काठमाडौं । रुस–युक्रेन युद्धका कारण सुनको भाउँ निकै बढेको छ । लगानीका लागि न्यून जोखिम भएको क्षेत्र भएकाले पनि सुनचाँदीको माग अन्तर्राष्ट्रिय बजारमै बढेको छ । जसका कारण अन्तर्राष्ट्रिय बजारसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्य अकासिएको छ ।
बुधबार सुनको भाउ हालसम्मै उच्च अर्थात तोलाको १ लाख ५ हजार ५ सय कायम भएको थियो । बिहीबार भने ३ हजार ५ सय रूपैयाँले घटेर १ लाख २ हजार कायम भयो । यसैपनि वित्तीय क्षेत्रमा तरलताको चाप गहिरिएको छ । त्यसमा पनि सुन आयातमा अरबौँ रूपैयाँ बाहिएको हुँदा नेपाल राष्ट्र बैंकले दैनिक १० किलोग्राम मात्रै सुन आयात गर्न सकिने भनेर कोटा तोकेको छ । यसअघि दैनिक २० किलोग्राम सुन आयात हुँदै आएको थियो ।
राष्ट्र बैंकले कोटा तोक्नु अगाडि पुस महिनामा २२ अर्ब र माघ महिनामा २५ अर्ब बराबरको सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । केन्द्रीय बैंकले घटाएर दैनिक आयात कोटा तोकेपछि भने फागुन महिनामा सुन खरिदमा बाहिरिने रकम खुम्चिने निश्चित छ ।
सुनचाँदी व्यवसायीहरूले दैनिक २० किलोग्राम सुनले समेत स्थानीय माग धान्न नसक्ने बताउँदै आएको थिए । व्यवसायीहरू यसअघि बारम्बार कोटा बढाउन भन्दै नेपाल राष्ट्र बैंकसहित अन्य सरकारी निकायहरू धाइरहेका थिए ।
छिल्लो समयमा भने रुस–युक्रेन युद्धका कारण सुनको भाउ महङ्गिएपछि दैनिक १० किलोग्रामको कोटाले पुग्ने अवस्था आएको व्यवसायी बताउँछन् । सुनको भाउ हालसम्मकै उच्च भएपछि कारोबार सुस्ताएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए । अहिले सुनचाँदीको कारोबार नै कम हुने समय पनि हो । मूल्य बढेसँगै अफसिजन भएकाले पनि कारोबार कम भएको उनले बताए । दैनिक १० किलोग्राम सुनले देशको माग धानिरहेको उनले बताए ।
“अहिले अफसिजन भएकाले १० किलो सुनले माग धानेको छ । केही समयलाई पुग्छ,” उनले भने । तर, वैशाख लागेपछि भने १० किलोग्रामको कोटा बढाउनुपर्ने उनले बताए । “वैशाख लागेपछि सिजन सुरु हुन्छ । सिजन सुरु भएपछि कोटो बढाउनुपर्छ । १० किलोग्रामले माग धान्दैन,” उनले भने ।
सुन खरिद गर्नको लागि डलर बिक्री गर्नुपर्ने हुन्छ । अहिले डलरको सञ्चिति घट्दो क्रममा रहेकाले राष्ट्र बैंकले सुन आयातमा कोटा तोकेको हो । केन्द्रीय बैंकको यो निर्णयलाई व्यवसायीले अन्यथा पनि मानेका छैनन् । हालको अवस्थामा कोटा तोकिनु जायजै भएको अध्यक्ष शाक्य बताउँछन् ।