
लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले कोषाध्यक्ष विष्णु खरेललाई बर्खास्त गरेको छ । आर्थिक अपचलन गरेको भन्दै मंगलबार बेलुकी बसेको बैठकले कोषाध्यक्ष खरेललाई बर्खास्त गरेको हो ।
कोषाध्यक्ष खरेलले ३९ हजार पाउण्ड संस्थाको निर्णय विना अध्यक्षलाई जानकारी नगराई आर्थिक अपचलन गरेको आरोप छ । ठुलो रकम अपचलन भएपछि गैर–आवासीय नेपाली संघ (एनआरएन) ले डा. भीम पुनको संयोजकत्वमा छानवीन समिति गठन गरेको थियो । छानवीन समितिले छानवीन गरिहेको बेला कोषाध्यक्ष खरेलले गैरजिम्मेवारीपुर्वक संस्थाको हितविपरित गतिविधि गरेकाले बर्खास्त गरिएको अध्यक्ष प्रेम गाहा मगरले बताए ।
संस्थालाई थप क्षति हुनबाट रोक्नका लागि छानवीन समितिले दिएको सुझावको आधारमा कोषाध्यक्ष खरेललाई बर्खास्ता गरिएको पनि अध्यक्ष गाहामगरले बताए ।
सार्वजानिक कोषको रकम अनाधिकृत रुपमा कारोवार गरिरहेको र छानवीन समितिलाई समेत असहयोग गरेकाले थप क्षति हुन नदिनका लागि बर्खास्त गरिएको महासचिव नम्रता घलेले बताइन ।
संघले बर्खास्त भएका कोषाध्यष खरेललाई सार्वजानिक कोषको खाता र सम्बन्धित सबै कागजातहरु महासचिव नम्रता घलेलाई विहिवारको ५ बजेभित्र हस्तान्तरण गर्न समेत निर्देशन दिएको छ ।









