त्रिपक्षीय बार्ताका लागि राजदुत र गोर्खाहरुवीच छलफल

लन्डन । लामो समयदेखि गोर्खाहरुमाथि भईरहेको विभेद अन्त्यका लागि हुने भनिएको त्रिपक्षीय बार्तालाई फलदायी बनाउन बेलायतका लागि नेपाली राजदुत र गोर्खाहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का प्रतिनिधिहरुवीच छलफल भएको छ ।

 

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का टोली र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यवीच लन्डनस्थित राजदुतावासमा त्रिपक्षीय वार्ता सम्बन्धमा छलफल भएको हो । त्रिपक्षीय बार्तालाई सफल बनाउनका लागि आन्तरिक गृहकार्यहरुको बिषयमा राजदुत र गेसोका प्रतिनिधिहरुवीच छलफल भएको थियो ।

 

छलफलमा बार्ताका लागि राजदूत आचार्यले गोर्खाहरुका तर्फबाट बाँकी दुई जना प्रतिनिधिलाई चांडै पूर्णता दिदैं, बार्तालाई सफल र सहज बनाउनका लागि गठन गरिएको निर्देशक कमिटीलाई भूमिकासहित क्रियाशिल बनाई वार्तालाई अधिकतम रुपमा गोर्खा र नेपालको पक्षमा बनाउने बिषयमा धारणा व्यक्त गरेका थिए । छलफलमा निर्देशक कमिटी एवं वार्ता कमिटीबीच विभिन्न विषयमा गम्भीर र सघन छलफल गरेरमात्र विषयहरु वार्तामा प्रस्तुत गरिने राजदुत आचार्यको भनाई उदृत गर्दै गोर्खा भूतपूर्व गोर्खा सैनिक संघ (गेसो)का कार्यवहाक सभापति धर्म तामाङले बताए । बार्ताको बिषयमा केही अन्यौल र अस्पष्ट भएको बिषयमा पनि गहन छलफल भएको कार्यवहाक सभापति तामाङले बताए ।

 

राजदुत आचार्य र गोर्खा भूतपूर्व सैनिक संघ गेसोको छलफलपछि बार्ताका लागि गोर्खाहरुको तर्फबाट तीन जना प्रतिनिधिमध्ये २ जना प्रतिनिधिसमेत चाडैं टुंगाउने छलफल पछि आइतवार गेसो सचिव बुद्धिराज राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । छलफलमा नेपाली राजुतावासको तर्फबाट राजदुत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का कार्यवहाक सभापति धर्म तामाङ, कोषाध्यक्ष देवीमाया पुन, सचिवालय सदस्य नरहाङ राई र मान गुरुङको उपस्थिती रहेको थियो ।

 

गोर्खा भूतपूर्व सैनिक संघले विगत तीन दशकदेखि गोर्खा भूतपूर्व सैनिकहरुमाथि भएको भेदभाव अन्त्यका लागि न्यायिक आन्दोलन गर्दै आएको जनाउंदै बार्तालाई सफल बनाउनका लागि गृहकार्यलाई समेत जोड दिएका छन । आन्दोलनकै कारण गोर्खाहरु आंशिक सफलता पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार