
लण्डन । पहिलो भिक्टोरिया क्रस (भिसी) पाउने गोर्खा कुलवीर थापाको शालिक अनावरण भएको छ ।अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा निर्मित शालिक शनिबार अनावरण भएको हो ।
बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणीकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायतले सालिक अनावरण गरेका थिए ।
ग्रेटर रसमोर नेपलिज कम्युनिटीको नेतृत्वमा नेपाली तथा विदेशीबाट चन्दा संकलन गरि उक्त सालिक बनाइएको थियो ।
सालिक बनाउन एक लाख ७० हजार पाउण्ड बढी खर्च भएको प्रोजेक्ट म्यानेजर रिटायर्ड क्याप्टेन ग्यारी घलेले बताए । मूर्ति बनाउन मात्र कलाकार एमी गुडम्यानलाई करिब ७५ हजार पाउण्ड दिइएको घलेले बताए । २०१९ को फ्रेव्रअरीदेखि शालिक बनाउने योजना शुरु भएको थियो ।
पाल्पामा जन्मिएका थापाले भारतीय सेनामा सेवारत रहंदा २६ वर्षको उमेरमै भिक्टोरिया क्रस पाएका थिए ।
सन् १८८९, १५ डिसेम्बरका दिन पाल्पामा जन्मिएका तिनै भिसी विजेता थापामाथि बेलायतका नेपाली युवाले बनाएको चलचित्र ‘गोर्खा बिनीथ द ब्रेभरी’ पनि प्रदर्शनको क्रममा छ ।








