बनिनसक्दै भत्कियो ५ करोडको पक्की पुल

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । निर्माण कार्यमा चरम लापारबाहि भएपछि भोजपुरको हतुवागढी गाउँपालिका २, रानीबास र रामप्रसादराई गाउँपालिका ५, मानेभञ्याङ जोड्ने कावाखोलास्थित ५ करोडको पुल निर्माण क्रममै भत्किएको छ । प्रदेश १ सरकारको पहलमा स्विस सरकारको अनुदान सहयोगबाट निर्माणाधिन उक्त पक्कि निर्माणाधिन पुल भत्किएको हो ।
निर्माणाधिन उक्त पक्कि पुलको निर्माण सामाग्री गुणस्तरहीन भएका कारण पुल भत्किएको हो । ४५ मिटर लम्बाई र ६ मिटर चौडाई रहनेगरि निर्माण भईरहेको उक्त पुलको संरचना भत्किएको हो । गत २०७६ फागुनमा शिलान्यास गरिएको उक्त पुलको डिजाइन अवधि ८० वर्ष र भूकम्प प्रतिरोधी रहने भएपनि पुल निर्माणको क्रममा ढलेको छ ।
पिलर खण्ड र आइरन ट्रस्ट गरी फरकफरक टेण्डरमा निर्माणाधिन उक्त पुलको निर्माण कार्यमा केहि कमी आएका कारण भत्किएको हुनसक्ने पूर्वाधार विकास कार्यालय भोजपुरका प्राविधिक रुपेश देवले बताए । मापदण्ड अनुरुप नै विभिन्न चरणमा थालिएको निर्माण कार्यमा गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग भईरहेको उनले बताए ।
भोजपुर उत्तर दक्षिण जोड्ने लक्ष्यले उक्त कावाखोलामा पुल निर्माण सुरु भएपछि स्थानीयबासिन्दा उत्साहित थिए । तर निर्माण कम्पनीकै लापारबाहीकै कारण निर्माणकै क्रममा पुल ढलेको स्थानीय सञ्जल राई बताउँछन् । पुल निर्माणले सदरमुकामबाट दक्षिण हुँदै तराईसंग सिधा जोड्नाले सहज पहुँच पुग्ने भएपनि पुलको दुर्दशाले निराशा थपिदिएको उनले बताए । भने, ‘नाफामुखी योजना बन्नाले हामी जस्ता नागरिकको सपना पुरा हुँदैन, चरम लापारबाहीले पुल भत्कियो’
कोभिड र अन्य प्राविधिक कारणले काम रोकिएपनि पुनः सञ्चालित उक्त आयोजनाको काममा चरम लापारबाही भएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए । ‘हाम्रो विकास निर्माण प्रणाली र प्रक्रियामा समस्या छ, ’ उनले भने, ‘हामी हतुवागढीबासी र हाम्रो गाउँपालिका यो विषयमा गम्भीर भएका छौं, आवश्यक अध्ययन अनुसन्धान गर्ने गरि उभिने छौं’
भोजपुरमा प्रदेश १ सरकारको पूर्ण लागतमा आठ र प्रदेश सरकारको पहल तथा स्विस सरकारको अनुदान सहयोगमा दुई गरी १० ओटा पुल निर्माणाधिन अवस्थामा छन् । पुल भत्किएको विषयमा छानबिन गर्न काठमाडौँबाट विज्ञ टोली आउने तयारी रहेको पूर्वाधार विकास कार्यालय भोजपुुरले बताएको छ ।

 

भोजपुरको हतुवागढी गाउँपालिका २, रानीबास र रामप्रसादराई गाउँपालिका ५, मानेभञ्याङ जोड्ने कावाखोलास्थित भत्किएको निर्माणाधिन पुल । तश्विर, सिलिचुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार