
लण्डन । गोर्खाहरुको समस्या समाधान यसअघि नेपाल, बेलायत सरकार र गोर्खाहरु सम्मिलित प्राविधिक समितिले तयार पारेको प्रतिवेदनको आधारमा हुने गोर्खा भूतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले जनाएको छ ।
गोर्खाहरुको संलग्नमा नेपाल सरकार र बेलायत सरकारवीच बार्ताको तयारी भइरहेको बेला गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले १३ बुदे प्रतिवेदनको आधारमा हुने जनाएको हो । विहिवार लण्डनको साउथ हेरोस्थित गोर्खा भूतपुर्व सैनिक संघ गेसो महिला समितिले आयोजना गरेको जानकारी सभामा गेसो सभापति कृष्णकुमार राईले अव हुने बार्ता १३ बँुदेको आधारमा हुने जानकारी दिए ।
२९ मार्च २०१७ मा तत्कालीन रक्षा राज्यमन्त्री मार्क ल्याङकटरको उपस्थितीमा भएको ऐतिहासिक त्रिपक्षीय छलफलले आजको बाटोमा ल्याईपुर्याएको पनि सभापति राईले बताए । मार्क ल्याङकस्टरकै सुझावमा नेपाल सरकार, बेलायत सरकार र भूपू गोर्खा सम्मिलित त्रिपक्षीय १ अप्रिल २०१७ मा प्राविधिक समिति गठन भई प्राविधिक समितिले दिएको सुझावको आधारमा गोर्खाहरुको समस्या समाधानको ढोका खुलेको राईले बताए ।
बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूतपूर्व गोर्खाका प्रतिनिधिहरु समेतको सहभागितामा त्रिपक्षीय छलफलपछि भूपूहरुको समस्या समाधानतर्फ आगाडी बढेको सभापति राईले बताए ।
गोर्खाहरुको माग र समस्या समाधानका लागि डिसेम्बर महिनाभित्रै गोर्खाहरुको प्रतिनिधिहरु सम्मिलित नेपाल सरकार र बेलायत सरकारवीच वार्ता कमिटि गठन गरेर समस्या समाधान गरिने पनि राईले बताए ।
अव हुने बार्ताले गोर्खाहरुको सम्पुर्ण समस्याहरुलाई सम्बोधन गर्ने विश्वास सभापति राईले व्यक्त गरे । विगतमा हामीले गरेको आन्दोलन र चालेको कुटनीतिक पहल नै समाधानको दिशातर्फ अगाडी बढेको छ, सभापति राईले भने ‘‘नेपाल सरकार र बेलायत सरकारवीच कुटनीतिक तहमा नै बार्ता हुनेछ ।’’
कार्यक्रममा बोल्दै सभापति राईले गोर्खा आन्दोलनमा गेसोको योगदानलाई अवमूल्यन गर्न खोजिएको भन्दै आपत्ती समेत जनाएका छन । गोर्खा आन्दोलनलाई गेसोले यहाँसम्म डोर्याउदै ल्याएको तर पछिल्लो समय गेसोप्रति भ्रामक प्रचार गर्न खोजेको भन्दै सभापति राईले गोर्खा आन्दोलनको इतिहास पल्टाउन समेत आग्रह गरे । गेसोमाथि विभिन्न प्रहार र भ्रमहरु फैलाएर फाइदा उठाउन खोजिदैछ । गेसोको योगदान र इतिहासलाई विर्सनु भनेको पाप हो । अवदेखि भुलेर पनि कसैले पाप गर्नु हुने छैन, सभापति राईले भने ।
कतिपयले १३ बुँदे प्रतिवेदनको औचित्य सकियो भने पनि अव हुने बार्ता १३ बुँदे प्रतिवेदनको आधारमा नै हुने गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपसभापति धर्म तामाङले बताए । बार्तामा १३ बुँदे प्रतिवेदनको आधारमा हामी भूपू सैनिक संघ संगठनहरु प्रस्तुत हुने पनि बताए ।










