दिंवगत महारनीको स्मृतिमा एनआरएनए युकेद्धारा शोकसभा

लन्डन । एनआरएनए यूकेले दिवंगत बेलायतकी महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धान्जली अर्पण गर्दै शोकसभा गरेको छ । आइतवार अल्डरसटस्थित एनआरएनए कार्यालयमा शोक सभा गरिएको हो । शोकसभामा सहभागी भएका सर्वसाधारण तथा एनआरएनए अभियन्ताहरुले दिवंगत महारानीको तस्विरमा माल्यार्पणसहित श्रद्धान्जी व्यक्त गरेका थिए ।

 

सभामा १२ वर्षीया बालिका साइना राईले पाइपर धुन बजाएकी थिइन् । शोकसभामा अध्यक्ष प्रेमगाहामगर, प्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन्द्र क्षेत्री, सल्लाहकार ओमप्रसाद थापा, स्याङ्जा समाज यूके अध्यक्ष शारदा गुरुङ लगायतले शोकमन्तव्य राखेका थिए ।

ब्रिटिश सैनिकमा रहँदा बेलायतको राजपरिवारसंग निकटता रहेको चर्चा गर्दै अध्यक्ष गाहामगरले गोर्खाहरुले एक असल अभिभावक गुमाउनुपरेको बताए । बेलायतको महारानीसंग गोर्खा र नेपालीहरुसंग ऐतिहासिक साइनो सम्बन्ध रहेको पनि मगरले बताए ।

 

महारानी गोर्खा वेलफेयर ट्रष्टको हेड अफ द ट्रष्टी भएको र भूतपूर्व गोर्खाहरुका लागि धेरै कल्याणकारी कार्यमा सहयोग गरेको पनि अध्यक्ष गाहा मगरले स्मरण गरे ।

 

एनआरएनएका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा समपन्न भएको कार्यक्रमको सञ्चालन एनआरएनए यूके प्रवक्ता भरतमणि चोङवाङले गरेको थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि उल्लेख्य रुपमा सहभागी थिए ।

बेलायती इतिहासमा सबैभन्दा लामो ७० वर्ष बढी समय गद्दीमा रहेकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको गत ८ सेप्टेम्बरमा ९६ वर्षको उमेरमा स्कटल्याण्डस्थित बाल्मोरल कासलमा निधन भएको थियो । बेलायती महारानीको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार