
केपी शर्मा ओली सरकारको पालामा राजनीतिक नियुक्ति पाएकाहरुलाई हटाउने तयारीमा सरकार छ । ओली सरकारले नियुक्त गरेका राजदूतहरु पनि फिर्ता गर्ने आन्तरिक गृहकार्य सरकारले गरिरहेको छ । परराष्ट्र मन्त्री नियुक्त भएपछि राजदूत फिर्ताको प्रक्रिया अगाडि बढाइने भएको छ ।
परराष्ट्रका कर्मचारीबाहेक राजनीतिक नेता कार्यकर्ताहरुलाई भने फिर्ता बोलाउने योजनामा सरकार छ । फिर्ता गर्ने सूचीमा अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा, भारतका निलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डेदेखि बेलायतका लोकदर्शन रेग्मी पनि छन् ।
फिर्ता हुने राजदूतहरुमा इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य, कतारका नारद भारद्वाज वाग्ले, मलेसियाका उदयराज पाण्डे, ओमानकी शर्मिला ढकाल समेत छन् ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी भने थमौतीका लागि रामचन्द्र भट्ट ‘चन्दने’मार्फत् प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणासँग कनेक्सन मिलाइरहेका छन् । रेग्मीलाई आरजु राणाकै जोडमा अर्थमन्त्रालयको सचिव, गृहसचिव हुँदै मुख्यसचिव बनाइएको थियो । तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीलाई एशियाली विकास बैंकको निर्देशकमा पठाई रेग्मीलाई मुख्यसचिव बनाइएको थियो । आरजु राणामार्फत् अर्थ, गृह र मुख्यसचिवसम्म हुन सफल भएका रेग्मी ओली सरकारका पनि उत्तिकै विश्वासिला भए । र, बेलायतकै राजदूत भए । रेग्मीका पिता लक्ष्मीप्रसाद रेग्मी स्याङ्जा कांग्रेसका महासमिति सदस्य भएकाले उनी स्याङ्जाका पार्टी नेताहरुबाट पनि राजदूत पदबाट फिर्ता नबोलाउन लबिईङ गरिरहेका छन् ।
रेग्मीले सबै शक्ति प्रयोग गर्दा पनि प्रधानमन्त्री देउवा भने उनीसँग सकारात्मक नभएकाले उनी थमौती हुने संभावना कम छ । माओवादी केन्द्र यो सरकारको महत्वपूर्ण शक्ति हो । माओवादी ओलीले गरेका नियुक्ति सबै खारेज गर्न खोजिरहेको सन्दर्भमा रेग्मीको थमौती असंभव देखिएको छ ।
म्यानपावरवाली राजदूत शर्मिला ढकाल भने कांग्रेस उपसभापति बिजय गच्छदारको शरणमा पुगेकी छन् । विगतमा शेरबहादुर देउवाकै सरकारको पालामा गच्छदारकै कोटामा उनी नियुक्त भएकी थिइन् ।
ओली सरकारले संसदीय सुनुवाइ छलेर सिफारिस गरेका ९ देशका राजदूतको नियुक्ति देउवा सरकार गठन हुनासाथ साउन ३ को मन्त्रिपरिषदले फिर्ता लिइसकेको छ ।
ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मालाई राजदूत नियुक्त गरेको थियो ।
त्यस्तै रसियाका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको थियो । सुवेदी ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईकी सासु हुन् ।







