भोजपुरका किसानलाई सँधै बाँदरकै दुःख

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । पाकेको अन्नबालीमा जंगली बाँदरको विगविगीले भोजपुरका अधिकांश क्षेत्रका किसानहरु वर्षेनी सास्ती खेप्न बाध्य छन् । खेतबारीमा लगाएका मकैबाली सखाप पार्नाले किसानलाई हैरानी हुने गरेको छ ।
पाकेको मकैबाली सिध्याउने, च्यातिदिने, विगारिदिने जस्ता जथाभावी बिज्याँई गर्न थालेपछि सास्ती बढाएको स्थानीय किसानहरु सुनाउँछन् । भोजपुर नगरपालिका ५ बोखिम मुडेका स्थानीय पर्कट कार्कीका अनुसार दुईसयदेखि तीनसयको हाराहारीमा आउने बाँदरको हुलले पाकेका मकैबाली नष्ट गर्ने गरेको बताए । ‘यतिबेला खेतबारीमा लगाएको मकैबाली पाकेको छ, पालैपालो हामी गाउँले किसानहरु दिनरात साँझविहान रुँघ्नै पर्छ । नत्र त सखापै पार्छ ।’ उनले भने, ‘स्त्री महिला, बुढाबुढि र बच्चाहरुलाई टेर्दैन, उल्टै चिर्थन आउँछ । बाँदरकै दुःखका कारण घरदेखि गाउँसम्म निस्कन पनि सकिँदैन । हैरान बनाईसक्यो’

विगतका वर्षहरुमा गाउँमा बाँदर कमै लाग्ने भएपनि पछिल्ला केहिवर्षमा टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिकाका सिक्तेल खोला, कोट, लेखर्क, गोगने र ओख्रे लगायतका केहि भेगहरुमा बाँदरकै कारण बसाई गएपछि गाउँमा बाँदरको संख्यामा बृद्धि आएको स्थानीयहरु बताउँछन् ।

टेम्केमैयुङ गाउँपालिका ५, खावा, केराबारीका भगतमान राईलाई पनि वर्षेनी मकैबाली जोगाउन चिन्ता पर्छ । उनले दुईवर्ष एकदाना पनि मकै भित्राउन पाएनन् । बाँदरले १४ रोपनीको मकै सखाप पारेपछि घरमा एक गेडा अन्न पनि भएन । अहिले पनि उनी मकैबारीमै दिनरात पहरा दिन्छन् । बाँदरले हैरान दिएपछि वैकल्पिक समाधानका लागि खोर बनाउने, बुख्याचा राख्ने समेत गरे । तर पनि कुनै डेग चलेन । हैरानी उस्तै छ ।
‘पोहोरसाल पनि बाँदरले मकै नै भित्रिन दिएन, आसपासका गाउँमा पनि बाँदर आतंक धेरै छ, कतिबेला आउँछ र बाली खान्छ पत्तै हुन्न’ उनले भने, ‘दिनभर रातभर मकैलाई पहरा दिँदै वित्छ, अरु कामै गर्न पाईन्न, खाना खानेबेला पालो गर्नुपर्छ’ महिला र बालबच्चालाई घर छाड्न सुरक्षा नहुने भएपछि बसाई जानुको विकल्पबाहेक अरु नभएको रामप्रसाद राई गाउँपालिका ४, दलगाउँकी जुना दर्जी सुनाउँछिन् । ‘घर बसौँ न अन्न राखिदिन्छ, न सामान नै । ग्वारग्वार्ती पस्छन् । खेत गयो बाँदर घर आयो बाँदर’ उनले भनिन्, ‘जताततै बाँदरैबाँदर, पक्रिने मार्ने कुनै कानुन पनि छैन । अन्तिममा बसाई नै जानुपर्ने स्थिती बनाएको छ । बाँदर नआउने ठाउँतिर बसाई सर्नुपर्ने स्थिती आएको छ ।’
यस्तै जंगली बाँदर मात्र नभई भालु, दुम्सीले पनि अन्नबालीमा नोक्सानी पु¥याउने गरेको टेम्केमैयुङ गाउँपालिका २, छिनामखु रुमलाका फुर्तेन्जी शेर्पाले सुनाए । पोहोरसाल मात्रै उनको पनि २५ रोपनीमा लगाएको मकै बाँदर र भालुले सखाप पारेपछि हैरानी थपिदियो । गाउँपालिकाले दिएको केहि राहत र ज्यालामजदुरीले कमाएको पैसाले उनले जेनतेन गर्जो टार्ने गरेका छन् । वैकल्पिक रोकथामका लागि उनी अहिले पनि जागाराम बस्ने गर्छन् । भालूले मकै सिद्याउने भएपछि रातभर पहरा दिएरै योवर्षको पनि मकै रुँघ्ने गरेको उनी सुनाउँछन् ।
विगतका वर्षहरुमा गाउँमा बाँदर कमै लाग्ने भएपनि पछिल्ला केहिवर्षमा टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिकाका सिक्तेल खोला, कोट, लेखर्क, गोगने र ओख्रे लगायतका केहि भेगहरुमा बाँदरकै कारण बसाई गएपछि गाउँमा बाँदरको संख्यामा बृद्धि आएको स्थानीयहरु बताउँछन् । बाँदरले मकैको थाँक्रा धानको कुन्यूँ, घरबगैंचाका फलफुल खान आउन थालेपछि स्थानियबासी बढि मार्कामा परेका छन् ।
बाँदर आतंकबाट छुट्कारा पाउन कुनैपनि सरोकारवाला निकायले वेवास्ता गरेको स्थानीय कृषक तिर्थ प्रसाद प्रधानको गुनासो छ । उनले भने, ‘किसानलाई बर्षेनी बाँदरको दुःख छ, अधिकांश समय बाँदर हेर्दै र लखेट्दै वित्ने गरेको छ । तर स्थानीय सरकार र अन्य सरोकारवाल निकायको यसमा कुनै चासो छैन ।’ बाँदरकै कारण बसाई जाने क्रम बढेपछि कयौँ गाउँबस्तीका खेतीयोग्य जमिनहरु बाँजिदै गएको उनले सुनाए ।
जंगली बाँदरले नष्ट गरेको बालीनालीको क्षतिपूर्ति व्यवस्था नहुँदा किसान अझ मारमा पर्ने गरेका छन् । जिल्लाका ९ वटै स्थानीय तहले बालीनालीको क्षतिपूर्ति व्यवस्था गर्न सकेका छैनन् । टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख रमादेवी राईका अनुसार बाँदरको समस्या न्यूनिकरणका लागि खोर व्यवस्थापनमा बजेट छुट्याएपनि क्षतिपूर्तिका लागि कुनै ठोस योजना नभएको बताईन् । ‘बाँदरबाट हुने अन्नबालीको क्षतिपूर्ति व्यवस्थापनका लागि राज्यले नै नयाँ योजना ल्याए हुन्थ्यो, हाम्रो जस्तो ग्रामीण क्षेत्रमा ठुलो बजेट नहुनाले किसानलाई क्षतिपूर्ति दिन सकेका छैनौ’ उनले भनिन्, ‘हाम्रो गाउँपालिकाले बाँदर समस्यालाई हल गर्न खोर व्यवस्थापनका लागि ३ लाख बजेट छुट्याएको छ, खोरबाट नियन्त्रणमा लिईएका बाँदरलाई निकुञ्जतिर लैजाने व्यवस्था गरेका छौँँ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार