
नेपाली मन र भावना बोकेर भारतको सिक्कीम गान्तोकमा बस्दै आएकी छुकिला शेर्पा अब नेपाललाई आप्mनो कार्यथलो बनाउने सोचले हिजोआज काठमाडौंमा छिन् । सिक्कीममा कुशल मोडलका रुपमा चिनिने छुकिला अब भने नेपाली रजतपटमा छाउने तयारीमा छिन् ।
यसकै लागि उनी काठमाडौं पसेकी हुन् । कविरा, आइज उफ्रि उफ्रिजस्ता विभिन्न गायक गायिकाका केही गीतको म्युजिक भिडियोमा अभिनय र मोडलिङ गरेर वाहवाही पाएपछि र साथीभाई तथा परिवारले नेपालमा गएर नेपाली मोडलिङ अनि फिल्म क्षेत्रमा करियर बनाउ भनेर सल्लाह दिएपछि उनी काठमाडौं आएकी हुन् । नेपाली कला फिल्म क्षेत्र भनेपछि सानैबाट हुरुक्कै हुँदै आएकी छुकिला अहिले यो क्षेत्रमा करियर बनाउने सही समय हो भन्ने लागेपछि त्यसका लागि काठमडौंं आएको बताउँछिन् । ‘खासमा म पहिले नै कलाक्षेत्रमा केही गर्न चाहन्थे । साथीभाई र आफन्तले पनि तिमी गर्न सक्छौ भनेर प्रेरित गरिरहनु हुन्थ्यो ।
तर काठमाडौं आएर कला र फिल्म क्षेत्रमा काम गर्ने वातावरण बनिरहेको थिएन । सायद समय भएको थिएन । अबचाहिँ त्यो समय आएजस्तो लाग्छ’ छुकिला भन्छिन् ‘अहिले केही म्युजिक भिडियो र एक दुईवटा फिल्मको कुरा भईरहेकाले यो नै सही समय हुन सक्छ करियरका लागि भनेर काठमाडौं आएकी छु । तर बिडम्बना कोभिडको जोखिमका कारण भनेजस्तो सबै कुरा हुन सकिरहेको छैन । कोभिड बाधा बनेर नउभिदिएको भए अहिले म केही फिल्ममा काम गरिरहेको हुन्थें । फिल्मको काम हुन नसके पनि म्युजिक भिडियोको काम भने भईरहेको छ । सपना सत्यमा परिणत हुँदैछ ।’









