आइसीसी अध्यक्ष कुल आचार्यलाई छानवीन समितिले बोलायो

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको बार्षिक साधारणसभाद्धारा गठित छानवीन समितिले संस्था हित विपरित क्रियाकलाप गरेको आरोपमा गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यलाई छलफलका लागि बोलाएको छ ।

 

गैर–आवासीय नेपाली संघ बेलायतका पुर्व अध्यक्ष समेत रहेका आचार्यलाई पञ्जिकृत सदस्यको रुपमा संस्था हित विपरित क्रियाकलाप गरेको आरोपमा छानवीन समितिले छलफलका लागि बोलाएको हो । छानवीन समितिले आँउदो २६ सेप्टेम्बरमा एनआरएनएको कार्यालयमा आवश्यक छलफलका लागि बोलाएका छन ।

 

अन्तराष्ट्रिय समन्वय परिषदमा दायित्व बुझाउने सन्दर्भमा समितिमा मतभेद भइरहेको बेला आचार्यले गैर–कानुनी रुपमा रकम पठाउन लगाएको र अध्यक्षको मान हानी हुने गरी पदमुक्त गरिएको भन्ने जस्ता पत्र पठाई संस्था हित विपरित क्रियाकलाप गरेको आरोपमा उजुरी परेपछि छानवीनका लागि आचार्यलाई बोलाइएको छानवीन समितिका संयोजक डा. भीम पुनले बताए । आरोपहरुमाथि प्रष्ट पार्न र जवाफका लागि मौका दिने उद्देश्यसहित आचार्यलाई बोलाइएको पनि डा. पुनले बताए ।

 

आचार्यलाई समितिले विहानको १० बजे भित्र छलफलका लागि बोलाएको छ । छलफलमा उपस्थित हुने या नुहने बारे २४ सेप्टेम्बरसम्म जानकारी दिन पनि छानवीन समितिले भनेको छ । छलफलमा परिवार वा साथीमध्ये एकजना ल्याउन सक्ने पनि छानवीन समितिद्धारा भनिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार