एनआरएनए बेलायतमा जातिय ध्रुवीकरण, नेपाली समुदाय विभाजित हुदै

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतमा श्रृंखला रुपमा बढदै गएको विवाद जातिय रुपमा ध्रुवीकरण हुदै गएको छ । ११ औं अन्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशनपछि केन्द्रमा दायित्व बुझाउने या नबुझाउने भनेर दुई धारमा प्रकट भएको विवाद आरोप प्रत्यारोपसंगै जातिय रुपमा ध्रुवीकरण भएको हो । जातिय रुपमा ध्रुवीकृत भएपछि बेलायतको नेपाली समुदाय नै विभाजित हुने अवस्थामा पुगेको छ ।

 

११ महाधिवेशनपछि केन्द्रमा दुई धार भएपछि जसको असर प्रत्यक्ष रुपमा राष्ट्रिय समन्वय समिति बेलायतमा यत्तिबेला प्रत्यक्ष देखिएको छ । ११ औं केन्द्रीय महाधिवेशन अघिसम्म विवाद नदेखिएको गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतमा त्यसपछि विवादको श्रृंखला छताछुल्ल भएर उत्कर्षमा पुगेको छ । तत्कालीन आइसीसी अध्यक्ष कुमार पन्तले महाधिवेशन गराउन नसकेपछि पुर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेलाई ८१ औं बैठकले निर्वाचन गराउने म्याण्डेट दिएको थियो । शेष घलेले २२ देखि २५ मार्च २०२२ मा महाधिवेशन तोकेपछि गैर–आवासीय नेपाली संघभित्र रातारात समीकरण फेरवदल भएको थियोे । केन्द्रको देखिएको विवाद अझै साम्य हुन सकेको छैन भने बेलायतमा त्यसको असर नराम्रो रुपमा परेको छ ।

 

शेष घलेले महाधिवेशन सम्पन्न गरेपछि तत्कालीन अध्यक्ष कुमार पन्त समुहले पनि २६ र २७ मार्च २०२२ मा होटल हिमालयमा छुट्टै महाधिवेशन गरेका थिए । कुमार पन्तले छुट्टै महाधिवेशन तोकेपछि शेष घलेको पक्षमा उभिएका बेलायतका पुर्व अध्यक्ष तथा आइसीसीका तीन अध्यक्षमध्येका एक अध्यक्ष कुल आचार्य अध्यक्ष हुन कुमार पन्त पक्षसंग सम्झौता गरेर एकैथलोमा उभिए । जसबाट कुल आचार्य, रविना थापा र बद्री केसी तीन जना आलोपालो गर्ने गरी अध्यक्ष भए ।

 

११ औं महाधिवेशनपछि गैर–आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) भित्र देखा परेको पक्ष विपक्षको वछिटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) बेलायतमा नराम्ररी देखा पर्‍यो । केन्द्रको विवाद साम्य नभएसम्म दायित्व बुझाउने बिषयमा समितिभित्र दुई समुह देखापरेपछि विवादको श्रृंखला शुरुवात भएको थियो । कोषाध्यक्ष विष्णु खरेलले ३९ हजार २ सय ८५ पाउण्ड ७३ पेन्स अध्यक्ष र समितिको परामर्श विना नै आइसीसीलाई पठाएपछि विवादले थप उग्र रुप लिएको थियो । रकम पठाइएको बिषयमा ६ अगष्टमा सम्पन्न साधारणसभाले डा. भिम पुनको संयोजकत्वमा छानवीन समिति नै गठन गरेर समितिले छानवीन गरिरहेको छ । विवाद बढदै गएपछि एनआरएनभित्र जनजाति र गैर–जनजाति (क्षेत्री ब्राहमण) समुदायहरु जातिय रुपमा ध्रुवीकरण बढेको छ । आदिवासी जनजाति समुहको अध्यक्ष प्रेम गाहा मगरले र गैर–जनजाति (क्षेत्री ब्राहमण) समुदायमा आइसीसी अध्यक्ष कुल आचार्यको निर्देशनमा नारायणदत्त कँडेलले नेतृत्व गरिरहेको छ । कार्यसमितिमा गैर–जनजाति (क्षेत्री/ब्राहमण) समुदाय अध्यक्ष प्रेम गाहामगरको विरुद्ध एउटै मोर्चामा उभिएपछि जनजाति समुदायहरु एकत्रित भएको छ । यसरी बेलायतमा रहेको नेपाली समुदाय दुई ध्रुर्वमा बाँडिएपछि धेरैले दु:ख व्यक्त गरेका छन ।

 

विवादको श्रृंखला बढदै जाँदा ११ सेप्टेम्बर २०२२ मा अन्तराष्ट्रिय समन्वय समितिले अध्यक्ष प्रेम गाहा मगरलाई पदमुक्त गरेको पत्र पठाएपछि विवाद झन पेचिलो बनेको छ । आइसीसीले अध्यक्ष मगर माथि कारवाहीको डन्डा चलाएपछि एनसीसी बेलायतका संस्थापन पक्ष थप आक्रोशित बन्दै गएको छ । जसको फलस्वरुप १५ सेप्टेम्बरमा बसेको आकस्मिक बैठकले कोषाध्यक्ष विष्णु खरेल र सचिव विष्णु चालिसेलाई वर्खास्त गरेको छ । विधानत अध्यक्षलाई पदमुक्त तथा कारवाही गर्ने कुनै व्यवस्था नभएको संस्थापनको तर्क छ ।

 

अध्यक्ष प्रेम गाहा मगर विरुद्ध गैर–जनजाति समुदायहरुले मोर्चाबन्दी गरेपछि जनजाति समुदायहरु थप आक्रोशित बन्दै मोर्चावन्दीमा उभिएका छन । अध्यक्ष प्रेम गाहा मगरको पक्षमा भूतपूर्व गोर्खा सैनिकहरु समेत उभिएका छन । गोर्खा समुदायहरु गैर–आवासीय नेपाली संघ (एनआरएनए) बिचारसंग सहमत नभएपनि अस्वभाविक जातिय मोर्चाबन्दी र गोर्खा समुदायहरुमाथि नजरअन्दाज गर्दै जातिय प्रहार गरिएको भन्दै अध्यक्ष गाहा मगरको पक्षमा उभिएको हो । जातिय रुपमा ध्रुवीकृत बढदै जाँदा बेलायतका जातिय संघसंस्थाहरुले भेला नै आयोजना गरेको छ । उनीहरुले विगतदेखि नै जनजति समुदायलाई ‘फुटाउ र शासन गर’ भन्ने नीति अख्तियार गर्दै फाइदा उठाइएको र त्यसबाट सजग हुनुपर्ने बताएका छन । एक जातिय संस्थालाई उचालेर अर्को जातिय संस्थाविरुद्ध प्रयोग गर्न सक्ने भन्दै चनाखो रहनका लागि बेलायतका जनजाति आवद्ध जातिय संघसंस्थाहरुले छलफल चलाएको छ ।

 

जनजातिको अस्तित्व स्वीकार नगर्ने र हामी विरुद्ध जातिय रुपमा मोर्चाबन्दी गरेका कारणले जनजातिहरु एक ठाउँमा उभिन्नुपरेको सामाजिक अभियान्ता राष्ट्र राईले बताए । विगतदेखि हामीविरुद्ध भित्र भित्रै अभियानहरु चलाएर अन्तरविरोध सिर्जना गरेको थियो, राईले भने ‘झन अहिले त खुलेआम रुपमा नाङगो रुपमा सबै प्रस्तुत भए ।’

 

अन्य जातीहरुको तुलनामा संख्यात्मक रुपमा बढि रहेको गुरुङ समुदायलाई प्रयोग गरेर क्षेत्री बाहुन समुदायले फाइदा लिने गरेको सामाजिक अभियान्ता डेविट गुरुङले बताए । गुरुङको काँध चढेर बन्दुक पडाउनेहरुले उनैको काँधबाट टाउकोमा आगो लगाउने सक्ने भएकाले सजग हुनुपर्ने दिन आएको उनले बताए । विगतदेखि नै गुरुङ समुदायलाई उचालेर फाइदा लिने गरेकाले पनि गुरुङ समुदायले सोच्ने दिन आएको बताए ।

 

यता असन्तुष्ट समुहहरुले जातीय रुपमा मोर्चाबन्दी गरेको कुरा स्वीकार गरेका छैन । त्यसलाई गलत प्रचारको रुपमा भनेको छन ।

 

अध्यक्ष विरुद्ध मोर्चाबन्दी र पदमुक्त गर्ने तहमा पुगेपछि आइसीसी र असन्तुष्ट समुह विरुद्ध बेलायतका संघसंस्थाहरु आक्रोशित बनेको छ । निर्वाचित संस्थाको गरिमामाथि प्रहार भएको ब्रिटिस बुद्धिष्ट कम्युनिटी युकेका अध्यक्ष धर्म तामाङले बताए । अहिलेका कार्यसमिति भनेको बेलायतको मतदाताहरुले मतदानबाट चुनिएकोले कसैले हटाए भन्दैमा हटाउन नसक्ने बताए । कसैलाई आफ्नो इच्चा, आकांक्षा, चाहाना अनुसार भताभुंगो बनाउने अधिकार छैन तामाङले भने “अध्यक्षलाई हटाए भनेर संस्थालाई छिन्नभिन्न बनाउने अधिकार छैन । कार्यसमितिका कसैले त्यसो गर्दैछ भने उनीहरुलाई समितिमा बस्ने अधिकार समेत हुन्न ।”

 

 

आइसीसी होस या बेलायतका सदस्य वा मुख्य पदाधिकारीहरु मतदाताहरुको मतलाई बेवास्ता गर्ने मतदाताको मतलाई नजरअन्दाज गर्दै आफु मनलाग्दी संस्थामा जे पनि गर्ने, कोषको दुरुपायोग गर्ने अधिकार कसैलाई नभएको तामाङले बताए । एनआरएनएन सबैको छाता संगठन भएको मतदानबाट हामीले चुनेको समितिलाई भंग गर्ने नेपाल सरकारको पनि अधिकार छैन तामाङले भने ।

 

जनजातिविरुद्ध मोर्चाबन्दी यसपटक मात्रै होइन यसभन्दा अगाडी देखि गैर‐जनजाति (क्षेत्री ब्राह्मण) समुदायले मोर्चाबन्दी गर्दै आएको जानकारहरु बताउँछन । बेलायतमा जनजाति समुदायको बाहुल्यता रहेपनि गैर‐जनजाति समुदायहरुले जनजाति समुदाय मध्येको कुनै एक जाति बिशेषलाई उछालेर फाइदा लिदै आएको जानकारहरुको दावी छ । दुई धारमा विभाजित भएपछि दुवै समुहले आधिकारिता दावी गर्दै आएको छ । एनआरएनए बेलायतमा देखिएको विवाद कानुनी लडाई सम्म जाने अवस्थामा पुगेको छ ।

 

बेलायतको एनआरएनए च्यारिटी कमिशनमा दर्ता भईसकेकाले युकेको कानुनसंग सम्बन्धित रहने र आइसीसीको प्रभाव कुनै रुपले नपर्ने सामाजिक अभियान्ता भिम तामाङले बताए । त्यसैले अध्यक्ष प्रेम गाहा मगर अध्यक्ष भएको एनआरएनएलाई चिन्ने तर आइसीसी नचिन्ने तामाङले बताए ।

 

एनआरएन युके च्यारिटी कमिशनमा दर्ता भएकाले पनि कानुनी रुपमा आइसीसीसंग सम्बन्ध नरहेको गैर‐आवासीय नेपाली संघ बेलायतका पुर्व अध्यक्ष योगेन क्षेत्रीले बताए । कानुनत आइसीसीलाई रकम पठाउने कार्य कानुन सम्मत छैन । पैसा पठाउनका लागि च्यारिटी प्रयोजनबारे स्पष्ट हुनुपर्छ पुर्व अध्यक्ष क्षेत्रीले भने –“पैसा के का लागि पठाइएको हो, पैसा पठाउनु अघि बृहत छलफल भएको छ कि, च्यारिटीमा नै गएको छ की छैन ।”

 

एनआरएनएमा विगतदेखि आर्थिक घोटला हुदै आएको पनि पुर्व अध्यक्ष क्षेत्रीले बताए । आइसीसी होस या एनसीसी दुवैमा भएको घोटला छानवीन गर्नुपर्छ भन्ने व्यक्ति मै नै हुँ क्षेत्रीले भने –“मेरै कार्यकालमा आर्थिक घोटलाको बिषयमा छानवीन गरिएको थियो, त्यस्ता घोटलालाई ढाकछोप गर्न विवाद सिर्जना गर्ने विगतदेखि भएकाले अहिलेको विवाद पनि आर्थिक घोटलालाई ढाकछोप गर्नकै लागि हो ।”

 

एनआरएनए युकेमा धेरै पहिलादेखि विवाद हुदै आएको त्यसमा पनि मुख्य राजनीतिक प्रभावले भएको समाजसेवी भरत क्षेत्रीले बताए । आइसीसीमा उधारोमा नियुक्ती भएकाहरुले युकेमा पनि विवाद ल्याएको क्षेत्रीको भनाई छ । हरेक रुपमा तिकडम गरेपनि डराउनु नहुने क्षेत्रीले बताए । पैसा पठाउने जो कोहीलाई बर्खास्त गरेर फाल्नुपर्ने पनि क्षेत्रीले बताए । अवैधानिक आइसीसीले अध्यक्षलाई कारवाही गरेको मान्य नहुने र विदेशमा आएर पार्टीको झोला बोक्नेहरुले समाजिक संस्था विगारेको क्षेत्रीले आरोप लगाए । संस्था हितविपरित क्रियाकलाप गर्नेलाई कारवाही गर्नुपर्ने र फुटेर जानेहरु गए पनि बाँकी सबैलाई एकीतृत गर्नुपर्ने धारणा व्यक्त गरे ।

 

प्रेम गाहा मगर एनआरएनए युकेको निर्वाचनबाट चुनिएको त्यसमध्ये पनि ५० प्रतिशत मतले अध्यक्षमा निर्वाचित भएको कानुन व्यवसायी राजु थापाले बताए । अध्यक्षलाई पदमुक्त गर्ने आइसीसीको निर्णय त्रुटिपूर्ण र अवैधानिक छ, त्यसैले कहाँबाट कसरी कोबाट त्रुटि भएको त्यसलाई छानवीन गर्नुपर्ने पनि कानुन व्यवसायी थापाले जोड दिए । निर्वाचित अध्यक्षलाई हटाउन साधारणसभा या विशेष महाधिवेशनले मात्र सक्ने थापाको तर्क छ ।

 

एनआरएनएमा देखिएको विवाद राजनीतिक प्रभावले भएको र त्यसलाई बन्द गर्नुपर्ने र यस्तो परिस्थितीबाट विचलित नहुनका लागि पनि थापाले आग्रह गरे ।

 

एनआरएनए युकेमा देखिएको श्रृंखला रुपमा बढदै विवाद कानुनी लडाईमा समेत जाने देखिन्छ । तत्कालका लागि दुई समुहमा विभाजित एनआरएनएलाई मिलाउन सक्ने सहजकर्ताको अभाव खडकिएको छ । बेलायतको नेपाली समुदायमा विशिष्ट व्यक्तित्व मानिएकाहरु नै पक्ष विपक्षमा उभिएपछि सहजकर्ताको अभाव खड्किएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार