
लन्डन । भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधानका लागि हुने भनिएको बार्ता चाडै हुने भएको छ । फ्रेवअरीमा बार्ता टुंगिसक्नुपर्ने भएपनि राजदुत परिवर्तन लगायत कारणले हुन नसकेको बार्ता लामो समयको प्रतिक्षापछि हुने भएको हो ।
बार्तालाई औपचारिक दिन बेलायत सरकारका तर्फबाट वार्ता कमिटी गठन भएको छ । ३१ मे मा बेलायतको तर्फबाट भेट्रान मन्त्री लियो डोकर्टीको संयोजकत्वमा कमिटी गठन गरेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले सिलिचुङ अनलाईनसंगको कुराकानीमा बताएका छन ।
नेपाल सरकारको प्रतिनिधिको रुपमा रहेका राजदुत ज्ञानचन्द्र आचार्यको भनाई उदृत गर्दै प्रमुख संयोजक राईले यसै महिनामा नेपाल र बेलायत सरकारका प्रतिनिधिहरुवीच छलफल हुने समेत बताएका छन ।
केही दिनमा नेपाल र बेलायत सरकारका प्रतिनिधिबीच बैठक बसेर वार्ता सम्बन्धी कुराहरु टुंगिने पनि प्रमुख संयोजक राईले बताए । संयोजक राईले अहिले पनि कतिपय व्यक्ति र संस्थाले ‘आइपीसी ७’ का कुरा निकालेर वार्ता बिथोल्न खोजेको समेत बताए । बार्ता ढिला हुनुमा नेपाल सरकारको तर्फबाट मात्र नभई स्वमं गोर्खाहरुका कारण पनि ढिलाई भएको बताए । व्यक्ति र संस्थाहरुले हामी पनि बार्तामा बस्नु पाउनुपर्छ भनेर दावी र चलखेल गरेकै कारण ढिलाई भएको पनि उनले बताए ।
गत वर्षको अगष्टमा आमरण अनसन बसिरहेका गोर्खाहरुलाई बेलायत सरकारले पत्र पठाएर वार्ता छिट्टै शुरु हुने प्रतिवद्धता व्यक्त गरेपछि भूतपूर्व गोर्खाहरुले आमरण अनसन तोडेका थिए । तर रुस युक्रेन युद्ध एवं अन्य कारणले वार्ता ढिलाई भएपछि गोर्खाहरुले पुन: आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
कुराकानीको भिडियो हेर्नुहोस







