काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ टावरको नक्सापास प्रक्रियामा गम्भीर त्रुटिहरू भेटिएको बताएका छन्।
नक्सापासका क्रममा महानगरलाई आर्थिक क्षति पुर्याई केही सीमित व्यक्तिहरूको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको बताएका हुन्। नीतिगत भ्रष्टाचारका विभिन्न प्रमाणहरू महानगरमा सुरक्षित रहेको उनको भनाइ छ।
मेयर साहले बिहीबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगरको आधिकारिक प्रणाली प्रयोग नगरी १२ तलाको भवनलाई १९ तलाको बनाउन नक्सापास गरेको बताएका छन्।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया पुगेन, नक्सापास गर्न सकिँदैन भनेर दुई पटक फर्ता पठाएको फाइल गुरागाईं महानगरमा हाजिर भएको दोस्रो दिन नै सम्बन्धित विभागीय प्रमुखलाई थाहै नदिई नक्सापास गरिएको उनी बताउँछन्।