
लन्डन । उपाध्यक्ष सुनिल बाबु खड्काको एक समुहले गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायत फुटाएको छ । छुट्टै गतिविधि गरिरहेको खड्का समुहले लन्डनस्थित हेरामा एक भेला आयोजना गरेर एनआरएनए फुटाएको हो ।
बिगत ५ महिनादेखि छुट्टै गतिविधि गरिरहेका समुहले मंगलबार भेला आयोजना गरी औपचारिक रूपमा गैर–आावासीय नेपाली संघ (एनआरएन) बेलायत फुटाएको छ ।
अध्यक्ष प्रेम गाहामगरको अनुमति बिना उपाध्यक्षद्वय सुनिलबाबु खड्का, नारायण कँडेल र कोषाध्यक्ष बिष्णु खरेलले २७ जुलाईमा ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स संस्थाको रकम नेपाल पठाएपछि बिवाद शुरू भएको थियो ।
घोटला रकमलाई ढाकछोप गर्नका लागि संस्था फुटाएको संस्थापन पक्षको भनाई छ । संस्था हित विपरित क्रियाकलाप गरेपछि २१ जनालाई एनआरएनए युकेले बर्खास्त गरिसकेका छन ।
पञ्जिकृत सदस्यहरूको उपस्थित बिना नै सानो समुहको उपस्थितीमा उनीहरुले संघ फुटाएको छ । भेलाबाट समानन्तर एनआरएन युकेको अध्यक्ष सुनिलबाबु खड्का र उपाध्यक्ष दीपक श्रेष्ठ भएका छन । उपाध्यक्ष रहेका खड्कालाई एनआरएनए युकेले बर्खास्त गरिसकेका छन भने श्रेष्ठ प्रेम गाहामगरबाट अध्यक्षमा पराजित व्यक्ति हुन ।








