
लन्डन । गैर‐आवासीय नेपाली संघ (एनआरएनए ) बेलायतले पछिल्लो समय संस्थाविरुद्ध सम्प्रेषण भएको भ्रामक सूचना र सामाचारहरुप्रति भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ । संघले प्रवक्ताको इमेलबाट सूचना र समाचारहरु सम्प्रेषण भइरहेकोप्रति गम्भिर ध्यानकर्षण भएको भन्दै भ्रममा नपर्न आग्रह गरेको हो ।
प्रवक्ता भरतमणी चोङवाङले एक विज्ञप्ती जारी गर्दै केही व्यक्तिले अनाधिकृत रुपमा प्रवक्ताको इमेल हयाक गरी भ्रामक सूचना र समाचारहरु सम्प्रेषण भइरहेकाले त्यस्ता सूचना र समाचारहरु आधिकारिक नमान्न र विश्वास नगर्न पनि आग्रह गरेका छन । पछिल्लो पटक ट्रस्टीको नाममा सम्प्रेषित इमेल गैर‐कानुनी भएको पनि स्पष्ट पारेको छ ।
च्यारिटीमा दर्ता भएको संस्था एनआरएनए यूकेको खाताबाट ट्रष्ट्री चिअर एवं अध्यक्ष प्रेम गाहामगरलाई समेत थाहा नदिइ ३९ हजार २ सय ८५ पाउण्ड गैर‐कानुनी रुपमा अपचलन गरी संलग्न कथित ट्रष्ट्रीहरुले आफ्नो कुकृत्य र गैर‐कानूनी रुपमा ढाकछोप गर्न विभिन्न भ्रम फैलाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ट्रष्टी भनिएका सुनिलबाबु खड्का, नारायणदत्त कंडेल, खुशीमान तावा लिम्बु, सुरेश परियार, गोविन्द शर्मा खरेल र विष्णुप्रसाद खरेल आर्थिक हिनामिनाको आरोपमा वर्खास्त र निलम्बित ट्रष्टी भएको पनि जानकारी गराईएको छ ।
६ अगष्टमा सम्पन्न एनआरएनए यूकेको ११ औं साधारणसभा तथा संघसंस्था प्रतिनिधी सभाले संस्थामा भएको आर्थिक अपचलन र संस्था हित विपरित क्रियाकलापलाई डा. भीम पुन संयोजक, विश्वास दीप तिगेला सदस्य सचिव र शारदा गुरुङ सदस्य रहेको एक स्वतन्त्र छानविन समिति गठन गरेको थियो ।
छानवीन समितिले गरेको अन्तिम प्रतिवेदनमा उल्लेख हुने भएकाले सम्बन्धित निकायमा लैजाने पनि विज्ञप्तीमा उल्लेख छ । आर्थिक अपचलन र संस्था हित विपरित क्रियाकलाप गरेको आरोपमा संघले ५ जनालाई कारवाही समेत गरिसकेको छ ।








