
लन्डन । बेलायतको च्यारिटीमा दर्ता भएको एनआरएनए यूकेको २ हजार पाउण्ड रकम घोटला गरेको आरोप उपाध्यक्ष शकुन्तला गुरुङमाथि लागेको छ ।
बेलायतभरी रहेका नेपाली ३ सय ३३ वटा संघसंस्थाहरुको छाता संस्था गैर–आवासीय नेपाली संघ (एनआरएनए) युके का उपाध्यक्ष रहेकी गुरुङमाथि संस्थाको २ हजार पाउन्ड घोटला गरेको आरोप लागेको हो । १९ अगष्ट २०२१ मा संस्थाद्धारा आयोजित “च्यारिटी डिनर” कार्यक्रममा “युवा तथा महिला शसक्तिकरण” सहयोगका लागि अन्तराष्ट्रिय समन्व परिषदका तत्कालिन उम्मेदवारहरु हिमाल गुरुङ (होल्याण्ड) र जानकी गुरुङ (दक्षिण कोरिया) द्धारा जनही १ हजार पाउन्डको दरले दिइएको जम्मा २ हजार पाउन्ड घोटला गरेकी आरोप लागेको छ ।
गुरुङको जिम्मामा रहेको उक्त रकम बुझाउनका लागि पटक पटक ताकेता गर्दा पनि ६ महिना अघि बैठकमा समेत बुझाउने प्रतिवद्धता जनाएपनि हालसम्म नबुझाएको बताइएको छ ।
पैसा घोटालामा मुछिएकी गुरुङलाई वार्षिक साधारणसभाद्धारा गठित छानवीन समितिले संस्थाको रकम गैर‐कानूनी रुपमा झिकेको आरोपमा उजुरी परेपछि छानवीनका लागि बोलाएको छ ।
छानवीन समितिले आँउदो ३ अक्टोबरमा गुरुङलाई एनआरएनएको कार्यालयमा उनीमाथि लागेको आरोपमाथि छानवीन गर्न बोलाएको हो ।
गुरुङमाथि ११ हजार ३ सय ६३ जना पञ्जिकृत सदस्यहरुको शुल्क च्यारिटी एकाउन्टबाट बेलायतवासी जनताको म्यान्डेड विना ३९ हजार २ सय ८५ पाउण्ड ७३ पेन्स रकम झिक्नका लागि बर्खास्त भएको कोषाध्क्षसंगको मिलोमत्तोमा हस्ताक्षर गरेको आरोप छ । संस्थालाई आधिकारिक रुपमा विश्वासघात गर्दै पदीय जिम्मेवारी निर्वाह नगरेको र गएको एकबर्षमा ४ पटक कार्यसमितिको बैठक बसेर तय भएको बार्षिक साधारणसभा तथा संघसंस्था प्रतिनिधिसभा पञ्जिकृत सदस्य प्रतिनिधिहरुलाई अपमान गर्दै बहिष्कार गरेको पनि गुरुङमाथि आरोप छ ।
संस्थालाई विभाजन ल्याउन र कमजोर बनाउनका लागि मोर्चाबन्दी गर्दै निर्वाचित अध्यक्षलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको पनि आरोप लगाइएको छ ।
चारवटा विषयमा उजुरी परेपछि छानवीनका लागि गुरुङलाई बोलाइएको छानवीन समितिका संयोजक डा. भीम पुनले बताए । आर्थिक जस्तो गम्भीर विषयमा उजुरी परेकाले त्यस विषयमाथि प्रष्ट पार्न र जवाफका लागि मौका दिने उद्देश्यसहित गुरूङलाई बोलाइएको पनि डा. पुनले बताए ।
गुरुङलाई समितिले सोमबार दिउसो ३:३० बजे भित्र छलफलका लागि बोलाएको छ ।








