गोर्खा बार्ता सकारात्मक तर्फ उन्मुख (भिडियो सहित )

लन्डन । भूतपुर्व गोर्खा सैनिकहरुको समस्या समाधानका लागि आज सम्पन्न भएको सरकार स्तरीय बार्ता सकरात्मकतर्फ उन्मुख भएको छ । लन्डनस्थित बेलायतको रक्षा मन्त्रालयमा आज विहिवार सम्पन्न भएको पहिलो चरणको बार्ता सकरात्मकतर्फ उन्मुख भएको हो । करिव १ घण्टा सम्पन्न बार्ताले ठोस निर्णय नगरेतापनि बार्ता सकरात्मकतर्फ अगाडी बढेको छ ।

 

बार्ताको शुरुवातमा बेलायती पक्ष गम्भिर नदेखिएपनि नेपाल सरकार र गोर्खाहरुको अडानले गोर्खाहरुको मुख्य एजेन्डाले प्रवेश पाएको छ । बेलायत पक्षले वेल्फेयरलाई दिदै आएको सहयतालाई बढाउने बाहेक अन्य बिषयमा प्रवेश गर्न चाहेको थिएन । नेपाल सरकार र गोर्खाहरुको प्रतिनिधिको अडानले समान पेन्सन, क्षतिपूर्ति र अन्य सेवा सुविधा जस्ता मुख्य एजेन्डाहरुले प्रवेश पाएको छ ।

 

बार्तामा बेलायतको तर्फबाट रक्षा तथा तथा भेट्रान राज्यमन्त्री डा. एन्ड्रू मरिसनले नेतृत्व गरेका थिए भने नेपाल सरकारको तर्फबाट बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र गोर्खाहरुको तर्फबाट मेजर जुद्धबहादुर गुरुङले नेतृत्व गरेका थिए । नेपाल सरकारको तर्फबाट राजदुत आचार्यले गोर्खाहरुको समस्याहरुको बारेमा गम्भिर भएर राखेको पनि गोर्खाहरुले जनाएको छ । बार्ताको शुरुमा वेल्फेयर सम्बन्धी मात्र केन्द्रीत भएका बेलायती पक्षलाई नेपाल सरकारले मुख्य बिषय छलफल गर्न अडान लिएका थिए । नेपाल सरकारको अडानका कारण बेलायती रक्षा मन्त्री मरिसनले बिषय जटिल रहेकोले थप बुझेर अर्को बार्तामा छलफल गर्ने आश्वासन दिएको भूतपूर्व गोर्खाहरुको तर्फका बार्ताकार मेजर जुद्धबहादुर गुरुङले बताए ।

 

अर्को बार्ता कहिले हुने भन्ने बिषयमा भने टुंगो लागेको छैन । अर्को बार्ताले निर्णायक मोड लिने गोर्खाहरुको बताएका छन ।

 

बार्ता सकरात्मक भएपनि केही शंका गर्नुपर्ने ठाउँ भएकोले अर्को बार्ता तत्काल हुनुपर्ने गोर्खाहरुको मान्यता रहेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए । बिगतमा जस्तो बार्ताको समय लम्बाइए निर्णायक मोडमा उभिनुपर्ने पनि प्रमुख संयोजक राईले बताए । “हामीलाई विगतमा बार्ता भनेर अलमल्याइएको अनुभव रहेकोले बार्ता ढिलाई नहोस भन्ने हाम्रो भनाई छ ।” प्रमुख संयोजक राईले भने । हामी पुनः आन्दोलनमा जानुपरे प्राविधिक समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन नगरेसम्म आन्दोलनबाट नर्फकने पनि राईले चेतावनी दिए ।

 

रिले अनसन हुदै १३ दिनको आमरण अनसनपछि गत १९ अगष्ट २०२१ मा बेलायतपक्षले त्रिपक्षीय बार्ताबाट समस्या समाधान गर्ने लिखित आश्वासन दिएका थिए । बेलायती पक्षको आश्वासनपछि आमरण अनसन तोडेका गोर्खाहरुले बार्ताबाट समस्या समाधान हुने आशा गरेका थिए ।

 

राजदुत परिवर्तन, युक्रेन युद्ध लगायत कारण देखाउदै बार्ता विलम्ब भइरहेका थिए । बार्ता बिलम्ब भएपछि गोर्खाहरुले असन्तुष्टि जनाउदै आएका थिए ।

भिडियो हेर्नुहोला के के भयो भनेर

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार