‘सिंगो वडालाई नै समृद्ध, सुखी र प्रगतिन्मुख बनाउने मेरो एउटै लक्ष्य हो’ वडाअध्यक्ष राई

 

 

संघियतापछिको तीनै तहका सरकारको पहिलो पाँचवर्षे कार्यकाल पुरा भएर दोश्रो अवधि चलिरहेको छ । संघियतापछि गाउँगाउँसम्म केन्द्रिकृत विकासे लहर पुगेको छ । पूर्वाधार निर्माणमा वर्षेनी लगानी बढ्दो छ । विगतको संरचनाको तुलनामा स्थानीय तहमा विकासे कामहरु चलमलाएको देखिन्छ । अहिले वडा तहबाटै जनताका सरोकारका कुराहरु बाहिर आएका छन् । जसमा जनताको प्रत्यक्ष सहभागिता पनि छ । पहिलेको तुलनामा उनीहरु अहिले विकासलाई नजिकबाट नियाल्न पाएका छन् । धेरै सपना पुरा भएका छन् त धेरै पुरा हुने क्रम चलिरहेको छ । गाउँ गाउँमा सडक, विजुली, खानेपानी जस्ता पूर्वाधारको प्रत्यक्ष अनुभूति गर्न पाएका छन् । साथसाथै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सूचना तथा सञ्चारका क्षेत्रमा भएको विकासले उनीहरु लाभान्वित पनि बनेका छन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको वडा नं ५, खावा प्राकृतिक, जैविक विविधता र हावापानीको दृष्टिले महत्वपूर्ण क्षेत्र हो । यहाँ कृषि, जलश्रोत, पर्यटकीय जस्ता दृष्टिकोणले प्रशस्त सम्भावना बोकेको स्थान मानिन्छ । उक्त वडाका वडाअध्यक्ष सुनिल राई पनि आफ्नो वडाको सम्पूर्ण विकासे सपना बोकेर दिनरात खटिरहेका छन् । समृद्ध वडा बनाउने सपनालाई साकार बनाउन तल्लिन छन्, उनी । यीनै समसमायिक विषयमा रहेर उनीसंग सिलिचुङ डटकमले गरेको कुराकानीः

पहिलो कार्यकाल कस्तो रह्यो?
सुरुवाती चरणमा नयाँ अनुभव भएकाले कतिपय अवस्थामा हामी कार्यविधि अनुसार काम गर्न असजिलो बन्यो । पहिलो ५ वर्षमा धेरै जिम्मेवारीहरु आए । गाउँस्तरमा जनअपेक्षित कामहरु पनि भएका छन् । अहिले पनि जनताले चाहेका विकासे कामहरु चालू अवस्थामै छन् । अबको बार्की कार्यकालमा अधुरा सम्पूर्ण जनताको हितअनुरुप विकास गर्नेमा हामी अघि बढिरहेका छौँ ।

जनअपेक्षित कुन विकासे कामले पूर्णता पाएको छ? र अहिले कस्तो अवस्थामा छ?
जनअपेक्षित विकासको सन्दर्भमा हाम्रो वडाका हरेक टोल, बस्तीमा कृषि तथा मुख्य सडकको पहुँच पुर्याईएको छ । वडाक्षेत्रमा करिब ९ किलोमिटरको मुख्य कृषि सडकखण्डको सोलिङ र नाली काटी बाहै्रमहिना चल्नेगरि स्तरोन्नती गरिएको छ । त्यसमा करिब साढे ७ किलोमिटर सडकसञ्जालहरु स्तरोन्नती र नयाँ ट्रयाक खोल्ने काम भईरहेको छ । यहाँको कृषि उत्पादन र यातायातलाई लक्षित गरी आगामी आर्थिक वर्षभित्र कालोपत्रेबाहेक वडाको सम्पूर्ण कृषि सडकहरुको स्तरोन्नतीको कामले पूर्णता पाउनेछ ।

भौगोलिक र हावापानीको हिसाबले कृषि क्षेत्रमा वडाको कस्तो लगानी छ?
विशेषगरि हिउँदे र बर्षे बालीको रुपमा धान, गहुँ, मकै आदिको खेती हुँदै आएपनि हावापानी र भूगोल अनुकुल सुन्तला, कागती, किबी, एभोकार्डो जस्ता व्यावसायिक नगदेबालीको अवधारणा ल्याएका छौँ । जसका लागि वडाले पूर्वाधार सिँचाई सम्बन्धि नीति ल्याई आधुनिक उपकरण र पकेट क्षेत्र बनाएर व्यावसायिक खेतीमा जोड दिने, वडाबासीलाई व्यावसायिकन्मूख बनाउने लक्ष्य लिएको छ र काम अघि बढेको छ ।
जसमा साविकको १, २, ३ र ९ वडा क्षेत्रमा मुख्य नगदेवाली सुन्तला, कागती र एभोकार्डोलाई र साविकको ४, ५, ६, ७ र ८ वडा क्षेत्रमा किबी, जडिबुटिलाई व्यावसायीकरण गर्ने कार्यक्रमहरु अगाडि लैजाने योजना छ । यसैवर्ष किसानको साझेदारीमा वडाले साविकको ७ र ८ वडाक्षेत्रलाई किबीखेतीको पकेट क्षेत्र निर्धारण गरि रु ३ लाख बराबरको किबीको विरुवा वितरण गरेको छ । आगामी योजनामा भूगोल, हावापानी अनुसारका सुन्तला, कागती, किबी, एभोकार्डो लगायतका नगदेबालीको सम्भाव्यता अध्ययन गरेर पकेट क्षेत्र बनाईनेछ ।

वडाक्षेत्रभित्र कस्ता पर्यटन प्रबद्र्धनका सम्भावनाहरु छन् र योजनाहरु के छन्?
हाम्रो वडाको क्षेत्रमा पर्ने बहुचर्चित पर्यटकीय गन्तव्यको रुपमा रहेको टेम्केडाँडाको प्राकृतिक विकास र प्रर्बद्धनमा गर्दैछाँै । किँरात राईहरुको साँस्कृतिक महत्व जोडिएको टेम्केडाँडालाई पर्यटकीय हब बनाउनेमा हामी अग्रसर छौँ ।
संगसंगै मुन्दुम पदर्मागसंग नजिक रहेको मझौलेस्थित शेर्पा समुदायको जातीय तथा साँस्कृतिक पहिचान बोक्ने शेर्पा गुम्बा, हिन्दु धर्मालम्बीहरुको कृष्ण पञ्चायन मन्दिर र रमितेडाँडालाई पर्यटकीय केन्द्र बनाउन आवश्यक पूर्वाधार विकास र प्रबद्र्धनमा जोड दिँदैछौँ । पर्यटकीय आकर्षणको सम्भावना रहेकाले उक्त गुम्बा र मन्दिर क्षेत्रलाई विस्तार गरेर धार्मिक पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य छ ।
यस्तै पर्यटन प्रबद्र्धनलाई जोड्न रमितेडाँडा पर्यटकीय हब र होमस्टेको रुपमा अवधारणा अघि सारेका छौँ । जसमा वडा तथा गाउँपालिकाबाट बजेटिङ गरेर पर्यटकीय आर्कषणका पूर्वाधार निर्माणको थालनी गर्नेछ । हाम्रो लक्ष्य नै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने हो । आर्थिकोपार्जनको प्रशस्त सम्भावना रहेकोले यी पर्यटकीय क्षेत्रहरुमा वडाको पूर्ण लगानी हुनेछ ।

तपाईको वडामा फुसको छानोमुक्त अवधारणा कसरी अघि बढेको छ?
हाम्रो गाउँपालिकाको केहि वडाहरु फुसको छानोमुक्त बनिसकेका छन् । हाम्रो वडा पनि आगामी २ वर्षभित्र वडालाई फुसको छानोमुक्त बनाउने प्रतिबद्धता गरेको छु । वडाबाट अनुदान र छानो निर्माणका कामहरु निरन्तर अघि बढेकाले आउँदो दुईवर्षमा वडाका सबै फुसको छाना भएका घरहरु फुसको छानोमुक्त बनाउनेछु ।

वडाबासी के सन्देश दिन चाहानुहुन्छ?
मेरो वडालाई समृद्ध र सुखी बनाउने नै मेरो पहिलो प्राथमिकता र लक्ष्य हो । मेरो वडाबासीलाई म के विश्वास दिलाउन चाहान्छु भने बजेट र यहाँहरुको साथ सहयोग भए मेरो कार्यकालमा वडालाई विकास र समृद्ध बनाउने अठोट गर्न चाहान्छु । स्थानीय तहको वडा तह भएकाले बजेट पर्याप्त नहुँदा काममा अड्चन आईरहेका हुन्छन् । भनेजति योजना समेट्न नसकिरहेको अवस्था छ । आउँदा दिनमा बजेट पर्याप्त भएको खण्डमा सिंगो वडालाई आवश्यक पूर्वाधारयुक्त बनाउने योजना छ । यसका लागि हामी जनप्रतिनिधीलाई नागरिकको साथ सहयोग मिले वडालाई सोचेअनुरुपको बनाउन सक्नेछौँ ।
यसका साथै अबको लक्ष्य भनेको वडाका नागरिकलाई व्यावसायिक, आत्मनिर्भर बनाउने, सिपयुक्त बनाउने, सहुलियत र समय सुहाउँदो उपकरण वितरण तथा तालिम दिँदै वडाका प्रत्येक गाउँटोलमा शिक्षा, स्वास्थ्य, सूचना प्रविधि तथा आवश्यक पूर्वाधारहरुको पहुँच पुर्याईनेछ । वडाका बेरोजगारहरुलाई विकास निर्माणसंग जोड्दै रोजगार प्रदान गरिनेछ । साथै वडाका विपन्न परिवारलाई व्यवसायिक बनाउन वडाले लगानीकर्ता संघसंस्थाहरुसंग समन्वय र पहल गरि लगानीको वातावरण सिर्जना गरिदिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार