विश्व शान्ती र सद्भावनाको लागी निरन्तर लागी परेकी ‘फुलको आँखामा फुलै संसार’ गीतबाट चर्चित आनी छोइङ डोल्माको नाममा विदेशबाट स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्रीएपछी खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशङ्कामा अनुसन्धान सुरु भएको छ ।
स्रोत नखुलाई हङकङबाट तीन पटक गरी १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका हुन् । ‘विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्ने कुनै पनि निकायलाई जानकारीसमेत नदिई करिब २० करोड रुपैयाँ उनले भित्र्याएकोले आनीको बैङ्क खातामा तीन पटक आएको रकम मात्रै रोक्का भएको हो । रोक्का नभएको रकम भने उनले प्रयोग गरिसकेकी छन् ।
पहिल्यै भित्र्याइसकेको रकममाथि समेत अनुसन्धान हुने राष्ट्र बैङ्क तथा विभाग स्रोतले जनाएको छ । अनुमति नलिई विदेशबाट भटाभट रकम आउन थालेपछि आनीको खाता रहेको मेगा बैङ्कले स्रोत खुलाउन भन्यो । आनीले स्रोत खुलाउन नसकेपछि मेगाले राष्ट्र बैङ्कको सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान गर्ने निकाय वित्तीय जानकारी एकाइलाई खाता विवरण पठायो । ‘राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले केही अध्ययन गरेपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्यो, तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतले दाबी गरेको छ ।