लन्डन । आगमी नयाँ नेतृत्व चयनका लागि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको चौथो अधिवेशन सम्पन्न हुदैछ । आउँदो १६ डिसेम्बरमा सम्पन्न हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दैछ । उक्त अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले निर्वाचन कार्यतालिका सार्वजानिक गरिएको छ । शनिवार निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तालिका सूचना सार्वजानिक गरेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को विधानअनुसार आगमी कार्यकालको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सम्बन्धी कार्यतालिका सार्वजानिक गरिएको निर्वाचन समितिका संयोजक विश्वासदीप तिगेलाले बताए । निर्वाचन सम्बन्धी सम्पुर्ण कार्यहरु निर्वाचन समितिलाई दिइएको र निर्वाचन समितिले विधानको परिधिभित्र रहेर निर्वाचन सम्बन्धी कार्यक्रम तय गरिएको पनि संयोजक तिगेलाले बताए ।
निर्वाचन समितिले आगमी कार्यकालका लागि उम्मेदवारी मनोनयन खुला गरेको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षसहित ८ सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता खुल्ला गरिएको छ । उम्मेदवारी मनोनयन दर्ताका लागिका ४ डिसेम्बरसम्मका लागि समय तोकिएको छ । उम्मेदवारी मनोनयनका लागि इमेलमार्फत गर्ने व्यवस्था गरिएको छ । निर्वाचन समितिको अनुसार २८ नोभेम्बरमा मतदाता नामवली प्रकाशन, ३० नोभेम्बर मतदाता नामवली सच्याउने, २ डिसेम्बर अन्तिम नामवली प्रकाशन, ५ डिसेम्बर उम्मेदवारको प्रथम नामवली प्रकाशन, ६ डिसेम्बर उम्मेदवारीमाथि दावी विरोध र फिर्ता लिने, ७ डिसेम्बर उम्मेदवारको अन्तिम नामवली प्रकाशन र १६ डिसेम्बर मतदान र परिणाम घोषणको कार्यक्रम रहेको छ ।
निर्वाचन समितिले उम्मेदवारी शुल्क पनि निर्धारण गरेको छ । समितिले अध्यक्षका लागि ५०, उपाध्यक्ष ३०, सचिव ३०, सहसचिव ३०, कोषाध्यक्ष ३० र सदस्यका लागि २० उम्मेदवारी शुल्क निर्धारण गरेको छ ।