एनआरएनए युकेद्धारा विमान दुर्घटनामा मृत्यू भएकाहरुप्रति श्रद्धाञ्ली अर्पण गर्न शोकसभा

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले पोखरामा विमान दुर्घटनाबाट मृत्यू भएकाहरुलाई श्रद्धाञ्जली अर्पण गर्न शोकसभा कार्यक्रम गरेको छ । संघले मंगलबार बिहान बेलायतको अल्डरसर्टस्थित आफ्नै कार्यालय परिसरमा शोकसभा कार्यक्रम गरेको हो ।

 

विमान दुर्घटनाले सिंगो देशलाई शोकमा पारेकाले दिवंगतहरुको चीरशान्तिका लागि कार्यक्रम गरिएको गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहामगरले बताए । ‘छोटो समयमा हामीले बेलायतका समस्त नेपाली संघसंस्थाको प्रतिनिधित्व गर्दै शोक सभा गरेका हौं’, गाहामगरले भने, ’मातृभूमि वियोगमा रोइरहंदा बेलायतवासी नेपाली पनि साथमा छौं भन्ने जनाउन हाम्रो कार्यक्रम भएको हो ।’

 

अध्यक्ष गाहामगरले बिशेष रुपमा शोक बक्तब्य समेत जारी गरेर शोकाकुल परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरेका छन् । शोक सभामा मृत्यू हुनेहरुको नाममा ७२ वटा मैनबत्ति बालेर श्रद्धाञ्जली अपर्ण गरिएको थियो । अध्यक्ष गाहामगरसहित सबै सहभागीले फूल अर्पण गरेर श्रद्धान्जली व्यक्त गरेका थिए ।

 

एनआरएनए यूके महिला संयोजक अमृता गिरी गजुरेलद्धारा सञ्चालित कार्यक्रममा प्रमुख सल्लाहकार रिटायर्ड क्याप्टेन वीर थापा, गोर्खा आमा समूहकी अध्यक्ष सेतीमाया गुरुङ, तमु समाज यूकेका सल्लाहकार हितमान गुरुङ, गोर्खा मद्दत समूहका क्या. (रि) विष्णु श्रेष्ठ, युवा संयोजक अनिल मल्ल, सल्लाहकार अन्तिम गुरुङ लगायत उपस्थित रहेका थिए ।

 

आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटना भएको थियो । चालकदलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एक व्यक्तिको खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार