गोर्खा अभियन्ता डा चन्द्र लक्सम्बाको निधन

लण्डन । कोविड संक्रमणपछि अस्पतालमा उपचारत गोर्खा अभियन्ता बुद्धिजीवि डा चन्द्र लक्सम्बाको दुखद निधन भएको छ ।

 

बेलायतको फार्नबरोस्थित फ्रिम्ली पार्क अस्पतालमा उपचारकै क्रममा लक्सम्बाको दुखद निधन भएको हो ।

कोभिड संक्रमणपछि ९ दिनदेखि अस्पतालमा उपचार भइरहेको ५९ वर्षीय डा लक्सम्बाको सोमबार अचानक ‘स्ट्रोक’ (मस्तिष्कघात) भएपछि निधन भएको थियो ।

ताप्लेजुङको सिकौचा घर भएका लक्सम्बा केही समय धरानको बसाईपछि बेलायत अल्डरसटनजिक फ्रिम्लीमा बस्दै आएका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

 

लक्सम्बाको निधनप्रति राजनीतिक व्यक्तित्व, गोर्खा अभियन्ता र सामाजिक अभियन्ताहरुले गहिरो दुख व्यक्त गरेको छ । नेकपाका नेता तथा पुर्व सस्कृति नागरिक तथा उड्यन मन्त्री योगेश भट्टराईले डा लक्सम्बाको निधनप्रति गहिरो समावेदना प्रकट गरेको छ । भट्टराईले सामाजिक, बौद्धिक र मिलनसार व्यक्तित्व गुमाउनुपरेको बताएको छ ।

डा लक्सम्बाको निधनप्रति ब्रिटिस गोर्खा भुतपुर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भुतपुर्व सैनिक संघ (गेसो) का उपसभापति धर्म तामाङले पनि दुख व्यक्त गरेको छ । तामाङले डा लक्सम्बाको निधनले गोर्खा अभियानमा क्षति पुगेको बताएको छ ।

विद्यार्थी हुदाँ अनेरास्ववियूमा रहरे विद्यार्थी राजनीति गरेका लक्सम्बा अस्कल क्याम्पसका स्ववियु सभापति समेत भएका थिए । पछिल्लो समय डा लक्सम्बा नेपालस्थित ओपन युनिभर्सिटीमा प्राध्यापकका रुपमा कार्यरत थिए ।

 

बेलायती सेनामा १९ वर्ष सेवा गरेका लक्सम्बाले बेलालयतको सरे युनिभर्सिटीबाट विद्यावारिधी गरेका थिए । गैरआवसीय नेपाली संघ बेलायतको उपाध्यक्ष समेत भएका लक्सम्बा गोर्खा आन्दोलनको अभियानमा निरन्तर लागेका थिए । गोर्खा भुतपुर्व सैनिक संघ गेसोका सल्लाहकार समेत रहेका लक्सम्बा बेलायत तथा नेपालमा बौद्धिक व्यक्तित्वको छवि बनाएका थिए ।

 

बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा रिसर्च फेलोका रुपमा समेत काम गरेका उनी ‘सेन्टर फर नेपाल स्टडिज’ (सिएनएस बेलायत) का पूर्व अध्यक्ष थिए । बेलायतमा नेपालीको जनगणना गर्न उनको उल्लेख्य योगदान थियो । केही समयअघि मात्रै उनलाई नेपाल सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयमा सिनेट सभा सदस्यमा मनोनित गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार