
लन्डन : गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले स्वास्थ्य शिविर संचालन गरेको छ । आइतवार अन्डरसर्टस्थित गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको कार्यालय परिसरमा स्वास्थ्य शिविर संचालन गरेको हो ।
प्रत्येक महिनाको अन्तिम साताको आइतवार संचालन गर्दै आएको स्वास्थ्य शिविरमा दिउसो २ बजेदेखि ४ बजेसम्म शिविर संचालन गरिएको थियो । शिविरबाट १ सय ३० जना नेपाली बृद्धबद्धाहरु स्वास्थ्य सेवा लिएका थिए । विभिन्न कारणले स्वास्थ्य जाँच गर्न समस्या भएकाहरुलाई स्वास्थ्य जाँचमा सहजता होस भन्ने उद्देश्यका साथ स्वास्थ्य शिविर संचालन गरिएको गैर–आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले बताए ।
शिविरमा विशेषज्ञ चिकित्सक र स्वाथ्यकर्मीहरुद्धारा सुगर (मधुमेह), ब्लड प्रेसर (रक्तचाप) तथा सामान्य स्वास्थ्य जाँच गरिने उनले बताए । विशेषत बृद्धबृद्धाहरुलाई भाषाका कारण स्वास्थ्य जाँचमा समस्या हुने भएकाले नेपाली भाषामा आवश्यक परामर्श साथै स्वास्थ्य सेवा लिन सहजता भइरहेको अध्यक्ष गाहामगरले बताए ।
शिविरमा बेलायतभरी रहेका सम्पुर्णले सेवा लिइरहेको र नेपालदेखि भिजिट भिषामा आएकाहरुलाई पनि स्वास्थ्य सेवा दिइने एनआरएनए युकेले लक्ष्य राखेको छ । भिजिट भिषामा आउनेहरुले स्वास्थ्य जाँच गर्न पैसा लाग्ने लगायत विविध समस्या हुने भएकोले त्यस्तो परिस्थितीमा सहजै निशुल्क स्वास्थ्य सेवा दिइने पनि अध्यक्ष गाहामगरले बताए ।
शिविर एनआरएनए युेकका हेल्थ डिर्पाटमेन्टका संयोजक डाक्टर विशाल गुरुङको संयोजनमा बेलायतको स्वास्थ्य सेवा सर्भिस (एनएचएस) मा रजिष्टार भएका डाक्टर र नर्सहरुले स्वाथ्य परिक्षण गरिरहेका छन ।












