लन्डन । सुनिलबाबु खड्काले नेतृत्व गरेको गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी)ले कुनै मान्यता नदिएको आइसीसीका बर्तमान कार्यकारी अध्यक्ष रविना थापाले बताएकी छिन । बुधबार बसेको आइसीसी बैठकले खड्काको समितिलाई अनुमोदन गरेको भन्ने समाचार सार्वजानिक भएपछि कार्यकारी अध्यक्ष रविना थापाले त्यसबारे कुनै निर्णय नभएको प्रष्ट पारेकी छन् ।
थापाले सुनिलबाबु खड्काले गठन गरेको अर्को एनआरएनलाई अनुमोदन गरेको भन्ने कुरा भ्रम फैलाउने कुरा मात्रै भएको बताएकी छिन । कार्यकारी अध्यक्ष रविना थापाको अध्यक्षतामा बुधबार बसेको आइसीसी बैठकले खड्काको समितिलाई अनुमोदन गर्ने निर्णय गरेको भनेर केही सञ्चारमाध्यममा एकपक्षीय रुपमा समाचार आएपनि त्यसबारे कुनै निर्णय नभएको थापाले प्रष्ट पारेकी छन् ।
बैठकमा कुल आचार्यले छानवीन समितिको प्रतिवेदन भनेर मात्रै ल्याएको हो तर त्यसबारे कुनै निर्णय नभएको थापाले प्रष्ट पारिन ‘कुलजीले छानविन समितिको प्रतिवेदन भनेर ल्याउनु भएको थियो । तर यसमा कसैले केही भनेन । कुनै निर्णय भएको छैन’ कार्यकारी अध्यक्ष रविनाले भनेकी छिन । एनसीसीहरु स्वयत्त हुने भएकाले आइसीसीले कुनै कारवाही गर्न नसक्ने पनि अध्यक्ष थापाले बताएकी छिन ।
दशौं महाधिवेशनपछि अन्तराष्ट्रिय समन्वय परिषदमा विवाद भएपछि एनआरएन युकेमा पनि विवाद भएको थियो । आइसीसीमा देखिएको विवादका कारण एनआरएनए युकेमा दायित्व बुझाउने या नवुझाउने सन्दर्भमा विवाद बढेको थियो । विवाद बढेपछि निर्वाचित अध्यक्ष प्रेम गाहामगर विरुद्ध मोर्चाबन्दी गरेका एक समुहले उपाध्यक्ष सुनिलबाबु खड्काको नेतृत्वमा १८ अक्टोवरमा छुट्टै भेला गरेर एनआरएनए युके फुटाएका थिए ।
एनआरएनए युके फुटाएर बनाएको समितिलाई आइसीसीले अनुमोदन गरेको भन्ने भ्रम फैलाउन म्याद सकिएका आइसीसी अध्यक्ष कुल आचार्य सक्रिय रहेको गैर–आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरले आरोप लगाएका छन । अध्यक्ष गाहामगरले म्याद सकिएका अध्यक्ष आचार्यले आफ्ना सहयोगी मार्फत विभिन्न भ्रम फैलाउने काम गरिरहेको पनि अध्यक्ष मगरले आरोप लगाएका हुन ।
केही दिन अघिमात्र अध्यक्ष प्रेम गाहामगरले आफ्नो सम्बन्धमा छानविन गर्न भनि गठित अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रतिवेदन पूर्णतः पूर्वाग्रही र एकतर्फी रहेको आइसीसी अध्यक्ष थापालाई सूचित गराएका थिए । केही झुण्डले हठात मनस्थितीले कारवाहीको सिफारिस गर्नु हास्यास्पद, मानहानी र इज्जत प्रतिष्ठामाथि दाग लगाउने मनसायमा रहेको अध्यक्ष मगरले प्रष्ट पारेका छन ।
छानविन समितिको प्रतिवेदनबारे कार्यकारी अध्यक्ष नै अनभिज्ञ रहेको र प्रतिवेदन अपूर्ण, समाज विभाजन गर्ने खालको भएको पनि अध्यक्ष मगरले बताएका छन । गैर–आवासीय नेपाली संघ राष्ट्रिय समितिहरु स्वायत्त हुने उल्लेख गर्दै मगरले एनआरएनए यूके कसरी सञ्चालन गर्ने निर्वाचित अध्यक्षको अधिकारभित्र निहित हुने पनि प्रष्ट पारेका छन् ।
‘विधि विधान विपरित भनेर के आधारमा मलाई वर्खास्त गरियो ? कुन दफा र विधानले एउटा निर्वाचित अध्यक्षलाई वर्खास्त गर्न मिल्छ ? पञ्जीकृत सदस्यहरुको साधारणसभाले मात्र अध्यक्षमाथि काम कारवाहीको प्रक्रिया अगाडि बढाउन सक्ने अध्यक्ष मगरले बताएका छन ।
एनआरएनए यूकेको झण्डै ४० हजार पाउण्ड आफ्नो र वहुमत सदस्यहरुको अनुमति बिना केन्द्रमा पठाइएको सम्बन्धमा पटक पटक पत्र पठाउंदा पनि कुनै जवाफ प्राप्त नभएको स्मरण गराउंदै गाहामगरले च्यारिटीमा दर्ता भएको एनआरएनए यूकेको उक्त पैसा तत्काल फिर्ता नगरिए कानूनी कारवाहीका लागि अगाडि बढ्ने चेतावनी दिएका छन् ।