प्रधानमन्त्री शेरवहादुर देउवा बेलायत आइपुगे

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा आज साँझ लन्डन आइपुग्नुभएको छ । प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार कतार एयरको उडानबाट लन्डन आइपुग्नु भएका हुन् । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा आफ्नो भ्रमण टोली सहित बेलायतको समय ८ बजेतिर बेलायत आइपुग्नुभएको हो ।

 

भ्रमण टोली सहित बेलायत आइपुग्नुभएका प्रधानमन्त्री देउवालाई लण्डनको हिथ्रो विमानस्थलस्थित विशिष्ट कक्षमा बेलायतका लागि नेपाली कार्यबहाक रोशन खनालले स्वागत गरेकी थिइन ।

 

प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्रीको भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी सहभागी छन् ।

 

 

 

यस्तै वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकासहित प्रधानमन्त्री बेलायत आइपुगेका छन ।

 

अन्य सदस्य बेलायतस्थित नेपाली दूतावासबाट सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुनेछ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडेनका जलवायुसम्बन्धी विशेष दूत जोन केरीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् । उनले स्कटल्यान्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा केरीसँग ‘साइडलाइन’ वार्ता गर्ने कार्यक्रम छ ।

 

देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । देउवाले भ्रमणको साइडलाइनमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र बंगलादेशलगायत अन्य मुलुकका सरकार प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

प्रधानमन्त्री देउवाले लन्डनमा ‘अल–पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपाल’ तथा ‘यूके–नेपाल ट्रेड र इन्भेस्टमेन्ट फोरम’ को आयोजनामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवाले बेलायत–नेपाल सोसाइटी, गैरआवासीय नेपाली संघ र त्यहाँ रहेका नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उक्त अवसरमा प्रधानमन्त्री देउवाले गोर्खाका भेट्रानका संस्था, ब्रिटिस संसद्का सांसद र त्यहाँ बस्दै आएका नेपालीसँग भेटवार्ता गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार