काठमाडौँ, २६ जेठ । 정कारले ‘निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३’ स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने लगायतका विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको हो।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल रेडक्रस सोसाइटीको नेतृत्व र व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ कदम चालिएको बताउनुभयो। जसअनुसार विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरिएको छ।
४ जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति
मन्त्रिपरिषद् बैठकले देशको ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ। वन क्षेत्र प्रयोगको अनुमति पाउने आयोजनाहरू निम्न बमोजिम छन्:
-
तल्लो अरुण जलविद्युत् आयोजना
-
लोवर न्यादी खोला जलविद्युत् आयोजना
-
घुन्सा खोला जलविद्युत् आयोजना
-
तादी खोला जलविद्युत् आयोजना
पूर्वगृहमन्त्री गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सरकारद्वारा ग्रहण
बैठकले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय समेत गरेको छ। प्रवक्ता पोखरेलका अनुसार उक्त प्रतिवेदनलाई अध्ययन गरी सरकारले आगामी रणनीति तय गर्नेछ।








