
लण्डन । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले बेलायतको लण्डनस्थित संसद भवन अगाडी प्रर्दशन गरेको छ । समानताको माग राख्दै आएका भूतपुर्व गोर्खा सैनिकहरुले बुधवार बेलायतको संसदहरुको ध्यानकर्षण र दवाव दिने उद्देश्यले संसद भवन अगाडी प्रर्दशन गरेको हो ।
संसद सुचारु हुने समयमा सबै सांसदहरुको जानकारी र ध्यानाकर्षण गराउन प्रर्दशन गरिएको थियो । गोर्खा सत्याग्रह संघर्ष संयुक्त समितिको आयोजनामा गोर्खाहरुले दुई सय ७ बर्षअघि देखि गोर्खाहरुमाथि भएको विभेदको अन्त्यको माग राख्दै विरोधको कार्यक्रम गर्दै आएको छ । समानताको माग राख्दै विगत केही दिनदेखि गोर्खा अभियान्ता ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राना घले आमरण अनशनमा छन ।
प्रदर्शनमा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले गोर्खाली सैनिक २ सय ७ वर्षदेखि ब्रिटिशको विभेदको शिकार भएको बताए ।
संयोजक राईले यो अपमान र पीडा सबै नेपालीहरुको भएकोले सरकार, सदन र सडकमा यी विषयहरु उठाइदिन माग गरे । राईले आफ्ना मागहरुमा चासो दिएर सम्बोधन नगरे सामुहिक आमरण अनसन बस्ने समेत चेतावनी दिए ।
‘बेलायती सरकारले नेपाली ब्रिटिश सैनिकहरुलाई दासको जस्तो व्यवहार र अमानवीय व्यवहार गरेको छ’, संयोजक राईले भने, ‘यदि दुवै सरकारले यी विषयमा चाँडो छलफल गरेर ब्रिटिश सरहकै व्यवहार गर्नुपर्छ ।’
बेलायत सरकारले बार्ता कमिटि गठन गरेर नेपाल सरकारसंग वार्ताको प्रक्रिया बढाए आमरण अनशन तोडने संयोजक राईले बताए । तर विश्वस्त हुने खालेको हुनुपर्छ, टार्ने खालको हुनुहुदैन, संयोजक राईले भने ।
ब्रिटिश आर्मी सरह नै गोर्खा ब्रिटिश आर्मीले पनि तलब, पेन्सन र सेवासुविधा पाउनुपर्ने माग छ ।















