
लण्डन । कोरोना भ्याक्सिन लगाएको व्यक्तिको पहिचानमा सहज होस भन्ने उद्देश्यले बेलायत सरकारले ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन ल्याउने भएको छ ।
मे १७ बाट लागु हुने गरी बेलायत सरकारले राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस) बाट कोरोना खोप सम्बन्धित ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन ल्याउने भएको हो । कोरोना भाइरसबाट हुने थप क्षतिलाई न्युनिकरण र रोकथामका लागि सरकारले भ्याक्सिन पासपोर्ट एप्लिकेशन लागु गरेको छ । कोरोना विरुद्धको दुवै डोज लगाईसकेकालाई उक्त सेवा उपलब्ध हुने छ ।
मोबाइल एप्लिकेशन र कागजी भर्सनमा समेत ‘भ्याक्सिन पासपोर्ट’ उपलब्ध हुने बताइएको छ । कागजी भर्सनका लागि ११९ मा डायल गर्नुपर्ने छ । लामो समयको लकडाउनपछि विदेशको यात्रा खुकुलो बनाउनका लागि पनि ‘भ्याक्सिन पासपोर्ट’ ल्याउन लागिएको सरकारले जनाएको छ ।
बेलायतमा आउँदो सातादेखि जारी लकडाउनलाई खुकुलो बनाउदै लाने भएको बेलायतका सञ्चारमाध्यमहरुले जनाएको छ ।







