लण्डन । बेलायतले कोभिड खोप प्रयोगका लागि एक कम्पनीलाई स्वीकृति दिएको छ । जर्मन बायोनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले तयार पारेको कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिएको हो ।
परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी पाइएपछि खोप प्रयोग गर्न सुरक्षित भएको निष्कर्ष निकाल्दै बेलायतले स्वीकृत गरेको छ ।
बेलायत सरकारले बायोनटेक र फाइजरले निर्माण गरेको यो खोप लगभग ४० मिलियन ( ४ करोड) डोज अर्डर गरिसकेको बताएको छ । एक जनालाई २ खोपका दरले कुल २० मिलियन (२ करोड) मानिसका लागि पर्याप्त हुनेछ ।
बेलायतले अर्डर गरेको मध्ये १ करोड डोज पहिलो चरणमा आइपुग्नेछ । जसमध्ये ८० हजार केही दिनभित्रै बेलायत आउनेछ ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले आउंदो साताको शुरुदेखि नै खोप वितरण गर्न तयार रहेको जनाएको छ ।
गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए ।
सामान्यतः दशौं वर्ष लाग्ने खोप निर्माणको सबै चरण पूरा गर्दै १० महिनामै तयार भएको यो अहिलेसम्मकै पहिलो खोप रहेको बताइएको छ ।