लन्डन । जनता समाजवादी पार्टीको प्रवास कमिटि नेपाली समाज बेलायतले जिम्मेवारीहरू बाँडफाँड गरेको छ । आइतवार सम्पन्न समाजको पहिलो विस्तारित बैठकले संगठनलाई थप गतिशिल बनाउन जिम्मेवारी बाँडफाँड गरेको हो ।
लन्डनको रिडिङस्थित एभरेष्ट तन्दुरी हलमा सम्पन्न बैठकले समाजको विभिन्न विभागका लागि जिम्मेवारीहरु तोकेको छ । जसअनुसार विधान तथा अनुशासन समिति प्रमुखमा वल्लभ गुरुङ, सँस्कृति तथा मनोरञ्जन प्रमुखमा हुमकुमारी गुरुङ, जनसम्पर्क समिति प्रमुखमा सुमित्रा राई, युवा तथा स्वयंसेवक प्रमुखमा युमा लिम्बु, प्रशिक्षण विभाग प्रमुखमा विजय लिम्बु, संगठन विभाग प्रमुखमा मिलनचन्द्र राई, सचिवालय सचिव तथा प्रवक्तामा तेज माबो लिम्बु, प्रचार–प्रसार र प्रकाशन प्रमुखमा विनोद पुमा राई र शुभचन्द्र राईलाई तोकेको छ ।
बैठकले ११ सदस्यीय राजनीतिक समिति, १९ सदस्यीय सल्लाहकार समिति र ७ सदस्यीय विज्ञ परिषद समेत गठन गरेको छ । विधानत समाजको ३५ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था भएअनुसार १३ फेब्रुअरीमा सम्पन्न महाधिवेशनले २२ सदस्यीय कार्यसमिति मात्रै चयन गरेको थियो । बाँकी ९ सदस्यहरु बैठकले मनोनित गरेको सहसचिव एवम् प्रवक्ता तेज माबो लिम्बुले बताए । बाँकी सदस्य लगायत अन्य विभागहरुमा जिम्मेवारी बाँडफाँड गर्न बाँकी रहेकाले क्रमश गरिने पनि प्रवक्ता माबोले बताए ।
बैठकमा निवर्तमान अध्यक्ष चन्द्रबहादुर गुरुङले समाजको सम्पुर्ण कागजातहरु नवनिर्वाचित अध्यक्ष कमलप्रसाद राईलाई हस्तान्तरण गरेका थिए । निर्वतमान अध्यक्ष गुरुङले पार्टी र जनतका हितका लागि बाँकी दिनहरुमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । नेपालको राजनीतिक परिस्थिति जटिल अवस्थामा रहेको बताउँदै दबावमूलक आन्दोलनको आवश्यकता रहेको उनले औल्याए । साथै उनले वर्तमान कार्यसमितिको आगामी कार्य सफलताको शुभकामना समेत व्यक्त गरे । बैठकमा निवर्तमान कोषाध्यक्ष राजेन्द्र नाल्वो लिम्बुले कोषाध्यक्ष बिनोदकुमार राईलाई समाजको आर्थिक सम्बन्धी सम्पुर्ण कागजातहरु हस्तान्तरण गरेका थिए ।
बैठकमा निवर्तमान कार्यसमितिका सम्पुर्णहरुलाई सम्मान तथा बिदाई गरिएको थियोे । निवर्तमान अध्यक्ष चन्द्रबहादुर गुरुङलाई नवनियुक्त अध्यक्ष कमलप्रसाद राईले दोसल्ला ओढाई सम्मान पनि गरेका थिए । प्रमुख अतिथि संघीय परिषद सदस्य तथा पूर्व उपाध्यक्ष जङ्गबहादुर सुनुवारद्धारा कदर पत्र र सल्लाहकार धर्मराज गुरुङद्धारा मायाको चिनो साथै रिडिङ समिति अध्यक्षद्धारा फूल र खादा लगाई सम्मान व्यक्त गरेका थिए ।
अध्यक्ष राईले बाँकी रहेका कामहरु पूरा गर्ने सङ्कल्पका साथै आफ्नो कार्य योजनाहरु लागू गर्दै जाने र संगठनको हितका लागि काम गर्न उपस्थित सबैलाई अनुरोध गरेका थिए । उनले समाजले नेपालमा हुन लागिरहेको स्थानीय निर्वाचनका लागि प्रवासबाट सक्दो सहयोग समेत गर्ने बताए ।
पार्टी एकता पछि सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमिति दोश्रो विस्तारित बैठक अध्यक्ष कमल प्रसाद राईको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठक सञ्चालन सचिव मिलन राईले गरेका थिए ।