
भोजपुर । जिल्लाका उद्योगी-व्यापारीमाझ केही दिनयता चुनावी सरगर्मी बढेको छ । उद्योग बाणिज्य संघको वार्षिक साधारणसभा तथा जिल्ला अधिवेशन नजिकिएसँगै नेतृत्व हत्याउन व्यवसायीहरू छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।
अधिवेशनमा पूर्वउपाध्यक्ष बद्रीकुमार श्रेष्ठ र बहालवाला उपाध्यक्ष निर कुमार विक प्यानलसहित चुनाव भिड्ने तयारीका साथ यतिखेर प्रचारप्रसारमा जुटेका छन् । उनीहरूले संस्थागत विकास, उद्योगी-व्यापारीको हक, हितका एजेण्डाका आ-आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
२०३३ सालमा स्थापित भोजपुर उद्योग बाणिज्य संघमा केही बाहेक सहमतिमा नेतृत्व चयन हुँदै आएको छ । बद्री श्रेष्ठको नेतृत्वमा प्रथम उपाध्यक्षमा प्रकाश श्रेष्ठ, द्वितीय उपाध्यक्ष महेश्वर बजिमयो, महासचिव शम्भु आचार्य, सचिव बसन्ती राई र कोषाध्यक्षमा जीवनकुमार श्रेष्ठ मैदानमा छन् । लेखराज श्रेष्ठ, मानबहादुर तामाङ, गोविन्दप्रसाद न्यौपाने, शान्ताकुमारी राई, बिनाकुमारी तामाङ, पूर्णकुमारी धमला, सुरेश सार्की, लालबहादुर विश्वकर्मा र प्रभुराम प्रधान सदस्यमा उठ्ने भएका छन् ।
यो प्यानलले ‘हामीलाई भोट किन ?’ भन्दै १० वटा एजेण्डा अघि सारेको छ ।यस्तै विकको प्यानलबाट प्रथम उपाध्यक्षमा प्रवीणकुमार सुवाल, द्वितीय उपाध्यक्ष बद्रीकुमार श्रेष्ठ, महासचिव विन्द्रकुमार राई, सचिव अनिल बस्नेत र कोषाध्यक्षमा सुरेन्द्र देव बलले उम्मेदवारी घोषणा गरेका छन् । सदस्यहरूमा अनिल बराइली, हरिबहादुर प्रधान, सन्तोष मोक्तान, पारस तामाङ, ज्ञानबहादुर कार्की, राजेशकुमार श्रेष्ठ, कल्पना तामाङ, अनिता राई र उर्मिला थापाले उम्मेदवारी दिने भएका छन् ।
बद्रीको प्यानलमा बजारका पुराना व्यापारीसहित नवआगन्तुकलाई समेटिएको छ । कतिपयले यो प्यानललाई भोजपुरको ‘गोल्छा’ समूहको संज्ञासमत दिएका छन् । निरकुमारकोमा पनि प्राय: युवाहरू छन् ।
भोजपुरका स्थापित व्यवसायी बद्रीले शालीन र मानदार व्यापारीको पहिचानका रूपमा आफूलाई चिनाएका छन् । कमाएको रकमको अधिकांश हिस्सा जिल्लामै खर्च गरेको र सामाजिक काममा समेत सक्रियता देखाएको भन्दै उनको तारिफ हुँदै आएको छ । बजारका स्थापित व्यापारीहरू टीममा राखेको साथै आफ्नो समुदायको भोट निर्णायक देखिएको हुँदा बद्रीको पल्ला भारी देखिएको विश्लेषण गरिएको छ ।
त्यस्तै अहिले पनि नेतृत्वमा रहेर संघको संस्थागत विकास र व्यवसायीको हितमा उदाहरणीय काम गरेको भन्दै विकको प्यानलका प्रशंसकहरू देखिएका छन् ।
साढे ३ सय जति प्रतिनिधि रहेको बाणिज्य संघको चुनावबाट बाजी कसले मार्छ भन्ने त असार २७ सम्म पर्खनै पर्ने हुन्छ ।







