
लण्डन । लामो समयदेखि समानताको आन्दोलन गर्दै आएको गोर्खा भूपू सैनिकहरुको माग पुरा हुने तर्फ अगाडी बढेको गोर्खा भूतपूर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले बताएको छ । बेलायतस्थित नेपाली दुतावासमा आज भएको त्रिपक्षीय छलफलपछि गोर्खाहरुको माग र समस्या समाधान गर्ने बिषयतर्फ अगाडी बढेको सभापति राईले बताएको हो ।
बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूतपूर्व गोर्खाका प्रतिनिधिहरु समेतको सहभागितामा त्रिपक्षीय छलफलपछि भूपूहरुको समस्या समाधानतर्फ आगाडी बढेको सभापति राईले बताए ।
गोर्खाहरुको माग र समस्या समाधानका लागि डिसेम्बर महिनाभित्रै गोर्खाहरुको प्रतिनिधिहरु सम्मिलित नेपाल सरकार र बेलायत सरकारवीच वार्ता कमिटि गठन गरेर समस्या समाधान गरिने पनि राईले बताए ।
२९ मार्च २०१७ मा तत्कालीन रक्षा राज्यमन्त्री मार्क ल्याङकटरको उपस्थितीमा भएको ऐतिहासिक त्रिपक्षीय छलफलले आजको बाटोमा ल्याईपुर्याएको पनि सभापति राईले बताए । मार्क ल्याङकस्टरकै सुझावमा नेपाल सरकार, बेलायत सरकार र भूपू गोर्खा सम्मिलित त्रिपक्षीय १ अप्रिल २०१७ मा प्राविधिक समिति गठन भई प्राविधिक समितिले दिएको सुझावको आधारमा गोर्खाहरुको समस्या समाधानको ढोका खुलेको राईले बताए ।
अव हुने बार्ताले गोर्खाहरुको सम्पुर्ण समस्याहरुलाई सम्बोधन विश्वास सभापति राईले व्यक्त गरे । विगतमा हामीले गरेको आन्दोलन र चालेको कुटनीतिक पहल नै समाधानको दिशातर्फ अगाडी बढेको छ, सभापति राईले भने ‘‘नेपाल सरकार र बेलायत सरकारवीच कुटनीतिक तहमा नै बार्ता हुनेछ ।’’








