बेलायती प्रधानमन्त्री कार्यालय अगाडी गोर्खा भूपूहरुको विशाल प्रर्दशन (फोटोफिचर)

लण्डन । समानताको माग राख्दै गोर्खा भूतपुर्व सैनिकहरुले बेलायती प्रधानमन्त्री कार्यालय अगाडी विशाल प्रर्दशन गरेका छन । आइतवार गोर्खाहरुको संगठन मध्येको एक गोर्खा सत्याग्रह संयुक्त संर्घष समितिले लण्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालय अगाडी विशाल प्रर्दशन गरेको हो ।

 

बेलायती सैनिक सेवामा समान पेन्सन सुविधा र अधिकारका लागि समितिको आयोजनामा विरोध प्रदर्शन भएको थियो । ठुलो संख्यामा भूपू गोर्खाको सहभागिता रहेको उक्त प्रर्दशनमा भूतपूर्व गोर्खाहरुको छोराछोरीहरु पनि ऐक्यवद्धता जनाउदै प्रर्दशनमा भाग लिएका थिए ।

दिउसो १ बजे प्रधानमन्त्री कार्यालय बाहिर जम्मा भएका प्रदर्शनमा सहभागीहरुले आफूहरुलाई बेलायत सरकारले भेदभाव गरे भन्दै समान पेन्सन र अधिकारको माग गर्दै प्लेकार्ड देखाएका थिए । प्रदर्शनीमा व्रिटिस भेट्रान्सहरुले पनि ऐक्यवद्धता जनाउदै प्रर्दशनमा सहभागीता जनाएका थिए ।

सरकारी तवरमा बार्ता भई समस्या समाधानका लागि प्रतिवद्धता नआएसम्म आन्दोलन जारी राख्ने जनाउदै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले गोर्खाहरु वारपारको आन्दोलनमा रहेको बताए । संयोजक राईले आज बेलायती रक्षा मन्त्रालयले आन्दोलनलाई कमजोर बनाउने चालबाजी स्वरुप बार्ताका लागि बोलाए पनि आफुहरु नगएको सम्बोधनको क्रममा जानकारी दिएका थिए । आमरण अनशनमा बसेका तीन सत्याग्रहीहरुलाई साँची राखेर विश्वस्त नबनाएसम्म आन्दोलन जारी राखिने पनि संयोजक राईले बताए ।

भूतपूर्व गोर्खाहरुको समान पेन्सन लगायत अधिकारका लागि अभियन्ताहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्प राना घले यही ७ अगष्टदेखि आमरण अनसनमा छन् ।

कार्यक्रममा विभिन्न संघसंस्था र व्यक्तित्वहरुको सहभागीता रहेको थियो । प्रर्दशनमा सहभागी भएका अधिकांशले आन्दोलन गोर्खाहरुको मात्रै नभई देश इज्जत र गर्वका लागि भएको बताएका थिए ।

 

गोर्खा भूपू संगठनहरुले बेलायती सैनिक सरह समान पेन्सन र अधिकार, पेन्सनपछि स्वाथ्य उपचारको व्यवस्था, भूपू गोर्खाका १८ वर्ष भन्दामाथिका सन्तानलाई आवासीय भिसाको व्यवस्था जस्ता माग राख्दै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार