केही समयको विश्रामपछि अभिनेत्री करिश्मा मानन्धर पुनः राजनीतिमा सक्रिय हुँदै छिन्। उनी आज नेकपा एमालेमा प्रवेश गर्ने भएकी हुन्। चलचित्र क्षेत्रमा लोकप्रिय अभिनेत्री मानन्धर राजनीतिमा होमिएको लामो समय भएको छैन। उनले २०७३ सालमा डा. बाबुराम भट्टराईले तत्कालीन एकीकृत माओवादी छोडेर ‘नयाँ शक्ति’खोलेपछि राजनीतिक यात्रा थालेकी हुन्।
हुन त बाबुरामको नयाँ शक्तिमा नयाँ सपनाका साथ करिश्मासँगै अभिनेता सरोज खनाल, निर्माता तथा निर्देशक अशोक शर्मा पनि आबद्ध भएका थिए। थिए। तर करिश्माजस्तो उनीहरू खासै सक्रिय देखिएनन्। करिश्मा भने नयाँ शक्तिको एजेन्डा बोकेर गाउँगाउँ पुगिन्। पर्टीको विकास र विस्तारमा जोडतोडका साथ लागिन्।
तर डा. भट्टराईसँग उनको राजनीतिक सहयात्रा लामो समय कायम रहन सकेन। दुई वर्षअघि करिश्माले भट्टराईको साथ छाडिन्। यसपछि भट्टराईको ‘नयाँ शक्ति’ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीमा विलय भएको थियो।
अहिले भने भट्टराई यादवकै नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष छन्। करिश्माले भने नयाँ शक्ति छाडेपछि औपचारिक अध्ययनलाई निरन्तरता दिइन्। हालै उनले कक्षा १२ उत्तीर्ण गरिन्। कक्षा १२ कै परीक्षाताका करिश्माले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फोन गरेको भन्दै फेसबुकमा लेखेर तहल्का मच्चाएकी थिइन्। तर उनले राखेको फोन कलको स्क्रिनसटमा करिश्माले चाहिँ फोन गरेको देखिएपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो।
त्यसपछि उनले अन्य केही कलाकारका साथमा केपी शर्मा ओलीलाई उनकै निवास पुगेर भेट पनि गरेकी थिइन्। त्यस बेलादेखि नै उनी एमालेसँग नजिक हुन खोजेको अनुमान गरिएको थियो। तर उनीसँगै गएका जितु नेपाल ‘मुन्द्रे’ले आफूहरू ‘विशुद्ध’ भेटघाटका लागि गएको कुनै राजनीतिक उद्देश्य नभएको भनेर सामाजिक सञ्जालमा लेखेका थिए।
अन्ततः ओलीसँग निकटता बढाएकी अभिनेत्री करिश्मा आज उनकै पार्टी एमालेमा प्रवेश गर्ने भएकी हुन्। निकै तामझामका साथ पार्टी प्रवेश गर्न लागेकी उनलाई आज दिउँसो १ बजे एमालेको केन्द्रीय कार्यालय थापाथलीमा कार्यक्रम आयोजना गरी अध्यक्ष ओलीले पार्टीमा भित्र्याउँदै छन्।
त्यसअघि नेपालखबरले अभिनेत्री करिश्मासँग संक्षिप्त कुरा गरेको छ। यस क्रममा अभिनेत्री मानन्धरले समाजका हरेक कुरा राजनीतिले सच्याउने रहेछ भन्ने बुझेर आफू राजनीतिमा लागेको बताइन्।
‘१४ वर्षको कलिलो उमेरमा कलाकारितामा होमिएँ। यो क्षेत्रमा लागेपछि मात्रै यहाँको गहिराइ थाहा पाएकी हुँ। गर्दै, सिक्दै सिनेमाको लामो यात्रा तय गरेँ’, अभिनेत्री मानन्धरले भनिन्, ‘यो बीचमा धेरै कुरा छुटे। छुटेका कुरा पूरा गर्दै जाने क्रममा यो उमेरमा आएर पढ्न मन लाग्यो, पढेँ।’
पढाइलाई अझै निरन्तरता दिने उनले बताइन्। यसपछि उनले आफ्नो राजनीतिक यात्राको प्रसंग झिकिन्। ‘राजनीतिमा जानी नजानी नयाँ शक्तिमा आबद्ध भएँ, जब बुझ्दै गएँ हरेक कुरा सच्याउने त राजनीतिले नै रहेछ, यसले झनै प्रेरणा मिल्यो’, अभिनेत्री मानन्धरले भनिन्, ‘केही समय राजनीतिबाट टाढाजस्तो देखिए पनि मनमा थियो। त्यसैले म पुनः राजनीतिमा सक्रिय हुन खोज्दै छु।’
पार्टीमा प्रवेश गर्नुअघि भने करिश्मा बिहानैदेखि सुटिङमा व्यस्त छिन्। सिनामंगलमा रहेको म्युजियममा उनी एउटा गीतको भिडिओका लागि अभिनयमा व्यस्त भएकी हुन्। थापाथली गएर एमाले अध्यक्ष ओलीबाट पार्टीमा स्वागत पाउनुअघिसम्म अर्थात् दिउँसो १ बजेसम्मै सुटिङमा व्यस्त हुनेछिन्।