नेपालको साख जोगाउने एरिका

र्खरै १९ वर्ष टेकेकी उनको कथा कतै सुनिएको थिएन, अनुहार पनि कतै देखिएको थिएन, तर पनि उनी नेपालको सान बनिन्, उनी अर्थात एरिका गुरुङ । जसले चीनमा भएको एसियाली खेलकुदको कराँतेमा नेपाललाई रजत पदक जिताइन् ।

 

हुन त एरिका नयाँ खेलाडी होइनन् । घरेलु प्रतियोगिता खेलिरहेकी उनका लागि एसियाली खेलकुद दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । यो प्रतियोगिता खेल्नु एक–डेढ हप्ताअघि मात्र उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन् ।

इन्डोनेसियामा भएको वर्ल्ड  सितेरियो कराँतेको च्याम्पियनसीपमा एक स्वर्ण र एक कास्य जितेर उनी उतैबाट १९ औं एसियाली खेलकुद खेल्न हान्झाउ पुगेकी थिइन् ।

 

उनका लागि भने इन्डोनेसियाको च्याम्पियनसिप पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यसको अनुभवले नै एसियाली खेलकुदमा पदक जित्न सकेको उनी बताउँछिन् । ‘इन्डोनेसियामा भएको प्रतियोगितामा हाम्रो गल्ती थाहा भयो,’ उनी भन्छिन्, ‘गल्ती थाहा पाउने मौका मिल्यो । त्यो गल्ची सच्याएर एसियन गेम्समा हामीले राम्रो गरेका हौं ।’

 

क फाइट जितेमा कास्य पदक, दुई फाइट जितेमा रजत र तीन फाइट जितेमा स्वर्ण पदक पक्का थियो । यो बुझेकी उनले पहिलो खेलमा जापानी खेलाडी युजुकी सावाएलाई र सेमिफाइनलमा हङकङकी यान काई होलाई हराइन् ।

 

एरिकाले जसको खेल हेरेर कराँतेको अभ्यास गर्थिन् उनै काजकस्तानकी सोफ्या बेरुल्तसेभा फाइनल भिडन्त भयो । बेरुल्तसेभाको खेलको भिडियो हेरेर टेक्निक सिकेकी एरिकालाई त्यो टेक्निक फाइनलमा काम लागेन । उनी पराजित भइन् र रजतमा रोकिइन् ।

 

‘मेरो तौल समुहमा उनी विश्व च्याम्पियन हुन् । मैले भिडियो खोजेर हेर्दा उसकै आउने हो, त्यो भएर मलाई बेष्ट अफ दी बेष्ट लाग्छ । यसै विश्व च्याम्पियन भइँदैन’, स्वदेश फर्किएपछि  एरिकाले भनिन् ।

 

स्वर्ण जित्ने लक्ष्य सहित म्याटमा उत्रिए पनि आफूले स्वर्णको लक्ष्य भने पूरा गर्न नसकेकोमा एरिकालाई थकथकी लागेको छ । ‘हाम्रो लक्ष्य स्वर्ण थियो, फाइनलमा पुगेपछि त झन् स्वर्ण जित्नैपर्छ भन्ने लक्ष्य थियो तर सकिनँ,’ एसियाली खेलकुदको इतिहासमा नेपाललाई तेस्रो रजत पदक जिताउने उनले भनिन् ।

 

आफूले पछ्याइरहने विश्व च्याम्पियनसँग भिड्दा पनि आफ्नो सानो उमेरको मनस्थिति निकै बलियो रहेको एरिकाले सुनाइन् । ‘खेल्दा मानसिक रुपमा बलियो थिएँ,’ उनले भनिन्, ‘उसलाई देखेर रमाइलो लाग्ने त भइ नै हाल्यो ।’

 

एरिका ६८ केजीको तौल समुहमा सबैभन्दा अग्ली खेलाडी थिइन् । उनलाई उचाइले पनि खेलमा साथ दियो । ‘तौल समूहमा उनको उचाइ पनि उनको सकरात्मक पक्ष हो । उनको हात खुट्टा एकदमै छरितो छन्,’ कुशल भन्छन्, ‘उनले हान्छु भनेर सोच्न नभ्याउँदै खुट्टा चलेको हुन्छ ।’

 

कुशलको नजरमा एरिकाको यो सुरुवात मात्र हो, उनीसँग अझै माथि जाने क्षमता छ । ‘उनी निकै माथि जाने खेलाडी हुन्, तर हाम्रो दुर्भाग्य ओलम्पिकमा कराँते हटाइयो ।’

 

सन् २०२४ को जुलाईमा फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा कराँते समावेश नभए पनि सन् २०२८ को ओलम्पिकमा कराँते समावेश हुने आशामा छन् कुशल । ‘२०२८ को ओलम्पिकमा पनि कराँते छैन भन्ने सुनेको छु,’ उनी भन्छन्, ‘पछि थपिएको खण्डमा उनलाई २०२८ को ओलम्पिकका लागि फोकस गर्नुपर्छ ।’

 

रजत पदक जितेर आएकी छोरी एरिकाले काठमाडौंमा उत्रिए लगत्तै सञ्चार माध्यमलाई अन्तवार्ता दिँदै गर्दा उनकी आमा रत्न भने पछाडिबाट उनलाई चिहाइरहेकी थिइन् ।

 

छोरीसँग खादा लगाउन पाएकी र छोरीलाई दिएका पुष्प गुच्छा समातेर बसेकी रत्नको अनुहारमा छोरीको प्रगति र उनले पाएको माया र सम्मान स्पष्ट देखिन्थ्यो । ‘मेरो छोरी पनि क्यामरा र मिडिया बोल्ने भइ,’ अनलाइनखबरसँग उनले भनिन्, ‘म त निकै खुसी छु ।’

 

धादिङ, निलकण्ठ १३ लाहुरे गाउँमा जन्मिएकी एरिकाले पदक पहिरिने बेलासम्म पनि आफूले जितेको मेडलको देशमा यति ठूलो महत्व हुन्छ भनेर नसोचेको बताइन् ।

उनी भन्छिन्, ‘मैले एउटा फाइट मात्र जितेको सोचेको थिएँ । तर नेपालबाट यति धेरै माया समर्थन पाइन्छ भन्ने थाहा थिएन । अहिले हेर्दा त निकै नै भाग्यशाली र हर्षित छु । एकदमै राम्रो गर्वान्वित अनुभव भइरहेको छ ।’

 

पूरै नेपाली समाज, सरकार र समर्थकबाट पाएको मायाले आफूमाथि देशको आशा र अपेक्षा बढेको अनुभूति एरिकाले गरेकी छिन् । त्यसैले आउँदा दिनमा आफ्नो खेल सुधार्ने र खेलमै केन्द्रित हुने उनी बताउँछिन् ।

 

‘यति धेरै माया र समर्थन दिँदा मबाट अब देशले गर्ने आशा र अपेक्षा पनि बढेको होला,’ उनले भनिन्, ‘अपेक्षा बढे अनुसार मैले पनि मेरो खेल सुर्धानु पर्छ । मेहनत त गर्नै पर्छ ।’

 

छनोट प्रतियोगिता जितेर उनी एसियाली खेलकुदका लागि छानिएकी थिइन् । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएपछि नै उनी पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेकी थिइन् । ९ महिनाअघिदेखि प्रशिक्षक कुशल श्रेष्ठको निगरानीमा एरिकासहितका खेलाडीले तयारी गरेका थिए ।

 

‘८–१० महिनाअघिबाट हो मैले प्रशिक्षण गराएको हो । यो समयमा उनले १ दिन पनि रेष्ट लिइनन्,’ एरिकाको लगनको तारिफ गर्दै कुशल भन्छन्, ‘अन्य खेलाडी र उनमा यहि फरक छ ।’ लगनशील खेलाडी भएकाले उनीबाट पदकको आशा गरेको प्रशिक्षक कुशल बताउँछन् ।

 

एरिकाका बाबा ट्रेकिङ गाइड हुन् । फाप्लामा रहेका उनले छोरीलाई स्वागत गर्न काठमाडौं आउन चाहेका थिए । तर उडान नभएकाले आउन पाएनन् । दुई छोरीकी आमा रत्नलाई छिमेकी र आफन्तले छोरा किन नपाएको भनेर प्रश्न गर्थे । रत्नका दम्पतीले छोरीलाई नै छोरा बनाउँछु भन्ने अठोट गरेका थिए ।

 

‘मैले एरिकालाई कुनै पनि छोरा भन्दा कम हुनुहुन्न भन्ने गरेको थिएँ,’ उनले भनिन्, । आमाबुबाबाट साथ र सहयोग पाएकी एरिका सानैदेखि हक्की स्वभावकी थिइन् । गर्छु भनेपछि जे कुरा पनि गर्ने उनको बानी रहेको रत्न सुनाउँछिन् ।

 

खेलमा पनि उनी केही गर्छु भन्ने सोचकै साथ आएकी थिइन् । ‘उसको सानैदेखि खेलमा लगाव निकै राम्रो थियो,’ रत्नले भनिन्, ‘गर्छु भनेपछि गर्ने स्वभावकी थिइन् ।’

 

नेपालमा कराँतेका यसअघि दुईवटा महासंघ थिए । खेलाडीले वर्षैभरी पसिना बगाए पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने कि नपाउने अन्योलता थियो ।

 

तर गत माघमा राष्ट्रिय खेलकुद परिषद राखेपले विवाद समाधान गर्दै दुई वटा महासंघलाई एउटै बनाएको थियो । त्यो महासंघले गत चैतमा चुनाव नै गरेर नेतृत्व लिएपछि अहिले कराँतेमा विवाद छैन ।

विवाद सुल्झिएपछि यस किसिमको सकरात्मक नतिजा आएको पूर्व खेलाडी तथा प्रशिक्षक कुशल श्रेष्ठ बताउँछन् । पूर्वखेलाडी रहेका उनी भन्छन् ‘पहिले खेलाडीलाई खेल्ने नखेल्ने नै अन्योलता हुन्थ्यो अहिलेका खेलाडीलाई त्यो भएन अहिलेका खेलाडीले खेलमा मात्र फोकस गर्न पाए । त्यसैको नतिजा हो हामीले पदक जितेर आयौं ।’

 

कराँतेमा यसअघि नेपालले तीन कास्य जितेको थियो । सन् १९९४ मा सीता राई, १९९८ मा समर बहादुर गोले र २०१४ मा विमला तामाङले करातेबाट कास्य जितेका थिए ।

 

उनी अहिलेको सफलतालाई नेपाली कराँते क्षेत्रका लागि सकरात्मक सुरुवात मान्छन्, । ‘सुरुबाट नै सकरात्मक मानसिकता बनिरहेको थियो । कराँते महासंघ मिल्नु, राष्ट्रिय अन्तर्राष्ट्रिय विवाद सकिनु, प्रशिक्षकहरुकाबीचमा हुने विवाद सकिनु सबै मिल्दै मिल्दै गयो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार