बेलायतका किरात राईहरुले मे २८ मा साकेला उभौली मनाउने

लन्डन । बेलायतमा बस्ने किरात राईहरुले यसपटक साकेला उभौली धुमधामका साथ मनाउने भएका छन । आउँदो मे २८ मा बेलायतका किरात राईहरुले संयुक्त रुपमा एकैथलोमा साकेला उभौली मनाउने भएका हुन ।

बेलायतको वकिङस्थित ग्याम्वल्सलेन किरात हाउसमा बेलायतभरीका किरात राईहरु भेला भएर एकसाथ साकेला मनाउने भएका छन । किरात राईहरुले हरेक वर्ष बैशाख पूर्णिमामा उभौली र अन्न भित्राउने समयमा मंसिर पूर्णिमामा मनाउने प्रचलन अनुरुप यसपटक उभौली मनाउने तयारी भएको किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले बताए । बर्षको दुईपटक साकेला उभौली र उद्यौली मनाउने किरात राईहरुले बेलायतमा यसपटक धुमधामका साथ मनाइने तयारी भएको अध्यक्ष राईले बताए ।

 

साकेला उभौली मनाउनका लागि किरात राई यायोक्खा बेलायतले तीव्र गतिमा तयारी गरिरहेको साकेला व्यवस्थापन समितिका संयोजक तथा उपाध्यक्ष मेजर भुपजीत राईले बताए । साकेला सम्पन्न गर्नका आवश्यक पूर्वाधार लगायत अन्य तयारी भईरहेको पनि संयोजक तथा उपाध्यक्ष राईले बताए ।

करिव १५ हजार बढि किरात राईहरुको सहभागी हुने साकेलामा साकेला नृत्य गर्ने स्थान लगायत आवश्यक पूर्वाधारहरु निमार्ण भइरहेको र त्यसका लागि आवश्यक जनशक्तिहरु परिचालन भइरहेको संयोजक मेजर भुपजीत राईले बताए । साकेलालाई व्यवस्थित बनाउन मञ्च व्यवस्थापन, साकेला थान व्यवस्थापन, सवारीसाधन पार्किङ,असाह् र असक्तहरुलाई बस्ने स्थान निमार्ण लगायत आवश्यक कुराहरु भइरहेको छ, संयोजक राईले भने ।

 

साकेलामा किरात राईहरुको संस्कार झल्कने संस्कृति प्रदर्शनीहरु समेत राखिने भएको छ । संस्कार संस्कारलाई थप जिवन्त दिनका लागि साकेला प्रतियोगिता समेत हुने भएका छ । बेलायत भरी रहेका १३ वटा प्राकसहरुबाट प्रतियोगितामा सहभागिता रहने छ । कार्यक्रममा विभिन्न स्टलहरु समेत राखिने भएको छ । सहभागीहरुको सहजताका लागि त्यस्तो यस्तो स्टलहरु राखिने बताइएको छ ।

 

बेलायतमा किरात राईहरुको जनघनत्वपछि नेपाल र भारतपछि सबैभन्दा धेरै रहेको छ । प्रत्येक बर्ष किरात राईहरुले साकेला धुमधामका साथ मनाउदै आएको छ । बेलायतमा किरात राईहरु २० हजार माथि संख्यामा रहेको छ ।

 

मानिस, जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्राउने समय मंसिर पूणिमामा उद्यौली र बाली नाली फलो फुलोस रोगव्याधी नलागोस भनी भगवनासंग प्रार्थना गर्न बैशाख पूणिमामा उभौली मनाउने गरेका छन

 

साकेला चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । उभौली पर्वमा विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ । उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरूले चासुवा र सुनुवारहरूले फोलस्याँदर भन्दछन् ।

 

साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नाच्ने चलन छ । विशेष किरातीहरुले आफ्नो घरको मुल चुलामा पुजा गरी साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ । हुर्रे हा हा , ‘सोई ढोले सोई ‘अर्को ढोले खै’ भन्दै यस दिन पारस्पारिक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषत: किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ ।

 

बेलायतका किरात राईहरुले पनि एकैस्थानमा भेला भएर सामुहिक भुमि पुजा गर्ने गरेका छन । विशेष गरी सम्पुर्ण किरात गैर किरातहरुको बाक्लो उस्थितीमा साकेला नाचेर मनाइन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार