
लन्डन । अध्यक्ष प्रेम गाहा मगरमाथि अन्तराष्ट्रिय समन्वय समिति (आइसीसी) ले कारवाहीको डन्डा चलाएपछि गैर–आवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति बेलायतले त्यसको प्रतिरक्षा गरेको छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिले चलाएको कारवाहीलाई गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेलायतले अवैधानिक भन्दै त्यसको खारेजी समेत गरेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका प्रवक्ता भरतमणी चोङवाङले विज्ञप्ती जारी गर्दै अध्यक्ष प्रेम गाहामगरमाथि गरिएको कारवाही कानुन सम्मत नभएको भन्दै त्यसको प्रतिरक्षा गरेको हो । १३ सेप्टेम्बर २०२२ मा अन्तराष्ट्रिय समन्वय समितिले अध्यक्ष प्रेम गाहा मगरलाई पत्र लेखेर पदमुक्त भएको जानकारी गराएपछि गैर–आवासीय नेपाली संघ बेलायतले त्यसलाई अवैधानिक भन्दै पूर्ण रुपमा प्रतिरक्षा गरेको छ । अध्यक्ष गाहामगरलाई पदमुक्त गरिएको भन्ने व्यहोराको पत्र आफैमा अवैधानिक र आर्थिक घोटलालाई ढाकछोप गर्न प्रपञ्च रचिएको विज्ञप्तीमा भनिएको छ ।
अध्यक्षमाथि पदमुक्त गर्न अविश्वासको प्रस्ताव राख्दै वहुमत समितिले हस्ताक्षर गरेर आइसीसीमा पत्र पठाएपछि त्यसैको आधारमा आइसीसीले अध्यक्ष गाहामगरलाई पदमुक्त गरिएको पत्र पठाएको थियो । विधानत अध्यक्षलाई पदमुक्त र अविश्वासको प्रस्ताव नै गर्न मिल्ने व्यवस्था छैन, प्रवक्ता भरतमणी चोङवाङले भने ‘‘अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरु अध्यक्ष गाहा मगर कै साथमा रहेको र हस्ताक्षरहरु समेत नक्कली गरिएको छ ।’’
एनआरएनए संस्था बेलायतको च्यारेटीमा दर्ता भईसकेकोले आइसीसीले गैर–आवासीय नेपाली संघ बेलायत समितिका जो कोहीलाई पदमुक्त गर्न नमिल्ने महासचिव नम्रता घलेले बताइन । बहुमत देखाउनका लागि मताधिकार नभएका राज्य समितिका पदाधिकारीहरुको नाम राखेर हस्यास्पद रुपमा बहुमतको झुठो हवाला समेत दिइएको महासचिव घलेले बताइन ।
६ अगष्टमा सम्पन्न ११ औं साधारणसभा तथा संघसंस्था प्रतिनिधिसभा भन्दा एक हप्ता अघि कोषाध्यक्ष विष्णु खरेलले अध्यक्षलाई जानकारी नदिई ३९ हजार पाउण्ड रकम बाहिर लगेको र उक्त रकमलाई ढाकछोप गर्न अध्यक्ष गाहामगरलाई कारवाही गरिएको प्रवक्ता भरतमणी चोङवाङले बताए । अध्यक्षलाई पदमुक्त गरेको भन्ने आइसीसीको पत्र घोटला रकमलाई ढाकछोप रणनीति भएकोले उक्त कार्य खेदजन्य भएको पनि प्रवक्ता चोङवाङले बताए ।
विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजानिक भएको अध्यक्षलाई पदमुक्त गरिएको भन्ने पत्र बैठकले सर्वसम्मत रुपमा खारेज समेत गरेको जनाएको छ । अध्यक्ष गाहा मगरको नेतृत्वमा रहेको गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति यथावत र क्रियाशिल समेत रहेको विज्ञप्तीमार्फत सबैलाई जानकारी गराइएको छ । आइसीसीले अध्यक्षलाई पदमुक्त गरेको पत्र लेखेर बाताबरण धुमिल्याउन कोशिस भएको भन्दै आइसीसीको उक्त कार्यप्रति खेद व्यक्त गरेको छ ।








