श्रोताहरु पनि कम, :प्रचारप्रसार बिना श्रोताहरु सामु पुग्न सकिन्न, यो पनि थाह छ, हामीलाई तपाईहरु जस्तोलाई संचारकर्मीहरु व्यापक चाहिन्छ, यो पनि थाहा छ तर एकचोटी भन्दा धेरै अनुरोध गर्न पनि सक्दिन ।

 

६. संख्यात्मक हिसावमा तपाईका गीतहरु बजारमा कति आए । भन्नुपर्दा कति संख्यामा आम दर्शक स्रोता सामु तपाईले पुर्‍याउनुभयो ?

गीतको संख्या को के कुरा भो र साह्रै धेरै पनि छैन, नगरेको पनि हैन, आफ्नो र सहकार्य गरी ८ वटा एल्वमहरु गरे तर बजारमा प्रचारप्रसारहरु अनि श्रोताहरु सामु प¥याउने काम अलिक गरिएन । कति गीतहरु अनुभब कै लागि पनि गरिएको थियो । तर २÷४ वर्ष यता धेरै नै कामहरु गरिरहेको छु, जुन गीतहरुलाई भबिष्यमा पूर्ण कोशिस गर्ने छु श्रोताहरु सामु पुर्‍याउनलाई हेरौ ।

 

७. संगीत साधाना गर्दा होस या गीत गाउँदा आफुलाई कस्तो अनुभुती गर्नुहुन्छ ? संगीतले तपाईको जीवनमा कस्तो प्रभाव पारिरहेको छ ?

खुशी लाग्छ, मन आनन्दित हुन्छ, एउटा गीत बनाई सकेपछि आफुले सुन्दा सुखको अनुभुति हुन्छ । कहिले कँही झन् कुनै कुनै गीतका शब्दले जिन्दगीका यथार्थ र बास्तबिकताहरुलाई बर्णन गरिदिन्छ त्यति बेला कहिले भाबुक हुन्छु, कहिले हर्षित अर्थात जीवन सबै पलहरुलाई आत्मासाथ् गरेको हुन्छु ।

 

८. यति लामो समय नेपाली संगीतमा विताउनुभयो ? लामो समय संगीतमा विताउदाँ संगीतिक सफलताको हिसावमा आफुलाई कहाँ र कुन अवस्था पाउनुहुन्छ ?

सांगीतिक यात्रा लामो भएता पनि आफुलाई संगीत प्रति सफलता हासिल गरेको रत्तिभर पनि आभाष हुदैन, अर्थात सफलता पाँए भन्दिँन, तर आत्मा सन्तुष्टीको आधारमा सत–प्रतिशत सन्तुष्टी छु, किनकि सरल भाषामा सांगीतिक काम मैले चाहेको जति सबै गर्न सक्छु र जति गर्छु र गरेको छु, सन्तुष्ट छु ।

 

९.तपाईले मुख्य रुपमा गाउने आधुनिक गीत नै हो ? त्यो बाहेकका कुन गीत गाउनुभएको छ ? कस्तो खालको गीतहरु गाउँदा आफुलाई आनन्दित महसुश गर्नुहुन्छ ?

खास मैले गाउन मन पराउने गीत त पप, रक, फ्ल्कपप बरु अत्यधिक ब्लुज म्युजिक मन पराउँछु संगीतको सुरुवातमा त पप गीतहरु गाउथे, आधुनिक त पछिल्लो समयमा गाउनै पर्ने भयो त्यसैले, केही सेमी–गजल गीतहरु पनि गाउनै प¥यो कारण शब्दको माग थियो । वास्तबमा मलाई त नेपाली लोकभाकाका गीतहरु पनि धेरै मन पर्छ ।

 

१०. बेलायतमा नेपाली गीत संगीत विकासमा तपाईको योगदानको प्रशंसा र चर्चा गर्ने गरिन्छ । बेलायतमा नेपाली गीत संगीत उत्थानका लागि भावी दिनमा कुनै योजना बनाउनुभएको छ ?

धेरै थोरै काम गरे त्यसैले थोरै संगीतप्रेमी व्यक्तिबीच थोरैले बिसीले गीत गाउँछ, बजाउछ, बनाउछ भनेर बुझछन, चिन्छन, यसलाई के योगदान भन्नु र हा हा हा…..अनि बेलायतमा नेपाली संगीतको बिकासको के कुरा गर्नु, यहाँ नेपाली संगीतको बिकास पनि हुदैन मलाई यस्तो लाग्छ, संसारमा त्यस्तो कहीँ पनि भएको छैन । जुनै पनि देशमा त्यही देशको गीत संगीतको मात्रै बिकास हुन सक्छ किन कि संगीतको सम्बन्ध भनेको त्यो देशको माटो, हावा पानी, भेषभूषा, भाषा, संस्कार सस्कृतिसंग जोडिएको हुन्छ, यस अर्थमा नेपाली गीत संगीतको बिकास बेलायतमा हुन्छ भन्नु कुन आधार मा ? पश्चिमा गीतहरुको संसार भरी बर्चस्व छन् तर पनि नेपालमा पश्चिमा शैली गीतको बिकास भएको छ र ? हामी त स्टाइल मरी मरी कपी गर्ने मात्रै हो, थुप्रै छन् नेपालमा पश्चिमा शैलीका गीत मात्रै हैन पुरै अंग्रेजी गीत गाउने राम्रा कलाकारहरु हुनुहुन्छ । तर उहाँहरुको बिकास त्यहाँ भएको जस्तो लाग्दैन । रुचि मात्रै हो, रुचि राख्नु नराम्रो भन्दिँन, अब हामीले नेपाली गीत संगीतको बेलायतमा बिकास के गर्नु र ? अनि बिकास के हुन्छ ? नकरात्मक नलिनु होला यहाँ हामी केही कलाकारहरुले २÷४ वटा गीत गाउँदा बिकास भएको सम्झिने हो भने ठिकै छ, नत्र मेरो लागि यहाँ नेपाली संगीतले बर्चस्व कायम गर्छ कुनै पनि समयमा ? यस्तो लाग्दैन कदापि किनकि मेरो लागि बिकास भनेको अनन्त र असीमित हुन सक्नु हो, बर्चस्व कायम गर्न सक्नु हो, जो असम्भव ।
यसर्थ, अब बेलायतमा नेपाली गीत संगीतको उत्थान त हैन बरु बेलायत मै बसे ता पनि संगीत भने नेपालकै लागि गर्छु भन्ने भाबी योजनाहरु छन् ।

 

११. अन्त्यमा तपाईको भावी संगीतिक यात्राको योजना के छ ? कसरी भावी सांगीतिक यात्रालाई अगाडी बढाउने सोचमा हुनुहुन्छ ?
यात्रा निरन्तर छ, गीत संगीत अर्थात सिर्जनाका कामहरु अनि प्रोडक्सनका कामहरु भैरहेको छ तर यसपाली यी सबै गीतहरुलाई भबिष्यमा नेपालमै गएर नेपाली दिग्गजहरुलाई सुनाउछु आफ्नो काम देखाउछु, मैले यस्तो काम गरेको छु भनेर उहाँहरु सामु प्रस्तुत गर्छु भन्ने योजना राखेको छु, बेलायतमा पनि गर्छु होला तर मुख्यतय धेरै थोरै जे जति भए पनि नेपाल मै गर्छु अब का प्रमोशनहरु भन्ने लागेको छ हेरौ कति सम्म सफल हुन्छु ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार