लण्डन । बेलायतमा आजदेखि सर्वसाधारणहरुमा कोरोना भाइरस विरुद्धको खोप दिने अभियान शुरु भएको छ । अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप दिन थालिएको हो ।
कोरोनाभाइरस विरुद्धको खोप पहिलो चरणमा बेलायतभरका ५० अस्पतालबाट शुरु गरिएको छ । स्कटल्याण्ड, वेल्स र नर्दर्न आयरल्याण्डले पनि मंगलबारदेखि खोप वितरण गरेका छन् । बेलायतमा पहिलो चरणमा ८ लाख डोज भ्याक्सिन दिइने भएको छ । खोप लगाएका प्रत्येक मानिसलाई खोप कार्ड उपलब्ध गराएर दिइने भएको छ ।
कोरानोभाइरसको खोप ९० बर्षकी मार्गरेट किनेनलाई दिइएको छ । युनिभर्सिटी हस्पिटल कोभेन्ट्रीमा उनलाई खोप दिएको हो ।
खोप अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदारलाई दिइदैछ ।
स्वास्थमन्त्री म्याट हेनककले ट्वीट गर्दै सबै क्षेत्रमा खोप पुगिसकेको जनाएका छन् । राष्ट्रिय स्वास्थ्य सेवा, इङ्ल्यान्डका मेडिकल डाइरेक्टर प्रोफेसर स्टेफेन पोवीसले खोपले खुसीयाली दिने विश्वास व्यक्त गरे ।
एनएचएस इंग्ल्याण्डका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले खोप अभियान कोरोना भाइरसविरुद्धको लडाईंमा निर्णायक मोड भएको बताउदै वसन्त ऋतुसम्म खोप कार्यक्रम राखिने अझै सर्वसाधारणहरुलाई सुरक्षित हुन सुझाव दिएको छ ।
परीक्षणका क्रममा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको यो खोप बेलायतले २ करोड मानिसलाई पुग्ने गरी ४ करोड डोज अर्डर गरेको छ । २१ दिनको अन्तरमा दुई डोज दिइनेछ ।
बेलायतले विश्वमै पहिलोपटक खोपलाई अनुमति दिएको थियो जुन कोभिडबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ । तर माइनस ७० डिग्री चिसोमा राख्नुपर्ने भएकाले ओसारपसार र व्यवस्थापनमा यो अलिक चुनौतीपूर्ण रहेको स्वास्थविदहरुको राय छ ।
बेलायतले फाइजर र बायोएनटेकको ४ करोड बाहेक अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड, नोभाभ्याक्सको ६ करोड, भल्नेभाको ६ करोड, जिएसके र सानोफी पाश्चरको ६ करोड, जानसेनको ३ करोड र मोडेर्नाको ७० लाख डोज अर्डर गरिसकेको छ ।