गैर–आवसीय नेपाली संघ बेलायतद्धारा राजदूत लोकदर्शन रेग्मीलाई बिदाई

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बोलयतले संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई बिदाइ गरेको छ ।

 

२४ अक्टोबरमा नेपाल प्रस्थान गर्न लागेका राजदूत रेग्मीलाई गैर–आवसीय नेपाली संघ बेलायतले अल्डरशटस्थित आफ्नै कार्यालयमा सोमबार साँझ बिदाइ गरेको हो । अघिल्लो सरकारको गरेको (परराष्ट्र सेवा बाहेकका) सम्पूर्ण राजदूतलाई फिर्ता बोलाउने बर्तमान सरकारले निर्णय गरेपछि राजदूत रेग्मी फिर्ता जाने भएका हुन् ।

 

बिदाइ समारोहलाई सम्बोधन गर्दै राजदूत रेग्मीले बेलायतबाट सिकेका अनुभव अन्य क्षेत्रमा लगाउने प्रतिबद्धता व्यक्त गरे । उनले राजदूतको पद जागिरेको रुपमा नभई सेवाका रुपमा लिएको जनाए ।

 

गैर–आवसीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले बेलायतबाट नेपाल सिधा हवाई यातायात संचालन, पूर्व गोर्खाको समस्या समाधान तथा ब्रिटिश प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने लगायतका बिषयमा संस्थाले दूतावाससँग सहकार्य गरेर काम गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता समसामयिक एजेण्डालाई गैर–आवसीय नेपाली संघ बेलायतले अगाडी बढाउने जानकारी दिए । छोटो बसाईमा राजदूत रेग्मीले ब्रिटेनस्थित नेपाली समुदायका लागि गरेका कामहरु प्रशंसनीय रहे, अध्यक्ष गाहामगरले भने, ’राजदूत रेग्मीका आगामी दिनहरु सफल रहुन् ।

बिदाइ समारोहमा प्रमुख संरक्षक शेरबहादुर सुनारले राजदूत रेग्मी जस्तो अब्बल व्यक्तित्व बेलायतले पाए पनि राजनीतिक खिंचातानीका कारण नेपाल सरकारले फिर्ता बोलाउने काम गरेको भन्दै दुख व्यक्त गरे । उनले राजदूत रेग्मी जस्ता व्यक्तिले चार बर्षे कार्यकाल पुरा गर्न नपाउंदा पुर्व गोर्खाका मुद्दाहरु ओझेलमा पर्ने पो हो कि भन्दै चिन्ता व्यक्त गरे । प्रमुख संरक्षक सुनारले राजदुत रेग्मीको आगामी दिन सफल रहोस् भनि शुभकामना दिए ।

 

पूर्व अध्यक्ष योगेन्द्रवहादुर क्षेत्रीले पछिल्ला समययमा राजदूतावासले खेलेको भूमिकाको प्रशंसा गरे । उनले छोटो समयमा राम्रो काम गरेको भन्दै रेग्मीको कार्यको प्रशंसा गरे । उनले यस्ता अनुभवी राजदुतको अनुभवलाई अन्य ठाउँमा प्रयोग गर्न सुझाब दिए ।

 

गैर–आवसीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले कूटनीतिक क्षेत्र मार्फत नेपालीहरुका समस्या समाधान गर्न राजदूत रेग्मीले बाटो बनाउन लागेका बेला नेपाल फिर्ता जानुले नरमाइलो लागेको बताए । उनले एनआरएनएले नागरिकता, सम्पत्तिका अधिकार र लगानीलगायतका धेरै काम गर्न बाँकी रहेको बताए । कर प्रणाली, कानुनी झन्झट, नागरिकता लगायतका विषयलाई सम्बोधन गर्ने हो भने डायस्पोराका नेपालीले नेपालको समृद्धिमा ठूलो सहयोग गर्न सक्छन्,’ उनले भने । ‘राजदूत रेग्मी जहाँ भएपनि हाम्रो मानसपटलमा रहनु हुनेछ । जहाँ भएपनि हामीसँगै रहने छौं ।‘

 

बिदाइ समारोहमा उपस्थित राजदूत रेग्मीलाई उपाध्यक्ष मोहन कार्कीले स्वागत गरेका थिए । उनले कोरोना संक्रमणका बेला गैर–आवसीय नेपाली संघले नेपाली दूतावाससंग मिलेर नजिकबाट काम गरेको स्मरण गरे । कार्यक्रमको संचालन महासचिव खुशी लिम्बुले गरेका थिए ।

 

बिदाइ समारोहमा गैरआवसीय नेपाली संघका पदाधिकारीहरु, राज्य समन्वय परिषद् स्कटल्याण्ड, वेल्स, नर्दर्न आयरल्याण्ड र इंग्ल्याण्ड कार्यसमितिका पदाधिकारीहरु उपस्थित थिए ।

 

बिदाइ समारोहमा अध्यक्ष गाहामगरले राजदूत रेग्मीलाई मायाको चिनो हस्तान्तरण गरेका थिए । उपाध्यक्ष शकुन्तला गुरुङले राजदूतकी श्रीमतीलाई मायाको चिनो दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार